सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब कैलाली बहुमुखी क्याम्पसबाटै वन विज्ञानको पढाई 

२०७९ माघ १०, ०६:२७ नारायण अवस्थी

धनगढीः कैलाली बहुमुखी क्याम्पसमा यो वर्षबाट स्नातक तहमा वन विज्ञानको पढाई हुने भएको छ। सुदूरपश्चिम विश्वविद्यालयले चार वर्षे वन विज्ञान अध्ययन गर्न पाठक्रम निर्माण गरेसँगै कैलाली बहुमुखी क्याम्पसमा यो शैक्षिक सत्रबाट पठनपाठन सुरू हुने भएको हो।

विश्वविद्यालयले तयार गरेको वन विज्ञानको पाठ्यक्रम शिक्षा परीषद् र कार्यकारी परिषद्बाट पारित हुनासाथ कैलाली बहुमुखी क्याम्पसले प्रवेश परीक्षाका लागि सूचना निकाल्ने क्याम्पस प्रमुख प्राध्यापक डाक्टर धर्मराज उपाध्यायले बताए।

'कैलाली बुहुमुखी क्याम्पसले चालु शैक्षिक सत्रबाट स्नातक तहको चार वर्षे वन विज्ञान संकायमा  पठनपाठन सुरू गर्ने तयारी थालेको छ,’ उनले भने, ’निर्माण भएको पाठ्यक्रम विश्वविद्यालयको प्राज्ञिक परिषद् र कार्यकारी परिषद्ले पारित गरेपछि विद्यार्थी भर्ना गर्न सूचना निकाल्छौँ।’

सुदूरपश्चिम विश्वविद्यालयले वन विज्ञान संकायको पाठ्यक्रम तयार गरेसँगै प्राप्त सुझावलाई पनि समेटेर पाठ्यक्रम प्राज्ञिक परिषद् र कार्यकारी परिषदबाट पारित गरिने कृषि संकायका डीन प्राध्यापक लालप्रसाद अम्गाईले बताए।

'विश्वविद्यालयले कोर्ष बनाएको छ, केही परिमार्जित गरेर प्राज्ञिक परिषद् र कार्यकारी परिषदबाट केही दिनभित्र पारित हुनेछ,’ उनले भने, ’यो वर्ष ढाई सञ्चालन गर्न कति विद्यार्थी भर्ना हुन आउँछन्, प्रदेश सरकारको वन मन्त्रालयसँग पनि केही कुरामा छलफल गरेर नयाँ भर्नाको प्रक्रिया अगाडि बढ्ने छ।’

सुदूरपश्चिम विश्विवद्यालयले तयार गरेको वन विज्ञान विषयको पाठ्यक्रम सुदूरपश्चिमको आवश्यकतालाई मध्यनजर गरेर निर्माण गरिएको विज्ञहरूले बताएका छन्। पाठ्यक्रमले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय आवश्यकतालाई हेरेर पाठ्यक्रम बनाइएको विज्ञ टोलीका सदस्य प्राध्यापक ऋदिष पोखरेलले बताए।

'वन विज्ञानको पाठ्यक्रम स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय आवश्यकतालाई मध्यनजर गरेर तयार गरिएको छ,’ उनले भने, ’वन विज्ञान पढेका जनशक्तिले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय मागलाई पूरा गर्नेगरी काम गर्न सक्ने छन् भन्ने कुरालाई ध्यानमा राखेर पाठ्यक्रम बनाइएको छ।’

सुदूरपश्चिम विश्वविद्यालयले तयार गरेको बिएस्सी वन विज्ञान चार वर्षे शैक्षिक कार्यक्रम हुनेछ। विद्यार्थीहरूले स्नातक डिग्री हासिल गर्न आठ सेमेस्टरमा १२६ कार्य घण्टा अध्ययन गर्नुपर्नेछ। चार वर्षे पाठ्यक्रममा स्नातक तह पूरा गर्न आठ सेमेस्टरमा ४३ विषय पढ्नु पर्नेछ। वन विज्ञानको पठनपाठन कैलाली बहुमुखी क्याम्पसबाट गर्ने हिसावले तयारी थालिएको विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर अम्मराज जोशीले बताए।

'पाठ्यक्रम तयार भएको छ, यो वर्ष विद्यार्थी भर्ना गर्ने कुरा क्याम्पसको तयारीमा पनि भर पर्छ,’ उनले भने, ’सबै तयारी पूरा भए पढाई सुरू गर्न सकिन्छ।’

कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्विवद्यालयमा समायोजन हुँदा नै प्राविधिक धारका विषयको पठनपाठन कैलाली बहुमुखी क्याम्पसमा गराउने समझदारी भएको थियो। जुन सहमतिअनुसार यो वर्ष वन विज्ञान र क्रमशः जियोम्याट्रिक र आर्किटेक्ट इन्जिनियरिङ विषयको पढाई  हुनेछ। वन विज्ञानको पढाई यो वर्षबाटै सुरू गर्न आवश्यक तयारी थालिएको र विश्वविद्यालयले पाठ्यक्रम पारित गर्ना साथ एक हप्ताभित्रै प्रवेश परीक्षाका लागि सूचना गर्ने तयारी क्याम्पसले गरेको क्याम्पस प्रमुख प्राध्यापक डाक्टर धर्मराज उपाध्यायले बताए।

वन विज्ञान अध्ययन गर्न चाहने विद्यार्थीले विज्ञान विषय लिएर १२ कक्षा पास भएको हुनुपर्ने प्रस्ताव गरिएको छ तर यो विषयमा थप छलफल गरेर टुङ्गोमा पुग्ने बताइएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस