सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको हसुलिया–मसुरिया सडक निर्माण दुई वर्षदेखि अलपत्र

फाइल फोटो
फाइल फोटो
२०७९ माघ १८, ११:१० कमल सावद

धनगढीः कैलालीको कैलारी गाउँपालिकाको सहुलियादेखि गौरीगंगा नगरपालिकाको बढैपुसम्मको सडकको दुरी झण्डै १९ किलोमिटर छ।

हुलाकी राजमार्ग र पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग जोड्ने सो सडकको हसुलिया खण्डमा कालोपत्र गर्न २०७७ असार ७ गते ठेक्का सम्झौता भएको थियो। सडक डिभिजन कार्यालय, महेन्द्रनगरले पाँच खण्डमा सडक कालोपत्रका लागि सम्झौता गरेको थियो।

तर अहिले निर्माणको काम ठप्प छ। सडक डिभिजन, साइड कार्यालय धनगढीका प्रमुख गणेश बुढाले बजेट नभएका कारण बाँकी सडक निर्माणको काम अघि बढाउन नसकिएको बताए। उनले भने, ‘पुरानो ठेक्का छ। तर बजेट हामीसँग छैन्। बजेट नभएर काम गरेको बिलको पैसा दिन सकिएको छैन्।

साथै म्याद सकिएकाले पनि भुक्तानी गर्न सकिएको छैन्।’ पूर्व–पश्चिम राजमार्गदेखि कैलारी गाउँपालिकाको लौसासम्मको ३ किलोमिटर सडक कालोपत्र गरिएको छ। १६ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ। हसुलियादेखि पाँच किलोमिटरसम्म सडक डिभिजनले कालोपत्रका लागि ठेक्का सम्झौता गरेको थियो।

२०७७ चैत १५ गतेसम्ममा सडक निर्माणको कम पूरा गर्नुपर्ने गरी सम्झौता गरिएको भए पनि अझै काम हुन सकेको छैन्। तराई–मधेश कार्यक्रमबाट आएको बजेटबाट ठेक्का सम्झौता गरिएको बुढाले बताए। उनकाअनुसार सो कार्यक्रमको बजेट प्रदेशमा गएको छ। तर प्रदेश सरकारले छुट्टै ठेक्काको प्रक्रिया सुरु गरेको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय धनगढीका प्रमुख रामचन्द्र खत्रीले बताए। 

सडक कलोपत्रका लागि ४ ठेक्का बीबीएस कन्स्ट्रक्सन र एक ठेक्का मल्ल निर्माण सेवाले पाएको छ। हसुलियादेखि उत्तर एक दशमलव ३ किलोमिटर सडक कालोपत्रका लागि ३३ लाख ६१ हजार, एक दशमलव २ किलोमिटर सडक कालोपत्रका लागि २८ लाख ३८ हजार, एक किलोटिर सडक कालोपत्रका लागि १८ लाख ८४ हजार र ८ सय ७५ मिटर सडक कालोपत्रका लागि बीबीएस कन्स्ट्रक्सनले ठेक्का पाएको छ। 

नौ सय मिटर सडक कालोपत्रका लगि ११ लाख ३६ हजारमा मल्ल निर्माण सेवाले ठेक्का पाएको छ। तर पुरानो काम गरेको रकम नपाएको भन्दै बाँकी निर्माण कार्य अघि बढेको छैन्। चालु आर्थिक वर्षमा सो योजनाका लागि बजेट विनियोजन समेत भएको छैन। सडक डिभिजन कार्यालय महेन्द्रनगरले ठेक्का सम्झौता गरेको सडक निर्माणको काम अलपत्र परेका बेला प्रदेशको पूर्वाधार विकास कार्यालयले बाँकी खण्डमा सडक कालोपत्रका लागि अध्ययनको प्रक्रियामा छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस