सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरमा कृषिबालीको भूक्षेत्र घट्यो, कैलालीमा २५ प्रतिशतले उत्पादनमा ह्रास

२०७९ माघ १३, ०१:४६

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशभित्र कृषियोग्य भूमि घट्दै गएको छ। कृषि भूमि घट्दै जाँदा त्यसको असर उत्पादनमा समेत परेको छ। सुदूरपश्चिममा अघिल्लो आर्थिक वर्षको तुलनामा खाद्य तथा अन्य बाली, तरकारी एवम् फलफूल तथा मसलाले ढाकेको भू–क्षेत्र घटेको नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनले देखाएको छ।

आर्थिक वर्ष २०७७/७८ मा शून्य दशमलव १८ प्रतिशतले वृद्धि हुँदा आर्थिक वर्ष २०७८/७९ मा आएर २ दशमलव ९० प्रतिशतले खाद्य बाली उत्पादनमा गिरावट आएको हो। खाद्यन्नबाली उत्पादन हुने क्षेत्रमा फलफूल र तरकारी खेतीको विस्तार बढेपछि खाद्यन्न बालीको उत्पादन घट्दै गएको सुदूरपश्चिम कृषि विकास निर्देशनालयका सूचना अधिकारी केशवराज पाण्डेयले बताए।

‘कृषि बाली उत्पादन हुने क्षेत्र त उही हो। तर सो क्षेत्र फलफूल र तरकारी क्षेत्रले ओगटेपछि खाद्य उत्पादनमा कमि देखिएको छ। खाद्यन्न बढी उत्पादन हुने जिल्ला कैलाली र कञ्चनपुर हो, ती जिल्लामा पनि अघिल्ला दुई वर्ष लगातारको वर्षापछि आएको बाढीका कारण खाद्यन्न उत्पादनमा कमि आएको हो। साथै, कृषि बालीको उत्पादन क्षेत्र प्रदेशभित्र विविध कारण घट्दै गएको देखिन्छ।’

गत वर्ष खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा ३ दशमलव ९३ प्रतिशत र धान बालीले ढाकेको क्षेत्रफल १ दशमलव ३९ प्रतिशतले गिरावट आएको छ। कोदो १९ दशमलव ७०, आलु १२ दशमलव ८४, भटमासको क्षेत्रफल १ दशमलव ४५ प्रतिशतले बढेको राष्ट्र बैंकको २०७८/७९ को सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययनले देखाएको छ।

सबैभन्दा धेरै दलहन २७ दशमलव ८४ र तेलहनको क्षेत्रफल १७ दशमलव ८२ प्रतिशतले ह्रास आएको अध्ययनले देखाएको छ। तरकारीले ढाकेको क्षेत्रफल भने बढेको छ। आर्थिक वर्ष २०७७/७८ मा तरकारीले ढाकेको क्षेत्रफल ३ दशमलव ४५ प्रतिशतले वृद्धि भएको थियो। गत वर्ष झण्डै दोब्बर अर्थात ७ दशमल ३८ प्रतिशतले तरकारी क्षेत्रले ढाकेको क्षेत्रफल बढेको छ। फलफूल तथा मसलाले ढाकेको क्षेत्रफल ७ दशमलव ६५ प्रतिशतले वृद्धि भएको छ।

बाजुरा, बझाङ, दार्चुला, डडेलधुरा, डोटी जिल्लामा खाद्य तथा अन्न बालीको उत्पादनमा वृद्धि हुँदा अन्य जिल्लाहरुमा उत्पादन घटेको देखिएको छ। आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी बाजुरामा ३१ दशमलव ३७ प्रतिशतले उत्पादन वृद्धि हुँदा कैलालीमा भने २५ दशमलव ६६ प्रतिशतले घटेको छ।

ल्गातारको वर्षापछि आएको बाढीका कारण २०७७ मा खाद्यन्नको उत्पादन झण्डै ४० प्रतिशतले घटेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले बताए। ‘हरेक वर्ष खाद्यन्न उत्पादन तीनदेखि ५ प्रतिशतले उत्पादन बढ्नु र घट्नु स्वभाविक मानिए पनि सो समयमा भने ३१ प्रतिशत खाद्यन्न बाली त पूर्ण रुपमा क्षति नै भएको थियो। 

कैलालीमा मात्र ५ अर्व रुपैयाँ बराबरको क्षति भएको थियो। दुई अर्व राहत माग गरिएको २२ करोड मात्र बजेट प्राप्त भएको थियो। कृषि उत्पादन हुने क्षेत्रमा विभिन्न भौतिक संरचना निर्माण हुनेक्रम बढेसँगै कृषिको क्षेत्रफल घट्दै गएको समेत देखिन्छ।’ कृषि क्षेत्रको विस्तार र उत्पादन बढाउने नाममा संघ, प्रदेश र स्थानीय तहहरुले वर्षेनि करोडौँ रुपैयाँ खर्च गर्दै आएपनि उपलब्धि हुन सकेको छैन्।

राष्ट्रिय कृषि गणना–२०६८ अनुसार कैलालीमा १० वर्षको अवधिमा एक सय २९ हेक्टर कृषियोग्य भूमि मासिएको छ। २०५८ मा कैलालीमा ६ हजार ३७९ हेक्टर खेतीयोग्य जमिन रहेकोमा २०६८ मा घटेर तीन हजार १६४ पुगेको छ भने पाखो जमिनमा भने बृद्धि हुँदै गएको छ। २०५८ मा ११ हजार १२७ हेक्टर पाखो जमिन रहेकोमा २०६८ मा बृद्धि भएर १४ हजार २१४ पुगेको छ। पछिल्लो समय धनगढी, अत्तरिया, टीकापुर, चौमाला, सुख्खड, मसुरिया लगायतका क्षेत्रमा खेतीयोग्य भूमि घरघडेरीमा प्रयोग हुने क्रम बढेपछि कृषि भूमि मासिदै गएको अधिकारीहरु बताउँछन्।
 

कमेन्ट लोड गर्नुस