अनाथालयका हाकिमबाटै यस्तो हर्कत, गर्भ तुहाउने औषधि सेवन गराएपछि घटना बाहिरियो
धनगढीः मानसिक अवस्था स्थीर नभएकी एक बालिकालाई एक वर्षदेखि प्रलोभनमा पारेर जबरर्जस्ती करणी गरेको अभियोग अनाथालयकै कार्यालय प्रमुख ५१ वर्षीय शङ्करबहादुर चन्दमाथि अहिले लागेको छ। दुई वर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित बाल अनाथालयमा बेसहारा १४ वर्षीया ती बालिकाले आश्रय पाएकी थिइन।
अनाथालयमा दुई नाबालिकाले आफूहरुमाथि बलात्कार गरेको प्रहरी समक्ष बयान समेत दिएको प्रहरी स्रोतले बताएको छ। एक साताअघि समाज कल्याण बाल अनाथालयका एक नाबालिकामाथि पनि अनाथालयमै जबरजस्ती करणी गरेको आरोप लागेका कार्यालय प्रमुख चन्द यतिबेला कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।
‘उनले बालिकालाई टिभी हेराउने बहनामा कार्यकक्षमै लगेर बलात्कार गर्ने गरेको अन्य बालिकाले देखेको कुरो पनि छ।’ अनाथालयकै एक कर्मचारीले भने ‘बालिका गर्भवती भएपछि चन्दले नै गर्भ तुहाउने औषधि सेवन गराएपछि अत्यधिक रक्तश्राप हुँदा घटना बाहिरिएको हो।’ यता प्रहरीले उक्त घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरी निरीक्षक भरतराज गिरीले आरोपित चन्दलाई हिरासतमा राखी जबरजस्ती करणी मुद्दामा सात दिन म्याद थप गराएर अनुसन्धान अघि बढाइएको जानकारी गराए। ‘अन्य कागजात जुटाउनेदेखि घटनाको सबै कोणबाट अनुसन्धान हुदैछ।’ उनले भने, ‘बालिकालाई शान्ति पुनःस्थापना गृहको संरक्षणमा राखिएको छ।’
गत माघ १७ गते प्रहरीले बालिकामाथि बलात्कारको सूचना प्राप्त गर्नासाथ चन्दलाई नियन्त्रणमा लिएको थियो। टुहुरा बालबालिकाको आश्रयस्थलमै बालबालिकामाथि संरक्षकबाटै भएका यौन दुव्र्यवहारका घटनाप्रति सर्वत्र विरोध भइरहेको छ। महेन्द्रनगरमा विद्यार्थीले जिल्ला प्रहरी कार्यालय, भीमदत्त नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा बलात्कारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्।
समाज कल्याण अञ्चल बाल अनाथालयका अध्यक्ष पूर्णबहादुर चन्दले प्रेस विज्ञप्ति जारी गरी बालिकामाथि यौन दुव्र्यवहार गर्ने अपराधीमाथि छानबिन गरी कारबाही हुनुपर्नेमा जोड दिएका छन्। बाल अनाथलयजस्तो पवित्र संस्थामा यसप्रकारको घटना हुनु अतिनै दुःखद विषय भएको भन्दै घटनाको अनुसन्धानका लागि अनाथालय व्यवस्थापनले प्रहरी प्रशासनलाई पूर्ण सहयोग गर्ने विज्ञप्तिमा उल्लेख छ।