सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

२०७९ माघ १९, ०३:३८ खबर संवाददाता

धनगढीः नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई बाँकेबाट प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलका अनुसार चौधरीलाई बिहीवार दिउँसो बाँकेको चिसापानीबाट प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई धनगढी ल्याइनेछ। 

उनी कैलालीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। फरार सूचीमा रहेका चौधरीलाई पक्राउ गरिएको नेपाल प्रहरीले बताएको छ। 

सांसद चौधरीलाई ट्याक्टरमा आगजनी गरेको कसुरमा दोषी ठहर गरिएको हो। ६ महिना कैद सजाय भुक्तान गर्नुपर्नेमा उनी फरार सूचीमा थिए। २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले हाल नागरिक उन्मुक्तिका सासंद रहेका अरुणकुमार चौधरीसहित परशुराम चौधरी र वीररबहादुर चौधरीलाई ६ महिना कैद सजाय सुनाएको थियो।  

८ लाख १८ हजार चार सय २३ रुपैयाँ पीडितलाई  क्षतिपूर्तिसमेत उपलब्ध गराउने  फैसला गरिएको थियो। अदालतले फैसला गरे पनि उनीहरु फरार रहेका थिए। अरुणकुमार चौधरी २०७४ सालमा आगजनी भएको ट्याक्टरका सञ्चालक महादेव बजगाईसँगै लम्कीचुहा नगरपालिको नगरप्रमुख पदमा निर्वाचन लडेका थिए।  

२०६६ भदौ ३ गते आफ्नो लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा बजगाईले प्रतिनिधि सभा सदस्य रहेको अरुणकुमार चौधरीसहित पशुराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए। उक्त मुद्धामा जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले २०७० बैशाख ९ गते तीन जनालाई जनही ६ महिना कैद र बिगो रकम असुल्न आदेश दिएको थियो। अदालतले फैसला गरेर प्रहरीलाई त्यतिबेला नै पत्र पठाए पनि यस अघि प्रहरीले चासो दिएको थिएन। 

 

कमेन्ट लोड गर्नुस