सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको घोडाघोडीमा लाटोकोसेरो उत्सव हुने

२०७९ माघ १३, ०३:३४ खबर संवाददाता

धनगढीः कैलालीमा लाटोकोसेरो उत्सव हुने भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ४ को माघी होमस्टे थारु गाउँमा नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको हो।

धनगढीमा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै लाटोकोसेरो उत्सवका बारेमा जानकारी गराइएको हो। माघ २० र २१ गते गरी दुई दिन महोत्सव आयोजना हुने बताइएको छ। चरा संरक्षणको क्षेत्रमा काम गर्दै आएका संस्था फ्रेन्ड्स अफ नेचर (फोन) र चरा संरक्षण सञ्जाल कैलालीको संयुक्त आयोजनामा माघी होमस्टेमा लाटोकोसेरो उत्सव हुने लागेको हो।  

सन २०१९ मा स्याङ्जाको राङभाङमा ९औँैं लाटोकोसेरो तथा हुचिल उत्सव आयोजना गरिएको थियो।  किसानको साथीको रुपमा चिनिने उल्लू अर्थात लाटोकोसेरो/हुचिलको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले नेपालमा आयोजना गरिदैं आएको यो उत्सव दुई वर्षसम्म कोरोना महामारीका कारण हुन सकेको थिएन्। कैलालीमा लाटोकोसेरोको संरक्षणबारे थप सचेतना फैलाउनुका साथै पर्यापर्यटन विकासमा पनि टेवा पु¥याउने फ्रेन्ड्स अफ नेचरका निर्देशक एवम् उल्लू संरक्षणकर्मी राजु आचार्यले बताए।

विश्व रामसारमा सूचीकृत घोडाघोडी ताल एवम् घोडाघोडी चरा अभयारण्य क्षेत्र हो। फ्रेन्ड्स अफ नेचरका अनुसार लाटोकोसेरो तथा हुचिल उत्सवमा लाटोकोसेरो तथा हुचिलको बारेमा विभिन्न जानकारीमूलक भिडिओ, तस्बिर प्रदर्शनी गरिने छ। स्थानीय समुदायको कलासंस्कृती पनि प्रदर्शन गरिने छ। 

यसअघि, धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ र स्याङ्जामा यो उत्सव आयोजना भइसकेको छ। सुदूरपश्चिम प्रदेशमा भने पहिलो पटक लाटोकोसेरो तथा हुचिल उत्सव हुन गइरहेको हो। उत्सव नेपालसहित अमेरिका, इटली र भारतमा पनि मनाइने गरेको फ्रेन्ड्स अफ नेचरले बताएको छ। 

विश्वमा दुई सय २५ प्रजातिका लाटोकोसेरो मध्ये २३ प्रजातिको लाटोकोसेरो नेपालमा पाइन्छन्। नेपाल सरकारको तथ्यांक अनुसार ८ प्रजातिका लाटोकोसेरोहरु चोरी शिकारी र अवैध कारोवारका कारण राष्ट्रियस्तरमै दुर्लभ भएता पनि विभिन्न संघ संस्थाले पछिल्लो समयमा गरेको अध्ययन–अनुसन्धानहरुमा सवै प्रजातिहरु प्रभावित देखिन्छन्। नेपालबाट लाटोकोसेरोको एउटा प्रजाति लोप भैसकेको आचार्यले बताए। मुसा लाटोकोसेरोको प्रमुख आहारा हो। ४ वटा संख्यामा रहेको लाटोकोसेरोको एउटा परिवारले ४ महिनाको अवधिमा ३ हजार मुसा शिकार गर्ने भएकाले यो किसानको साथी भएको आचार्य बताउँछन्।

उत्सवमा नेपाल भरिका प्रकृति, पर्यावरण, संरक्षण क्षेत्रमा काम गर्ने २५ भन्दा बढी संघ संस्था लगाएत सरोकारवाला निकायहरु, संरक्षणकर्मीहरु र स्थानीय विद्यालय, कलेजका विद्यार्थीहरुको समेत सहभागिता रहने जनाइएको छ। सो उत्सव आयोजना गर्न घोडाघोडी नगरपालिकाको कार्यालय, डिभिजन वन कार्यालय पहमानपुर र नेपाल पक्षी संरक्षण सङ्घ (बीसीएन)ले सहकार्य गर्नेछन्।

कमेन्ट लोड गर्नुस