सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय बाणिज्य बैंक प्रादेशिक कार्यालय धनगढीले मनायो ५८ औं वार्षिकोत्सव 

२०७९ माघ ११, ०९:०३ खबर संवाददाता

धनगढीः राष्ट्रिय बाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव सम्पन्न भएको छ। मङ्गलवार धनगढीमा एक औपचारिक समारोह गरेर बैंकको प्रदेश कार्यालय धनगढी वार्षिकोत्सव सम्पन्न गरेको हो।

वाणिज्य बैंक ऐन, २०२१ अनुसार  देशको आर्थिक तथा व्यापारिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रिय वाणिज्य बैंक सरकारको पूर्ण स्वामित्वमा २०२२ साल माघ १० गते स्थापना भएको थियो।

हाल बैंकको ७ प्रदेशमा प्रदेश कार्यालय र ७७ वटै जिल्लामा २६५ शाखा कार्यालय, ५१ एक्सटेन्सन काउन्टर, २६८ एटिएम र १०२ वटा शाखारहित बैङ्किङ सेवामार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। देशभर बैंकका ५० लाख ग्राहक रहेका छन् भने बैंक कृषि कर्जा, अनुदान कर्जा र विपन्न वर्ग कर्जाका लागि ग्रहकको पहिलो रोजाइमा रहेको बैंकका अधिकारी दीर्घराज ओझाले जानकारी दिए।

कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंकले परम्परागत बैङ्किङका साथै आधुनिक र डिजिटल सेवा जस्तै मोवाइल बैंङ्किङ, एटिएम र इन्टरनेट बैंङ्किङ प्रदान गरिरहेको बताइएको छ।

२०६३ सालमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएर बैंक तथा वित्तिय सस्था ऐन, २०७३ अनुसार सञ्चालन रहेको र चुक्ता पुँजी करिव १६ अर्व रहेको, आर्थिक वर्ष २०७८÷०७९ मा ४ अर्वभन्दा बढी नाफा आर्जन गर्न बैंक सफल रहेको ओझाले बताए।
बैंकले १२ दशमदव ५ प्रतिशत लाभाङ्श घोषणा गर्दै बैंक तथा वित्तिय संस्थामध्ये ग्राहकको हकहित संरक्षण गर्दै सर्वाधिक निक्षेप सुरक्षणकर्ताको स्थान प्राप्त भएको वार्षिकोत्सव कार्यक्रममा बताइएको छ।

२०७९ पुस मसान्तसम्मको तथ्याङ्कअनुसार ग्राहक संख्या ५० लाख, निक्षेप २८२ अर्व, कर्जा २३५ अर्व, नाफा २ अर्व ७२ करोड र खराव कर्जा ३ प्रतिशत रहेको छ।

राष्ट्रिय वाणिज्य बैंकको धनगढीमा सुदूरपश्चिम प्रादेशिक कार्यालय रहेको छ। प्रदेशमा हाल २२ वटा शाखा कार्यालय र १७ वटा एटिएम सञ्चालनमा छन्। राष्ट्रिय बाणिज्य बैंकले सुदूरपश्चिममा तीन वटा शाखा विस्तार गर्ने भएको छ। बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर र कैलालीको सुखडमा नायँ शाखा विस्तार गर्ने योजना रहेको बताइएको छ।

राष्ट्रिय बाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव समारोहको अध्यक्षता प्रादेशिक कार्यालयका निमित्त प्रमुख भोजराज भट्टले गरेका थिए। कार्यक्रममा राष्ट्र बैंक धनगढी प्रदेश कार्यालयका निर्देशक विनोद लेखक रहेका थिए भने विशिष्ट अतिथिमा प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक वासुदेव जोशी, कैलाली उद्योग वाणिज्य संघमा वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, नेपाल पत्रकार महासंघ कैलाली शाखा अध्यक्ष हिमाल जोशी, बैंकर्स क्लव धनगढीका अध्यक्ष मुकुन्द भट्ट, बैंकका पूर्व उपकार्यकारी निर्देशक महेन्द्रप्रसाद अवस्थी रहेका थिए।

कार्यक्रममा वार्षिकोत्सवको अवसरमा आयोजिक विभिन्न खेलकुद प्रतियोगिताका विजेता कर्मचारीहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा बैंकका पूर्वकर्मचारी र ग्राहकहरूसँग अन्तरक्रिया पनि गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, पूर्व कर्मचारी र ग्राहकहरूले प्रभावकारी सेवा विस्तार गर्न विभिन्न सुझावका साथै शुभकामना व्यक्त गरेका थिए।

कमेन्ट लोड गर्नुस