मुख्यमन्त्री रावल बुधवार विश्वासको मत पाउनेमा ढुक्क
धनगढीः सुदूरपश्चिम सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावल बुधवार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री रावलले बुधवार बस्ने प्रदेश सभाबाट विश्वासको मत लिने कार्यक्रम तय भएको नेकपा एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले बताए।
गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त नेकपा एमाले संसदीय दलका नेता रावलले माघ २६ गतेभित्र विश्वासको मत लिइ सक्नुपर्ने कानूनी बाध्यता छ। नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा नेकपा एमालेका सांसद रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
अन्य प्रदेशमा त्यहीँ समय नियुक्त भएका मुख्यमन्त्रीहरूले विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गरे पनि सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने विषयको ग्यारेन्टी नहुँदा मुख्यमन्त्री रावलले विश्वासको मत माग्न प्रदेश सभामा प्रस्ताव राख्न सकेका थिएनन्।
प्रदेश सभा सदस्यले मुख्यमन्त्री रावलले प्रदेश सभाबाट सहजै विश्वासको मत पाउने दाबी गरेका छन्। नागरिक उन्मुक्ति पार्टीले बुधवार विश्वासको मत दिने कुरामा नेकपा एमाले शतप्रतिशत विश्वस्त रहेको प्रदेश सभा सदस्य पाठकले बताए। मुख्यमन्त्रीले बुधवार बस्ने प्रदेश सभाबाट विश्वासको मत लिनु हुन्छ,’ उनले भने, ‘नागरिक उन्मुक्ति पार्टीका माग र मुद्दा सम्वोधन गर्न सबै दल सकारात्मक छन् भने सर्वोच्च अदालतले पनि मुद्दा पुनरावलोकन गर्ने भएको छ, यो कुराले पनि वातावरण सकारात्मक बनाएको हो।’
पाठकले नागरिक उन्मुक्तिले सभामुख र उपसभामुखको चुनावमा पनि मत दिएकाले र मुख्यमन्त्री हुँदा समर्थनमा हस्ताक्षर गरेका भएकाले पनि राजनीतिक रूपमा पनि विश्वासको मत दिने बताएका छन्।
‘नागरिक उन्मुक्तिका माग पूरा गर्न संघीय सरकार पनि सकारात्मक भएकाले उहाँहरूले विश्वासको मत दिनुहुन्छ, हामी विश्वासको मत पाउनेमा सय प्रतिशत ढुक्क छौँ,’ पाठकले दिनेशखबरलाई भने।