सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरका बङ्गुर फार्ममा फेरि देखियो अफ्रिकन स्वाइन फिभरको प्रकोप

२०७९ माघ २१, १०:१६ नारायण अवस्थी

धनगढीः कैलाली र कञ्चनपुरका बङ्गुर फार्ममा बङ्गुर, सुँगुर र बँदेलमा देखिने अफ्रिकन स्वाइन फिभरको प्रकोप देखा परेको छ। गत कात्तिकमा कैलालीको भजनीमा देखा परेको यो रोग अहिले धनगढी उपमहानगरपालिका १३, गौरीगङ्गा, र कैलारी गाउँपालिकामा र कञ्चनपुरको वेदकोट र कृष्णपुर नगरपालिकामा देखा परेको हो।

गत कात्तिक १५ गते कैलालीको भजनीमा पहिलोपटक बंगुर, सुँगुर र बँदेलहरूमा भाइरसबाट लाग्ने महामारी रोग अफ्रिकन स्वाइन फिभरको संक्रमण पुष्टि भएको थियो। कैलालीको भजनी नगरपालिका वडा नम्बर ३ को बडिमालिका बंगुर फर्मका बंगुरहरुमा अफ्रिकन स्वाइन फिभर देखिएको थियो। बंगुर, सुँगुर र बदेलहरूमा देखिने अफ्रिकन स्वाइन फिभर गत मङ्गलवार धनगढी उपमहानगरपालिका वडा नम्बर १३ श्रीलङ्काको एक बङ्गुर फार्ममा फैलिएको पुष्टि भएको छ। यसैगरी कैलालीको गौरीगङ्गा नगरपालिका र कञ्चनपुरको कृष्णपुर र वेदकोट नगरपालिकामा रहेका बङ्गुर फार्ममा पनि संक्रमण फैलिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डाक्टर हेमराज अवस्थीले बताए।

'गत कात्तिकमा भजनीको एक बङ्गुर फार्ममा अफ्रिकन स्वाइन फिभर देखा परेको थियो,  अन्यत्र फैलिएको थिएन,“ उनले भने तर अहिले कैलालीको धनगढी, गौरीगङ्गा र कैलारी तथा कञ्चनपुरमा वेदकोट र कृष्णपुरमा यो रोग फैलिएको पुष्टि भएको छ।'

कात्तिकमा अफ्रिकन स्वाइन फिभर रोगका कारण भजनीको एकै फार्मका ४ सय बढी बंगुर मरेका थिए।र तर जिल्लाको अन्य बङ्गुर फार्ममा भने संक्रमण दिएको थिएन। संक्रमण फैलिएको बंगुर फार्ममा संघीय पशु सेवा विभागको टोलीले समेत भ्रमण गरेर नियन्त्रणा लागि आवश्यक सबै उपाय खोजिएको थियो। तर यो पटक कैलाली र कञ्चनपुरका विभिन्न बङ्गुर फार्ममा सयौँको संख्यामा अफ्रिकन स्वाइन फिभरको कारण बङ्गुर मरेका छन्। संक्रमण हुँदा पनि किसानहरूले पशु शाखा र भेटेरिनरी अस्पतालमा खबर नगरको अधिकारीहरूले बताएका छन्।माघी लगत्तै बङ्गुरको मासु उपभोगर र ओसारपसार बढेकाले कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा एकै पटक संक्रमण देखा परेको अनुमान गरिएको छ।

अफ्रिकन स्वाइन फिभर रोग लागेमा सुँगुर र बंगुर एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निलडामहरू देखिने, कानका टुप्पाहरूमा रगत जमेका धब्बा देखिने र नाकबाट फिंज आउनेजस्ता लक्षणहरू देखा पर्ने हुन्छ। बंगुर, सुँगुर र बंदेलहरू अफ्रिकन स्वाइन फिभरका कारण झोक्राउने र दाना–पानी खान छोड्ने, ज्वरो १०४ डिग्री फरेनहाइट् भन्दामाथि आउने, श्वास फेर्न गाह्रो हुने, दिसामा रगत देखिने र एकै पटकमा सबै बंगुर, सुँगुर र बँदेल मर्न सक्ने हुन्छन्। यो रोगको औषधि र खोप पत्ता नलागेकाले किसानले जैविक सुरक्षा विधि अपनाएर आफ्नो खोरमा पालिएका बङ्गुरलाई संक्रमण हुनबाट जोगाउनु पर्ने पशुपन्छि रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डाक्टर नरेशप्रसाद जोशीले बताए।

'यो रोग विरुद्धको औषधि र खोप बनेको छैन,“ उनले भने, 'यसबाट बङ्गुर र सुँगुरलाई बचाउन जैविक उपाय अपनाउनु नै उत्तम विकल्प हो, हामीले किसानहरूलाई जैविक सुरक्षाका उपाय अपनाउन र रोगका लक्षण देखिए पशु सेवा शाखामा सम्पर्क राख्न भनेका छौँ।'
अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिन नदिन फार्मलाई निर्मलीकरण गर्न पशु चिकित्सकले सुझाव दिएका छन्। खोरमा संक्रमण फैलिए सबै बङ्गुर मर्ने हुँदा जैविक सुरक्षा विधि अपनाएर खोर सुरक्षित राख्न पशु चिकित्सकले सुझाव दिएका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस