सुदूर नेपाललाई विश्वसँग जोड्दै

दीपेन्द्र स्वाँर स्मृति कप क्रिकेट : सरस्वती र त्रिभुवन विजयी

२०७९ माघ १०, १०:५८

धनगढीः  धनगढीमा जारी दीपेन्द्र स्वाँर स्मृति (डीसीए) कप इन्टर स्कुल क्रिकेट प्रतियोगितामा सोमवारका खेलमा सरस्वती र त्रिभुवन विजयी भएका छन्। सोमवार बिहान भएको खेलमा सरस्वतीले शारदा विद्या निकेतनलाई ३६ रनले पराजित गरेको थियो। टस जितेर पहिले ब्याटिङ गरेको सरस्वतीले अन्तिम बल बाँकी रहँदा सबै विकेट गुमाएर एक सय २१ रन बनाएको थियो। 

सरस्वतीका लागि मुस्कान विष्टले २४ बलमा ५ चौकासहित २५ रन जोडे। यस्तै खेम बोहराले ४० बलमा २ चौकासहित २३ तथा जगदीश भट्टले १४ बलमा ४ चौकासहित २१ रन थपे। बलिङतर्फ शारदाका भुपेश भट्टले २ ओभरमा ३ तथा अनिश अवस्थी र खेम बोहराले २–२ विकेट लिए। 

जवाफी ब्याटिङमा उत्रिएको शारदाले १६ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ८५ रनमात्रै बनाउँन सक्यो। उसका आकाश विष्टले १८, आयुष महराले १३ र नविन महताले ८ रन जोडे। बलिङतर्फ नरेन्द्र महराले ३ तथा रमेश महता तथा नबिन महताले २–२ विकेट लिए। खेलको प्लेयर अफ द म्याच सरस्वतीका खेम बोहरा चुनिए।

दिउँसोको दोस्रो खेलमा त्रिभुवनले थ्रीस्टर बोर्डिङ स्कुललाई ४ रनले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको त्रिभुवनले १५ दशमलव ३ ओभरमा ९ विकेट गुमाएर  एक सय ११ रन बनाएको थियो।  उसका कुशल बोगटीले ३६ बलमा ५ चौकासहित ३६, विनय जोशीले १२ र सुशील भाटले १४ रन जोडे। बलिङमा थ्रीस्टारका विनय जोशी र सुशील भाटले ३–३ विकेट लिए। 

जवाफी ब्याटिङमा उत्रिएको थ्रीस्टारले १७ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १०७ रनमात्रै बनाउँन सक्यो। उसका सचिन कुमार नेगीले १३, अरुण कठरियाले ११ तथा रोशन रावलले १० रन बनाए। बलिङतर्फ शम्शेर खड्काले ३ तथा किरण शाहु, सचिन कुमार नेगीले २–२ विकेट लिए। खेलको प्लेयर अफ द म्याच त्रिभुवन माविका सुशील भाट चुनिए।

प्रतियोगितामा मंगलवार पहिलो खेल एभीन र कैलाली मोडल तथा दोस्रो खेल वात्सल्य मावि र लिटल फ्लावरबीच हुनेछ।

माघ १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार पाउनेछ। प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्टले ५ हजार नगदसहित डीसीएमा चार महिनाको छात्रवृत्ति पाउनेछन्। आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसीए)का व्यवस्थापक समुयल न्यौपानेले वेस्ट बलर र बेस्ट ब्याटरले ३–३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाउने बताए। डीसीएका पूर्व खेलाडी समेत रहेका दीपेन्द्र स्वारको सडक दुर्घटनामा मृत्यु भएको थियो। उनको सम्झनामा परिवारले हरेक वर्ष क्रिकेट प्रतियोगिता गर्दै आएका छन्। 

प्रतियोगितालाई एसपीए कलेज, गुरुकुल एकेडेमी, गुरुजी सपिङ एण्ट सुटिङ, सिभिल बैंक, नवजीवन हस्पिटल तथा सौराई स्क्वायरले प्रायोजन गरेर सहयोग गरेका छन्। 

कमेन्ट लोड गर्नुस