सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘मुख्यमन्त्री रावललाई विश्वासको मत नदिन पनि सक्छौ,’ नागरिक उन्मुक्ति

२०७९ माघ १०, १२:४४ कमल सावद

धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिँह रावल काठमाण्डौँमा छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), एमाले अध्यक्ष केपी शर्मा ओलीलगाएतका नेताहरुसँग उनी भेटघाट तथा छलफलमा छन्। विश्वासको मत माग्न उनी काठमाण्डौँ गएका हुन्।

मुख्यमन्त्री रावललाई प्रदेशमा निर्णायक शक्तिका रुपमा रहेको नागरिक उन्मुक्तिले मत नदिने डर छ। उनी निकट स्रोतका अनुसार मंगलवार पनि उनी राजनीतिक भेटभाटमा छन्। नागरिक उन्मुक्ति पार्टीसँग निर्णायक वार्ता भएको छैन्। रेशम चौधरीको रिहा नागरिक उन्मुक्तिको पहिलो शर्त छ। ‘रेशमसँग भेट भएको छैन। नागरिक उन्मुक्तिका केही साथीहरु आउनु भएको थियो। उहाँहरुसँग छलफल भएको छ। निर्णय भने भएको छैन,’ मुख्यमन्त्री निकट स्रोतले दिनेशखबरसँग भन्यो। आफ्नो पार्टीका संरक्षक रेशम चौधरी रिहा नहुँदासम्म विश्वासको मत नदिने अडान नागरिक उन्मुक्तिको छ। नागरिक उन्मुक्ति पार्टीका सांसद तथा नेताहरु सोमवार बालकोट र बालुवाटार पुगेका थिए। उनीहरु रेशम चौधरीको रिहा हुने विषयमा अझै विश्वस्त छैनन्। नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीले नेताहरुको कुरामा विश्वास नभएको बताए। उनले सुदूरपश्चिमका मुख्यमन्त्री रावललाई विश्वासको मत दिने/नदिने विषयमा निर्णय नभएको बताए। उनले भने, ‘हामीले छलफल गरेका हौ। हाम्रो मुख्य मुद्दा भनेको रेशमको रिहा हो। त्यो भएन भने, हामी विश्वासको मत नदिन पनि सक्छौ।’ सुदूरपश्चिमका सांसद तथा नेताहरुको टोलीले शनिवार साँझ बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई र सोमवार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेको थियो। एमाले अध्यक्ष ओलीले नागरिक उन्मुक्तिका सांसद तथा नेताहरूलाई १५ दिनदेखि ३ महिनासम्ममा रेशम रिहा हुनेमा आश्वस्त रहन भनेका थिए।

तर नागरिक उन्मुक्तिका नेताहरु भने विश्वस्त छैनन्। सरकारको तर्फबाट रेशम चौधरीसँग आधिकारिक धारणा राखेपछि मात्रै सुदूरपश्चिम प्रदेशमा गठबन्धनलाई विश्वासको मत दिने रेशमको योजना रहेको संसदीय दलका नेता रामेश्वर चौधरीले बताए। सुदूरपश्चिममा पुस २७ गते एमाले संसदीय दलका नेता राजेन्द्र रावल मुख्यमन्त्री नियुक्त भएका थिए। माघ २७ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ। प्रदेशमा मुख्यमन्त्री रावललगायत मन्त्री खगराज भट्ट र एमाले अछामका इन्चार्ज तथा पूर्व प्रदेशमन्त्री झपट बोहरा पनि बालकोट र बालुवाटार बैठकमा सहभागी भएका थिए।

प्रदेशका पूर्व मन्त्री बोहराले सुदूरपश्चिमका मुख्यमन्त्री रावलले रेशम चौधरीसँग पनि भेटघाट तथा छलफल गर्नेछन्। मंगलवार दिउसो २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि मुख्यमन्त्री रावलले चौधरीसँग भेट गर्नेछन्। सुदूरपश्चिममा एमालेका १० प्रदेश सभा सदस्यसहित माओवादीका ११, नागरिक उन्मुक्ति ७ र राप्रपाका एक जनाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। बहुमतका लागि २७ प्रदेश सभा सदस्यको मत आवश्यक हुन्छ। नागरिक उन्मुक्तिले विश्वासको मत नदिए सरकार अल्पमतमा पर्ने देखिएपछि अहिले एमाले र माओवादीका नेताहरु नागरिक उन्मुक्तिको माग सम्बोधन गराउन काठमाण्डौँमा छन्।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस