सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटामा मेडिकल कलेजका ३९ संरचना यो वर्ष सम्पन्न हुँदै, कलेज सञ्चालन कहिले?

२०७९ माघ १३, ०८:५८ नारायण अवस्थी

धनगढीः गेटामा निर्माणाधिन मेडिकल कलेजका ५२ मध्ये ३९ संरचना निर्माणको काम यो वर्ष पूरा हुँदै छ। जसमध्ये २९ संरचना निर्माण कम्पनीले मेडिकल पूर्वाधार विकास समितिलाई हस्तान्तरण गरि सकेको छ। यसैगरी गुरुयोजनाअनुसार बन्नुपर्ने बाँकी १० संरचना २०८० को चैतसम्म सक्ने लक्ष्य मेडिकल पूर्वाधार विकास समितिको छ। अबको एक वर्षभित्र सम्पूर्ण पूर्वाधार विकासको काम सकिने भनिए पनि मेडिकल कलेज सञ्चालन कहिले हुने भन्ने कुरा अझै भविष्यकै गर्भमा छ।

गेटामा मेडिकल कलेज स्थापना गर्न तयार भएको गुरुयोजनामा मेडिकल कलेज निर्माणस्थलमा कुल ५२ वटा संरचना निर्माण हुने उल्लेख छ। गुरुयोजनाअनुसार आर्थिक वर्ष २०८०/०८१ मा मेडिकल कलेजका सम्पूर्ण पूर्वाधार निर्माणको काम सक्ने लक्ष्य छ। आर्थिक वर्ष २०६६/०६७ मा सरकारले गेटामा मेडिकल कलेज निर्माण गर्ने घोषणा गरेको थियो।

घोषणाको ८ वर्षपछि मात्रै २०७४ बैशाखमा आएर मात्रै गेटामा पूर्वाधार विकासको काम थालिएको थियो। अहिलेसम्म गेटा मेडिकल कलेजका २९ संरचनाको काम सकेर निर्माण कम्पनीहरूले मेडिकल पूर्वाधार विकास समितिलाई हस्तान्तरण गरेका छन्। १० वटा संरचना आगामी असारमा सक्ने लक्ष्य रहेको मेडिकल पूर्वाधार विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए।

'अहिलेसम्म २९ वटा संरचना निर्माण सम्पन्न गरेर निर्माण कम्पनीले समितिलाई हस्तान्तरण गरेका छन्,’ उनले भने, 'असारसम्म थप १० संरचनाको काम सकिने छ भने ११ वटाको काम अबको एक वर्षमा सकिने छ।’

गेटा मेडिकल कलेजमा ६ वटा प्याकेजको काम भइरहेको छ। भवनतर्फ नर्सिङ छात्रावास, आवासीय भवन र पर्खाल निर्माणको काम आगामी असारमा सम्पन्न हुनेछ। यस्तै, पहिलो प्याकेजको फर्निचर र विद्युत सव–स्टसनको काम पनि असारमा पूरा हुनेछ। मेडिकल कलेजमा पानी प्रणालीको जडान कार्तिकबाट सुरु भएको छ भने ४ सय जना अटाउने वहुद्देशीय हल, एक÷एक छात्रवास र छात्रावास तथा भिआइपी आवासीय भवनको काम आगामी असोजसम्म पूरा हुने कार्यकारी नर्देशक पुजाराले बताए।

५१ दशमलव ८ हेक्टर क्षेत्रफलमा संरचना निर्माण भइरहेको गेटा मेडिकल कलेज परिसरमा ८ किलोमिटर सडक निर्माण गर्न टेण्डर भएर सम्झौताको चरणमा रहेको छ। आगामी एक वर्षभित्र आन्तरिक सडक कालोपत्र गर्ने, ढल निकास, फुटपाथ, शाखा सडक र सडक बत्ती जडान गर्ने र जमिन सम्याउने काम सकिनेछ। फर्निचरको दोस्रो फेज र फोहर व्यवस्थापन प्लान्ट निर्माणको काम भने सुरु भएको छैन। २०८० को चैतसम्म सम्पूर्ण भौतिक पूर्वाधारको काम पूरा हुने कार्यकारी निर्देशक पुजाराले बताएका छन्।

'गुरूयोजनाअनुसार आर्थिक वर्ष २०८०/०८१ मा गेटामा सबै पूर्वाधारको काम सक्ने लक्ष्य राखिएको थियो,’ उनले भने, ’अहिलेसम्मको अवस्था हेर्दा २०८० को चैतसम्म गुरूयोजनामा उल्लेख ५२ वटै संरचनाको काम पूरा हुनेछ।’

गेटा मेडिकल कलेजको निर्माण थालनी हुँदा शैक्षिक सत्र २०७६/०७७ बाट पठनपाठन सुरू गर्ने लक्ष्य थियो। हरेक वर्ष १०० जना स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कलेज ६ सय शय्याको हुने बताइएको थियो। पूर्वाधार विकासमा ८ अर्ब बढी लागत अनुमान भएको गेटा मेडिकल कलेजको निर्माण र सञ्चालन सुदूरपश्चिमको सपनाको योजना हो। तर, सम्पूर्ण भौतिक पूर्वाधार विकासको काम बढीमा एक वर्षभित्र पूरा हुने भए पनि मेडिकल कलेजमा अस्पताल सञ्चालन र पठनपाठन कहिले र कुन प्रारुपमा गर्ने भन्ने टुङ्गो लागेको छैन।

हरेक चुनावमा सुदूरपश्चिममा राजनीतिक दलका लागि गेटा मेडिकल कलेज भोट माग्ने मुद्दा हुँदै आए पनि मतदान भएको दिनदेखि मेडिकल कलेजको कुरा राजनीतिक वृत्तमा उठ्ने गरेको छैन। गत चैतमा गेटामा अस्पताल सञ्चालन गर्ने संघीय सरकारले निर्णय गरेको भए पनि अस्पतालको निर्देशक तोक्ने र अस्पताल भवन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने बाहेक अन्य कुनै काम हुन सकेको छैन।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस