एलपीएलः सत्यवती अत्तरिया र लिटल फ्लावर विजयी
धनगढी : धनगढीमा मंगलवार भएको क्रिकेट प्रतियोगितामा सत्यवती एकेडेमी अत्तरिया र लिटिल फ्लावर विजयी भएका छन्।
१९ वर्ष मुनीको विद्यालय स्तरीय राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा मंगलजार दुई खेल भएका थिए। लिटिल फ्लावर प्रिमियर लिग (एलपीएल) अन्तर्गत चौथो दिनको खेलमा सत्यवतीले सैनिक आवासीय महाविद्यालय र लिटल फ्लावरले गुराँस एकेडेमीलाई हराएका हुन।
मंगलवारको पहिलो खेलमा सत्यवती एकेडेमी अत्तरियाले सैनिक आवासीय महाविद्यालय अत्तरियालाई २ विकेटले पराजित ग¥यो। सैनिक आवासीयले दिएको १४१ रनको लक्ष्य सत्यवतीले १९ दशमलव ३ ओभरमा ८ विकेट गुमाएर भेटायो।
सत्यवतीको जितमा ओपनर खगेन्द्र जोशीले अविजित ५७ रनको योगदान दिए। प्लेयर अफ द म्याच घोषित भएका जोशीले ४७ बलमा ५ चौका र एक छक्का प्रहार गरेका थिए। इमरान शेखले २८, प्रतिक श्रेष्ठले २० रन बनाए। सैनिकका बलर रवीन्द्र कार्की र सागर चन्दले २/२ विकेट लिए।
यस अघि टस जितेर ब्याटिङ गरेको सैनिक आवासीयले निर्धारित २० ओभरमा ५ विकेटको क्षतीमा १४० रन बनाएको थियो। उसको लागि विशाल ऐरले सर्वाधिक ६४ रन बनाए। उनले ४१ बलमा ९ चौका प्रहार गरे। सन्दीप विस्टले २९ तथा कप्तान अनुराग सिंहले २१ रन बनाए। सत्यवतीका बलर प्रतिक श्रेष्ठले २ तथा अभिषेक कोइराला र सोनु अन्सारीले १/१ विकेट लिए।
मंगलवारको दोस्रो खेलमा लिटिल फ्लावर प्रिमियर लिगले गुराँस एकेडेमीलाई ८३ रनले पराजित ग¥यो। लिटिल फ्लावरले दिएको १५३ रनको लक्ष्य पछ्याउने क्रममा गुराँस एकेडेमीले ११ दशमलव ४ ओभरमा ६९ रन मात्र बनाउ सक्यो।
लिटिल फ्लावरका बलर अनुराग सिंह एक्लैले ५ विकेट लिए। उनले २ दशमलव ४ ओभरमा ११ रन खर्चिए। उनी प्लेयर अफ द म्याच घोषित भए। सुबोध तिवारीले २ तथा रोशन रावल र सार्थक बमले एक÷एक विकेट लिए। गुराँस एकेडेमीका सचिन साउँदले २६ तथा विशाल विस्टले २२ रन बनाए। टस जितेर ब्याटिङ गरेको लिटिल फ्लावरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतीमा १५२ रन बनायो।
लिटिल फ्लावरको लागि नरेन भट्टले सर्वाधिक ६४ रन योगदान दिए। उनले ५१ बलमा ८ चौका प्रहार गरे। वसन्त सिंह कार्कीले ३१ तथा कप्तान विपिन रावलले २७ रनको योगदान दिए। तेस्रो विकेटको लागि नरेन र वसन्तले ८३ रनको साझेदारी गरे। गुराँस एकेडेमीका बलर रभी विस्टले २ विकेट लिए।
प्रतियोगिता अन्तर्गत पाँचौँ दिन बुधवार दुई खेल हुनेछन्। पहिलो खेलमा बिहान ९ बजे लोटस आई र शारदा विद्या निकेतन तथा दोस्रो खेलमा दिउँसो १ बजे नव बाल बाटिका र होली फेमिली स्कुल प्रतिस्पर्धा गर्नेछन्।
फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ। प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन्।
विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाई छ।