सुदूरपश्चिमको स्वास्थ्य सेवामा जनशक्ति अभाव, उपकरण फालाफाल
धनगढीः सुदूरपश्चिममा स्वास्थ्य सेवामा सुधार भएको सामाजिक विकास मन्त्रालयले बताएको छ। बितेका पाँच वर्षमा प्रदेशमा आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा विस्तार हुँदा स्वास्थ्य सूचकाङ्कमा सुधार हुने मन्त्रालयले दाबी गरेको हो।
मन्त्रालयले निःशुल्क आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार र गुणस्तरमा वृद्धि गर्दै लगेको छ। प्रदेशभित्रै आधुनिक र विशेषज्ञ तथा विशिष्टिकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्न स्वास्थ्य उपकरण, भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्ने काम भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले तयार गरेको प्रगति प्रतिवेदनान उल्लेख गरेको छ।
नेपालको संविधान २०७२ को धारा १६८ मा रहेको प्रदेश मन्त्रिपरिषद्को गठन सम्बन्धि व्यवस्थाअनुरुप सुदूरपश्चिम प्रदेशमा २०७४ माघ २८ मा सामाजिक विकास मन्त्रालय स्थापना भएको थियो। मन्त्रालयका विभिन्न ५८ वटा कार्यक्षेत्र तोकिएको छ। जसमध्ये स्वास्थ्य तथा जनसंख्या हेर्ने जिम्मेवारी सामाजिक विकास मन्त्रालयको हो। स्वास्थ्यतर्फ स्वास्थ्य निर्देशनालय, स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सेती र महाकाली प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, ६ वटा जिल्ला स्तरीय अस्पताल, ९ वटा स्वास्थ्य कार्यालय, एउटा प्रादेशिक स्वास्थ्य आयुर्वेद चिकित्सालय र ८ वटा आयुर्वेद केन्द्र सञ्चालनमा छन्। स्वास्थ्य क्षेत्रमा सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवाको पहुँच र गुणस्तर वृद्धिमा काम भएको सामाजिक विकास मन्त्रालयका सचिव दिपक लामिछानेले बताए।
'स्वास्थ्य क्षेत्रमा सामाजिक विकास मन्त्रालयले पाँच वर्षको अवधिमा निकै सुधार गरेको छ,’ उनले भने, ’सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र जिल्ला अस्पतालमा भौतिक संरचना र उपकरण थप्ने काम भएको छ, जिल्ला अस्पताल हिजोका दिनमा हेल्थ असिस्टेन्टको भरमा चल्नुपर्ने अवस्था थियो भने अहिले चार जनासम्म विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन्।’
सामाजिक विकास मन्त्रालयले आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न पाँच वर्षमा सेती प्रादेशिक अस्पताललाई दुई सय शय्यामा सञ्चालन गर्ने, महाकाली र टीकापुर अस्पताललाई १ सय शय्या र ६ वटा जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ। प्रदेशभित्रै आधुनिक र विशेषज्ञ तथा विशिष्टीकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्न हरेक जिल्ला अस्पतालमा ३ जना विशेषज्ञ चिकित्सकले स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् भने प्रदेश तथा जिल्ला अस्पतालमा स्तरीय प्रयोगशाला, स्वास्थ्य उपकरण, एम्बुलेन्स सेवा विस्तार गरिएको सचिव लामिछानेले बताए।
आधारभूत स्वास्थ्य सेवाको पहुँच बढाउन प्रदेशका ८८ स्थानीयसँग स्वास्थ्य कार्यालयमार्फत समन्वय र सहकार्य गरेर १२३ वटा प्रसुति केन्द्र भवन, ६६ वटा सहरी स्वास्थ्य केन्द्र भवन, ६३ वटा सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण गरेर स्थानीय तहलाई हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ। सेती र महाकाली अस्पतालमा १ सय शय्याको दरले २ सय शय्या, टीकापुरमा ६० र जिल्ला अस्पतालमा १० शय्याको कोरोना विशेष उपचार आइसोलेसन वार्ड निर्माण र सञ्चालनमा छन्।
मन्त्रालयले महाकाली अस्पतालमा आकस्मिक उपचार भवन, टीकापुरमा सरुवा रोग उपचार भवन, जिल्ला अस्पताल डोटी र स्वास्थ्य कार्यालय बाजुराको भवन निर्माण गरेको छ। यस्तै, प्रदेशका २७ व६ स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना, सेती र महाकाली अस्पतालमा फोहरमैला प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको छ।
सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पतालमा डाइलाइसिस सेवा विस्तार प्रदेशका ३ हजार ३८ महिला स्वास्थ्य स्वयं सेविका र २०७ स्वास्थ्यकर्मीको निःशुल्क स्वास्थ्य बिमा गरेको छ। यस्तै, ग्रामीण अल्ट्रासाउण्ड सेवा विस्तार गरेको छ भने सबै जिल्लामा रेडक्रसमार्फत बल्ड बैंक सञ्चालनमा ल्याएको छ। प्रदेश स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत स्वास्थ्य सम्बन्धि सचेतना बढाउनुका साथै विभिन्न स्वास्थ्य शिविरमार्फत नागरिकको घरदैलोमा पुगेर उपचार सेवा प्रदान गरेको मन्त्रालयका सचिव लामिछानेले बताए।
'मन्त्रालयले शिक्षा, स्वास्थ्य, युवा खेलकुद, महिला, बालबालिका र जेष्ठ नागरिक, संस्कृति र साहित्य क्षेत्रमा पनि क्षमताले भ्याएसम्म काम गरेको छ,’ उनले भने, ’पाँच वर्षमा भएका केही कामहरूको प्रतिफल अलि पछाडि देखा पर्ने हुन्छ, स्वास्थ्य क्षेत्रका सूचकाङ्कमा सुधार तुरुन्तै भएको नदेखिन सक्छ।’
सामाजिक विकास मन्त्रालयले प्रदेश सरकारमातहतका अस्पतालमा पिसिआर मसिन ३ वटा, एनेस्थिया मसिन ३ वटा, अल्ट्रासाउण्ड मसिन ६ वटा र सिआर सिस्टम मसिन १० वटा छन्। यसैगरी प्रदेश सरकारमातहतका अस्पतालमा ४८ आइसियू, ९७ एचडियू र ५० वटा भेन्टिलेटर सञ्चालनमा छन्। मन्त्रालयले स्वास्थ्य क्षेत्रमा देखिने गरी काम भएको जनाएको छ भने शिक्षा क्षेत्रमा पनि प्रदेशको उपस्थिति महसुस हुने गरी काम भएको दाबी गरेको छ। कर्मचारी र बजेट अभावले मन्त्रालयको तोकिएका ५८ वटै कार्यक्षेत्रमा तुलनात्मक रुपले समान किसिमले काम गर्न नसिएको जनाएको छ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोनाको कारण स्वास्थ्य क्षेत्रमा धेरै सुधारका काम भएको बताए पनि सरकारले भौतिक संरचना निर्माण र उपकरण खरिदमा मात्रै जोड दिएको स्वास्थ्य क्षेत्रका सरोकारवालाले बताएका छन्। प्रादेशिक अस्पताल, जिल्ला अस्पताल र अन्य स्वास्थ्य संस्था निकै कम जनशक्तिको भरमा सञ्चालन गर्नुपर्दा सेवा प्रभावकारी नभएको सर्वसाधारणले गुनासो गर्दै आएका छन्। प्रदेश सरकारले स्वास्थ्य संस्थामा उपकरण पुगाए पनि चलाउने जनशक्ति नहुँदा थन्क्याउनु परेको छ।