सुदूर नेपाललाई विश्वसँग जोड्दै

औषधि नखाइदिँदा कैलालीमा हात्तीपाइले रोगविरुद्धको अभियान निष्प्रभावी

२०७९ माघ १५, ०७:१४ नारायण अवस्थी

धनगढीः सरकारले लाखौं रकम खर्चेर बर्सेनि हात्तीपाइले रोगविरुद्ध अभियान चलाइरहे पनि लक्षित वर्गले औषधि सेवन नगरिदिँदा कैलालीमा यो अभियान सफल हुन सकेको छैन। जिल्लामा यो वर्ष एघारौं चरणको हात्तीपाइले रोग निवारण अभियान सुरु हुँदैछ। हात्तीपाइले रोग उन्मूलनका लागि १० वर्षदेखि सचेतनामूलक कार्यक्रम र स्वास्थ्यकर्मीको निगरानीमा घरघरमा पुगेर औषधि खुवाइए पनि रोगीको संख्या घट्न नसकेको हो।

कैलाली जिल्लामा हात्तीपाइले रोग नियन्त्रण गर्न यो वर्ष करिब ९ लाख डोज औषधि खुवाइने लक्ष्य छ। हात्तीपाइले निवारण भएको जिल्ला घोषणा हुन अन्य जिल्ला बढीमा ८ पटकसम्म औषधि खुवाइएको भए पनि कैलालीमा सहरी जनसंख्या र सरकारी कर्मचारीहरूले नै औषधि खान नमान्दा अहिलेसम्म हात्तीपाइले निवारण गर्न नसकिएको स्वास्थ्य अधिकारीले बताएका छन्। हात्तीपाइले रोग (फाइलेरिया) प्रायः बाल्यावस्थामा लाग्ने गर्छ। यो लामखुट्टेको टोकाइबाट सर्ने रोग हो।

हात्तीपाइले रोगीलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्दा ‘उचेरेरिया बांक्रोटी’ नामक परजीवी स्थानान्तरण भई यसको संक्रमण हुन्छ। यसबाट बच्न वर्षको एक मात्रा हात्तीपाइलेविरुद्धको औषधि निरन्तर ६ वर्षसम्म सेवन गर्नुपर्छ। यो औषधि सरकारले अभियान नै चलाएर हरेक वर्ष निःशुल्क वितरण गर्दै आएको छ। हात्तीपाइले रोग निवारण गर्न कैलालीमा फागुन ११ देखि २५ सम्म एघारौं चरणको अभियान चलाइने भएको हो।

यसअघि कैलालीमा १० पटकसम्म हात्तीपाइले रोग निवारण अभियान चलाइए पनि कुल जनसंख्याको करिब ५० प्रतिशतले मात्र औषधि सेवन गर्दा अभियान असफल भयो। यो वर्ष रोग निवारण गर्ने लक्ष्य छ। दुई वर्षमाथिका हरेक व्यक्तिले हात्तीपाइले रोगका परजीवी मार्ने औषधि डाइइथाइलकर्मामाजिन, जुका मार्ने एल्मिन्डाजोल र आइभरमेक्टिन खुवाइने छ। यो वर्ष अभियान सफल पार्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए।

‘यो वर्ष दुई वर्षभन्दा माथिका कैलालीका ९ लाख जनसंख्यालाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने हाम्रो योजना छ,“ उनले भने, “हात्तीपाइले निवारण गर्न हामीलाई स्थानीय तहको सबैभन्दा बढी सहयोग चाहिन्छ भने हरेक नागरिकले पनि औषधि सेवन गरेर सुरक्षित हुन आवश्यक छ।’
लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोग नियन्त्रण गर्न सबैभन्दा भरपर्दो उपाय समुदायमा आम औषधि सेवन गराउनु हो।

हात्तीपाइले रोग निवारणमा सफलता हासिल गर्न कैलालीमा यो वर्ष ८० देखि ८५ प्रतिशतलाई औषधि सेवन गराउने लक्ष्य राखिएको छ। औषधि सेवनमार्फत हात्तीपाइले रोग निवारण गर्न जिल्लाका १३ वटै स्थानीय तहका जनप्रतिनिधिले औषधि खुवाउने अभियानलाई यो वर्ष सफल बनाउने बताएका छन्। गौरीगङ्गा नगरपालिकाका प्रमुख देवीदत्त कंडेलले सरकारले तय गरेका दिगोबिकासका लक्ष्य प्राप्तिका लागि हात्तीपाइलेजस्ता रोग निवारण गर्नु जरुरी रहेको बताए।

हात्तीपाइलेको औषधि २ वर्षमुनिका बालबालिका, गर्भवती र ७ दिनसम्मका सुत्केरी आमाहरू र सिकिस्त बिरामीले सेवन गर्न नहुने चिकित्सकहरूले बताएका छन्। दैनिक ज्यालादारी र मौसमी कामदार, केही जातीय समुदाय विषेशगरि महिला, निरक्षर दलित समुदाय, शिक्षित बर्गका व्यक्तिहरू, सहरी जनसंख्या र सरकारी कर्मचारीले औषधि सेवन गर्न इन्कार गर्ने गरेका छन्।

यसैगरी सहरमा बसोबास गर्ने, सामाजिक र आर्थिक रुपमा उच्च बर्गका केही जातीय समुदायमा पनि औषधि सेवन नगर्ने प्रवृत्ति रहेको स्वास्थ्य अधिकारीले बताएका छन्। हात्तीपाइले लागेपछि यसको उपचार सम्भव छैन। एक पटक हात्तीपाइले लागे यो रोग निको हुँदैन तसर्थ औषधि सेवन गर्नुपर्ने  सेती प्रादेशिक अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर शेरबहादुर कमरले बताए। ‘हात्तीपाइलेको औषधि निकै भरपर्दो र सुरक्षीत छ, शरीरमा हात्तीपाइलेका जीवाणु छन् भने टाउको दुख्ने, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुन सक्छ,“ उनले भने, “त्यसो भएमा औषधिले प्रभावकारी रुपमा काम गर्दैछ भन्ने बुझ्नुपर्छ।’

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस