सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कुष्ठ रोगीको संख्या बढ्यो, ६ महिनामा ७२ नयाँ संक्रमित फेला

२०७९ माघ १४, ०३:५३ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेशभित्र कुष्ठ रोगीको संख्या बढ्दै गएको अध्ययनले देखाएको छ। चालु आर्थिक वर्ष सुरु भएको ६ महिनाको अवधिमा मात्र ७२ जनामा नयाँ संक्रमण फेला परेको पाइएको हो। सबैभन्दा बढी कैलाली, कञ्चनपुर र अछाममा कुष्ठरोगीको संख्या बढ्दै गएको देखिएको छ। अन्य जिल्लाको तुलनामा यी तीन जिल्लामा कुष्ठरोगीको संख्या बढी रहेको स्वास्थ्य अधिकारीले बताएका छन्।

७० औं विश्व कुष्ठरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय कैलालीले शनिवार धनगढीमा आयोजना गरेको पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरिएको हो। कैलालीमा सबैभन्दा बढी १३१ कञ्चनपुरमा ३२ र अछाममा २५ जना कुष्ठरोग लागेका व्यक्तिको उपचार भइरहेको छ।

स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत मनोज ओझाले डोटीमामा ५, बाजुरामा ४, बझाङमा ३, दार्चुला र बैतडीमा २र२ र डडेल्धुरामा १ जना कुष्ठरोगी रहेको बताए। सुदूरपश्चिम प्रदेशमा २०५ जनामा कुष्ठरोग लागेको उनले बताए। जसमध्ये एक सय ११ जना पुरुष, ९४ महिला, २ बालबालिका र १९ जनामा अपांङ्गताका लक्षण देखा परेको ओझाले जानकारी गराए।

सुदूरपश्चिममा रहेका कुष्ठरोगका बिरामीमा १६० जनामा बढी सर्ने र ४५ जनामा कम सर्ने कुष्ठरोग देखिएको तथ्यांकमा उल्लेख छ। पछिल्लो समय समुदायमा गएर कुष्ठरोगको खोजपडताल गरिने र सरकारले निःशुल्क उपचार गर्ने भएकाले कुष्ठरोग भएका व्यक्तिहरूको संख्या केही बढेको देखिएको अधिकारीहरुले बताएका छन्।

आर्थिक वर्ष २०७६र७७ मा नयाँ बिरामीको संख्या एक सय ३७ रहेकोमा आर्थिक वर्ष २०७७र७८ मा बढेर २०८ पुगेको छ। यस्तै, आर्थिक वर्ष २०७८र७९ मा २०५ जना नयाँ बिरामी फेला परेका छन् भने चालु आर्थिक वर्षको पौष मसान्तसम्म ७२ जनामा नयाँ संक्रमण देखा परेको छ। नेपालमा सन् २०१० मा कुष्ठरोग निवारणको घोषणा गरिएको थियो। सन् २०३० सम्म कुष्ठरोगलाई शून्यमा पु¥याउने सरकारी लक्ष्य छ।

राष्ट्रिय रणनीतिअनुसार सुदूरपश्चिम प्रदेश सरकारले कुष्ठरोग निवारण गर्न काम गरिरहेको स्वास्थ्य निर्देशक डाक्टर जगदीश जोशीले बताए। सुदूरपश्चिम प्रदेशका पहाडी ६ जिल्लामा कुष्ठरोगको प्रकोपदर १० हजार जनसंख्यामा शून्य दशमलव ५ भन्दा कम छ भने कैलाली र अछाममा एकभन्दा बढी रहेको छ। कञ्चनपुरमा भने प्रति १० हजार जनसंख्यामा शून्य दशमलव ८१ मा कुष्ठरोग देखा परेको छ।

अछाम तथा कैलालीमा अहिलेसम्म पनि कुष्ठरोग जनस्वास्थ्यको समस्याको रुपमा रहेको छ भने पहाडी जिल्लामा समयमै कुष्ठरोगका बिरामी उपचारमा ल्याउन नसकिएको स्वास्थ्य निर्देशक जोशीले बताए। “पहाडी जिल्लामा कुष्ठरोग लागेका बिरामी ढिला उपचारमा आउँछन्,“ उनले भने ढिला उपचारमा आउने बिरामीहरूमा अपाङ्गता हुन सक्ने, लामो समय औषधि खानुपर्ने तथा विभिन्न खालको जटिलता आउने र समुदायमा रोग अरू व्यक्तिहरूलाई सरिरहने सम्भावना रहिरहन्छ।“

कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामक सुक्ष्म जीवाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने सामान्य रोग हो। यो रोग मानिसबाट मानिसमा सर्छ। उपचार नगरेको कुष्ठरोग लागेको व्यक्तिसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः स्वासप्रश्वासको माध्यमबाट यो रोग सर्छ। उपचार गरे यो रोग पूर्ण रुपमा निको हुन्छ।

कुष्ठरोगको प्रकार हेरी कम्तिमा ९ महिना र बढीमा २४ महिना नियमित औषधि सेवन गरे यो रोग पूर्ण निको हुन्छ। कुष्ठरोगीहरूको स्वास्थ्य बिमा नेपाल सरकारले निःशुल्क गरेको छ। विश्व कुष्ठ रोग दिवसको अवसरमा स्वास्थ्य कार्यालयमा आयोजित कार्यक्रममा स्वास्थ्य निर्देश डाक्टर जगदीश जोशी, नेपाल कुष्ठरोग निवारण संघ कैलाली जिल्ला अध्यक्ष सिताराम जोशी, स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामी, पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी, स्वास्थ्य अधिकारी लगायतको सहभागिता थियो।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस