सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरमा ४५ हजार मेट्रिकटन मासु उत्पादन, कुन जिल्लामा कति मासु खाइन्छ?

२०७९ माघ २१, ११:००

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशभित्र झण्डै ४५ हजार मेट्रिकटन मासु उत्पादन भएको छ। आर्थिक वर्ष २०७८÷७९ मा प्रदेशभित्र ४४ हजार ६५१ मेट्रिकटन मासु उत्पादन भएको तथ्यांकले देखाएको हो।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रतिव्यक्ति वार्षिक १६ किलो मासु आवश्यक हुन्छ। नेपालको राष्ट्रिय मासु उपभोग दर प्रतिव्यक्ति वार्षिक १४ किलो छ। सुदूरपश्चिम प्रदेशभित्र मासु बढी र दूध ज्यादै न्यून सेवन भइरहेको तथ्यांकले देखाएको छ। मासु उत्पादनमा कैलाली जिल्लाको हिस्सा सबैभन्दा बढी ४१ दशमलव ८४ प्रतिशत र बाजुरा जिल्लाको सबैभन्दा कम ३ दशमलव ४५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंक धनगढीको पछिल्लो अध्ययन प्रतिवेदनले देखाएको छ।

कैलालीमा १८ हजार ६ सय ८३ र बाजुरामा एक हजार ५४१ मेट्रिकटन उत्पादन भएर उपभोग भएको देखिएको छ। जनसंख्या वृद्धिसँगै मासुको खपतसमेत बढ्दै गएको छ। उच्च गुणस्तरीय पौष्टिक तत्व पाइने हुनाले विश्वमा पशुजन्य प्रोटिनको स्रोतका रूपमा मासुलाई उत्कृष्ट परिकारका रूपमा रुचाएको पाइन्छ।

बितेका दशकहरूमा सुदूरपश्चिमेलीहरुको खानपानको शैलीमा ठूलो परिवर्तन आएको छ। त्यसैको प्रतिविम्बन मध्यमवर्गको भान्छामा मासुका परिकारले प्रवेश पाएका छन्। दशैं र खास चाडबाडमा खाइने मासुका परिकार अचेल उत्सव र अवसरविना पनि मध्यमवर्गीय परिवारका भान्छामा सजिलै पाक्छन्। 

शहर मात्र होइन, नगरोन्मुख गाउँमा समेत पाहुनाको स्वागतका लागि माछामासुका परिकार पकाउने चलन सामान्य बन्दै छ। तथ्यांकले पनि पछिल्ला दशकमा सुदूरपश्चिममा मासुको उत्पादन र उपभोग दुवैमा अभूतपूर्व विस्तार भइरहेको देखाउँछ। अन्य मासुका तुलनामा कुखुराको मासुले लोकप्रियता र स्वीकार्यता पाउनुमा यसको सुलभ मूल्य पनि मुख्य कारण हो।

खसीको मासुका तुलनामा कम्तीमा तीन गुणा सस्तो कुखुराको मासु, पनीर, कुरिलो जस्ता तरकारीका तुलनामा पनि कमै मूल्यको छ। पछिल्ला दशकहरूमा मूलतः वैदेशिक रोजगारीले बढाएको आयले मासुको खपत ह्वात्तै बढाइदिएको छ। रेमिटेन्सले ग्रामीण क्षेत्रका विपन्न नागरिकको हातमा पनि पैसा पु¥याइदिएको छ।

डेढ दशकअघि सुदूरका चारमध्ये एक परिवारले रेमिटेन्स आय पाउने गरेकोमा अहिले दुईमध्ये कम्तीमा एक परिवारले रेमिटेन्सको आम्दानी पाउने अनुमान छ। पछिल्लो एक वर्षको अवधिमा अछाममा दुई हजार ३९७, डोटीमा तीन हजार १८५, बझाङमा दुई हजार ६७१ तथा कञ्चनपुरमा ७ हजार ३६१ मेट्रिकटन मासु उत्पादन भएर उपभोग भएको छ।

डडेल्धुरामा तीन हजार ५९२, बैतडीमा तीन हजार ४२ तथा दार्चुलामा दुई हजार १७९ मेट्रिकटन मासु उत्पादन भएर उपभोग भएको देखिएको छ। भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रहरु, पशुपंन्छी तथा मत्स्य विकास निर्देशनालयको तथ्यांकअनुसार पनि पछिल्लो समय प्रदेशभित्र मासु उत्पादनसँगै उपभोग गर्नेको संख्यामा वृद्धि हुँदै गएको छ।

कमेन्ट लोड गर्नुस