धनगढीमा खुल्यो नेपालकै पहिलो कृषि मार्ट, यस्ता छन् विशेषता
धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कृषि मार्ट सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को एन.डी मार्गमा एस.बी कृषि मार्ट प्रालि खुलेको हो। मार्टको मंगलवार सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले विधिवत रुपमा उद्घाटन गरेका छन्।
धनगढीमा लामो समयदेखि कृषि व्यवसाय गर्दै आएका विष्णुराज बुर्लाकोटीले मार्ट सञ्चालनमा ल्याएका हुन्। सञ्चालक बुर्लाकोटीले सुदूरपश्चिमको कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले मार्ट सञ्चालनमा ल्याइएको बताए।
सुदूरपश्चिममा उत्पादित कृषि उपजले बजार र मूल्य नपाउँदा कृषकहरुको उत्पादन क्षमतामा ह्रास आएकाले कृषि उपजको उत्पादन बढाउन र किसानलाई उचित मूल्य दिन मार्ट सञ्चालन गरिएको जनाए।
उनले कृषि उपजमा सहुलियत खोज्नु, बजारिकरणको सही व्यवस्थापन नहुनु जस्ता कारणले उपभोक्ताले एकै ठाउँ चाहेको वस्तु नपाउने समस्या रहेकाले उत्पादनकर्ता र उपभोक्ताको मनोभावनाको गहिरो विश्लेषणमार्फत मार्ट स्थापना भएको उल्लेख गरे।
सञ्चालक बुर्लाकोटीले मार्टले विशेषगरी किसानलाई व्यवसायीकरण गराउदै उपभोक्तालाई स्वस्थकर र गुणस्तरीय खाद्य सामाग्री उपलब्ध गराउने, बिउ–बिजन, मलखाद तथा कृषि उपकरण सुपथ मूल्यमा उपलब्ध गराउने, अर्गानिक तरकारी तथा फलफूल उपलब्ध गराउने, कृषि र भेटेनरिनरी सम्बन्धी परामर्श दिने, लोप हुँदै गएका स्थानीय परिकारका खाना उपलब्ध गराउने लक्ष्य र योजनाका साथ मार्ट सञ्चालनमा ल्याइएको दाबी गरेका छन्।
मार्टले बिउ विजन खरिद तथा बिक्री, कृषि तथा भेटेरिनरी औजार उपकरण तथा मेसिनहरु बिक्री, ताजा तरकारी तथा फलफूल बिक्री, फ्रोजन मिट तथा माछा बिक्रि, कृषि,वन लघु उद्यम र घरेलु उद्योगबाट उत्पादित हस्तकलाका सामग्री पनि बिक्री गर्ने जनाएको छ।
मार्टमा डेरी तथा सुदूरपश्चिमका मौलिक र परम्परागत खाजा र खाना पाइने बताइएको छ। मार्टमा माणा, मासको बारा, मकै र कोदोको रोटी, सेल रोटी, ढिक्रीलगायतका परम्परागत सुदूरपश्चिमेली खाना र खाजाका परिकार पाइने छन्।
यस्तै, दही चिउरा, खीर, फापरको रोटी, पहाडी अर्गानिक आलुको परिकार, केराको अचार र केराकफ मःम, टिमुरको अचार, पकौडा, सिन्कीको अचार, कुपिण्डोकफ मिठाई र ढिडोको स्वाद लिन पाइने छ। मार्टले तालिम तथा सेमिनार हलको सुविधासमेत रहेको छ भने अर्ग्यानिक तथा ताजा तरकारी, फलफूल र अन्य खाद्य सामग्री बिक्री गर्ने छ।
मार्टमा परम्परागत ज्ञान र प्रविधिसहितको कृषि संग्राहलय पनि राखिएको छ। यो मार्ट सुदूरपश्चिममा मात्र नभएर नेपालकै एकै छानामुनि कृषि उपज पाइने पहिलो मार्ट भएको सञ्चालकले जनाएका छन्।