सुदूर नेपाललाई विश्वसँग जोड्दै

'सुदूरपश्चिममा कुखुरा पालनबाट छैन आम्दानी'

। फोटो स्रोत ।
२०७९ माघ १४, ०८:०० नारायण अवस्थी

धनगढी: कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी कुखुरा व्यवसायी भए पनि निरन्तरको घाटाको व्यापारका कारण पेशाबाट पलायन हुनेको संख्या बढ्न थालेको छ। वास्तविक किसानले सरकारी अनुदान नपाउने, दाना, औषधि र चल्ला महङ्गो हुँदा पेशामा टिक्न मुस्किल भएको हो। स्थानीय किसानका कुखुरा बिक्री गर्न तयार हुँदा भारतबाट तस्करी हुने कुखुराको कारण किसान मर्कामा पर्न थालेपछि व्यवसायबाट पलायन हुन थालेका हुन्। 

कञ्चनपुरको वेलौरी नगरपालिका वडा नम्बर १० शिवनगरका नरेन्द्रप्रसाद रेग्मीसहित चार जनाले चार वर्ष अगाडि व्यावसायिक कुखुरा पालन गर्ने योजना बनाए। साझेदारीमा व्यावसायिक कुखुरा पालन गर्न उनीहरूले ३९ लाख खर्च गरेका छन्। १२ लाखमा खोर निर्माण गरेका साझेदारहरूले २७ लाखमा कुखुरा, दाना र चल्ला ढुवानी गर्न गाडी खरिद गरे। कुखुरा व्यवसायबाट आम्दानी होला र सहकारीबाट लिएको ऋण सहजै तिर्ने जोशका साथ काम गरे पनि चार वर्षसम्म लागत पनि उठाउन नसक्दा गत वर्ष कुखुरा पाल्न छोडेर रोजगारी गर्न रेग्मी भारत पलायन भएका छन्। 

कुखुराको दाना, औषधि र चल्ला महङ्गो हुने तर खोरमा बिक्रीका लागी कुखुरा तयार हुँदा बजार नपाउने समस्याले आजित भएर कुखुरा पाल्न छोडेर रेग्मी भारत गएका हुन्। यस्तै, चार वर्षदेखि कुखुरा पालन गर्दा लागेको ऋणको हिसावसम्म नगरेको धनगढीका कुखुरा पालक किसान केशव पाण्डेको भनाइ छ।"चार वर्षसम्म कति घाटा खाइयो मैले हिसाब नै राखेको छैन," उनले भने, 'किसानलाई यो पेशामा नाफा छैन, ६० प्रतिशत किसान भारतबाट आउने कुखुराको कारण डुबेका छन्।'

कैलालीको अत्तरियाका युवा हिक्मत कठायत ८ वर्ष विदेश बसेर घर फर्किएका हुन्। कति विदेश बस्ने स्वदेशमै स्वरोजगार हुनुपर्छ भनेर एक वर्ष अगाडि कुखुरा पालन व्यवसाय सुरु गरेका कठायतले कुखुरा पाल्दा आफ्नो ४६ लाख कसरी सकियो थाहै नपाएको बताएका छन्।

सुदूरपश्चिममा कुखुरा पालेर कमाउला भन्ने सोच्नु चल्ला र दाना कम्पनी, औषधि बिक्रेता र मिट मार्टहरुलाई आफ्नो लगानी 'आऊ र खाऊ' भन्नुजस्तो भएको कठायतले बताए। प्रहरी प्रशासन, दाना र चल्ला व्यापारी ठुला मिट मार्टहरूको मिलेमतोमा किसानको बिक्री गर्न तयार भएको कुखुरा बिक्री नहुने, बिक्री भए पनि कम मूल्यमा उधारोमा बिक्री गर्नुपर्ने र पैसा नपाउने समस्याका कारण कुखुरा पालनबाट एक वर्षमै पलायन भएको कठायतले बताए।"सुदूरपश्चिममा कुखुरा पालनमा किसानलाई आम्दानी गर्ने बाटो नै छैन,' उनले भने, 'कुखुराको बजार दुईचार जना बिचौलियाको कब्जामा छ, प्रहरी प्रशासन, दाना,चल्ला र मिटमार्टहरूको मिलेमतोमा किसानको ढाड सेक्ने काम मात्रै हुन्छ।'

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का नवराज रेग्मीले लगातार ३ वर्ष जग्गा लिजमा लिएर कुखुरा पालन गरेको बताए। तर, हरेक पटक कुखुरा बिक्री गर्न समस्या खेप्नु परेको उनको अनुभव छ। वास्तविक किसानले सरकारी अनुदान नपाउने, चल्ला तथा दाना व्यापारीले कमसल चल्ला र दाना भिडाउने, खोरको कुखुरा बिक्री हुन तयार हुँदा बजारमा मूल्य घटाउन दबाब दिन भारतबाट अकस्मात कुखुरा ल्याइने लगायतका कारणले आजित भएर पेशाबाट पलायन भएको रेग्मीले बताए। 'कुखुरा पालन गर्न चाहने किसानले सरकारी अनुदान पनि पाउदैनन्, पालेको कुखुराको मूल्य पनि पाउदैनन्,' उनले भने, 'चल्ला व्यापारीले कमसल चल्ला, दाना व्यापारीले कमसल दाना भिडाउछन्,अनि कुखुरा बिरामे हुन्छ, किसान औषधिमा पनि ठगिन्छ, धेरै कुखुरा खोरमै मर्छन, बाँचेका कुखुराको मूल्य पाइदैन।'

भारतीय कुखुरा कैलाली र कञ्चनपुरको सिमावर्ती क्षेत्रबाट सेटिङमा  भित्र्याउने समूह वर्षभरी सक्रिय रहेको किसानहरूले बताएका छन्। त्यो समूहले प्रहरी प्रशासनलाई प्रभावमा पारेर स्थानीय किसानको खोरमा कुखुरा बिक्रीका लागि तयार हुने बित्तिकै भारतीय कुखुरा ल्याउने गरेको छ। जसका कारण यहाँको कुखुराले बजार नपाउँने अवस्था हुन्छ।  

अहिले नेपाली किसानको कुखुरामा प्रति किलो लागत २ सय २५ सम्म हुन्छ भने भारतबाट कुखुरा ल्याउने समूहले बजारमा त्योभन्दा सस्तोमा कुखुरा बिक्री गर्न थाल्छ। किसानको खोरमा कुखुरा तयार हुँदा भारतीय कुखुरा बजारमा ल्याएर मूल्य घटाउन षडयन्त्र गर्ने गरिन्छ भने किसानले उधारो र सस्तोमा कुखुरा बिक्री गरिसक्ना साथ त्यहीँ समूहले बजारमा कुखुराको मासुको मूल्य बढाउने गरेको किसानहरूले बताएका छन्। सुदूरपश्चिमका स्थानीय कुखुरा पालक किसान समस्यामा रहेको र धेरैजसो साना किसान पेशाबाट पलायन भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीका प्रमुख डाक्टर हेमराज अवस्थीले बताए।"कैलालीमा ५ हजारभन्दा बढी किसान कुखुरा पालनमा संलग्न थिए, अहिले धेरैजसो किसानले पलायन हुनु परेको बताउने गरेका छन्,' उनले भने, 'लागत मूल्य नपाउँदा मर्कामा परेको गुनासो सबैभन्दा बढी छ।'

माथिका घटनाहरू प्रतिनिधि उदाहरण मात्रै हुन्। कैलाली र कञ्चनपुरमा कुखुरा पाल्ने धेरै किसान आफ्नो लगानी गुमाएर पेशाबाट पलायन भएका थुप्रै उदाहरण  छन्। कैलालीमा करिव ५ हजार किसान कुखुरा पालनमा संलग्न रहेको सरकारी तथ्याङकले देखाएको छ। पालयन हुनेमा साना कुखुरा पालक किसानको संख्या बढी रहेको सरकारी अधिकारीहरूले समेत बताएका छन्। 

सुदूरपश्चिममा कुखुरा पालन व्यवसायमा सोचे जस्तो आम्दानी छैन। कुखुरा पालनबाट राम्रो कमाइ गर्ने आशाले व्ययसाय थालेकाहरू अहिले धमाधम पलायन भइरहेका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस