सुदूर नेपाललाई विश्वसँग जोड्दै

लालझाडी–मोहना संरक्षित वनमा प्राकृतिक रुपमै पुनरुत्पादन बढ्दो

कञ्चनपुरमा लोपोन्मुख वनस्पति

२०७९ माघ ९, १०:१९ नारायण अवस्थी

धनगढीः कञ्चनपुरको लालझाडी–मोहना संरक्षित वनमा लोपोन्मुख प्रजातिका विरुवा फस्टाउन थालेका छन्। जिल्लाको दक्षिणी भेगमा रहेको वन क्षेत्रमा लोपोन्मुख प्रजातिका वनस्पति विजयसाल, बर्रो र राजवृक्षको पुनरुत्पादन फस्टाउदै गएको हो। सामुदायिक, संरक्षित र राष्ट्रिय वन क्षेत्रमा विजयसाल, राजवृक्ष, बर्रो र सालको प्राकृतिक पुनरुत्पादन सघन रुपमा भइरहेको वन अधिकारीले बताएका छन्।

वन क्षेत्रमा लोपोन्मुख प्रजातिको विरुवा हुर्किन थालेपछि वन अधिकारी र सामुदायिक वनका उपभोक्ता उत्साहित भएका छन्।जिल्लाको पुनर्वास र कृष्णपुर नगरपालिका तथा लालझाडी गाउँपालिका क्षेत्रको वनमा लोपोन्मुख प्रजातिका वनस्पति विजयसाल, बर्रो, राजवृक्ष र सालको प्राकृतिक पुनरुत्पादन सघन रुपमा बढेको कुण्डा सव–डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत दिनेशकुमार यादवले बताए। यहाँको संरक्षित, सामुदायिक र राष्ट्रिय वन क्षेत्रमा लोपोन्मुख प्रजातिका वनस्पति बढ्न थालेका छन्,’ उनले भने, ‘यहाँको भीम, मधु र सिद्धदेवी महिला सामुदायिक वनमा लोपोन्मुख अवस्थामा पुगेका वनस्पतिको क्षेत्र विस्तार भइरहेको छ, जुन हाम्रा लागि खुसीको कुरा हो।’

वन अधिकारी मात्र होइन वन संरक्षणमा अग्रसर रहेका पुनर्वासका वन उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ता पनि उत्साहित भएका छन्। आफ्नो सामुदायिक वनको करिव चार हेक्टर वन क्षेत्रमा साढे पाँच सयभन्दा बढी विजयसालको विरुवा हुर्किन लागेको देख्दा आफूहरू निकै खुसी भएको पुनर्वास–१० को भीम सामुदायिक वनका अध्यक्ष  प्रेमबहादुर थापाले बताए।

‘हाम्रो सामुदायिक वनमा करिव चार हेक्टर वन क्षेत्रमा विजयसालका साढे पाँच सयभन्दा बढी विरूवा छन्,’ उनले भने, ’लोपोन्मुख विरुवा बढेको देख्दा हामी निकै खुसी छौँ र संरक्षणमा पनि जुटेका छौँ।’ लालझाडी वन क्षेत्रको सामुदायिक वन र राष्ट्रिय वनमा लोपोन्मुख प्रजातिका विरुवा आफैँ बढ्नु सुखद विषय भएको वन अधिकारीले बताएका छन्।

कञ्चनपुरको लालझाडी वन क्षेत्रमा चरीचरन नियन्त्रण गरेपछि लोपोन्मुख प्रजातिका वनस्पतिको पुनरुत्पादन बढेको हो। लालझाडी वन क्षेत्रमा ७÷८ वर्षदेखि विरुवाको आफै पुनरुत्पादन भइरहेको छ। पुनर्वास, लालझाडी र कृष्णपुर नगरपालिका क्षेत्रमा फैलिएको लालझाडी वन क्षेत्रमा विजयसालको पुनरुत्पादनको क्षेत्र विस्तार भइरहेको छ।

 

यस्तै, वन क्षेत्रमा औषधीय गुण भएका अन्य वनस्पति हर्रो, बर्रो, खयर, राजवृक्ष, अमला र सालकै पुनरुत्पादन भइरहेको छ। विजयसालजस्तै अन्य लोपोन्मुख र महत्वपूर्ण ठानिएका वनस्पतिको संरक्षण गर्न वन अधिकारी र स्थानीय उपभोक्ताले विभिन्न काम गरिरहेका छन्। वनस्पतिको उपयोगिताबारे स्थानीयलाई थाहा दिन जनचेतना बढाउने काम पनि भइरहेको छ भने वन क्षेत्रमा चरीचरन पूर्ण रुपमा बन्द गरिएको छ।

लोपोन्मुख प्रजातिका वनस्पति देखा परेको क्षेत्रलाई संरिक्षत क्षेत्र घोषणा गरेर वनस्पति हुर्काउने र क्षेत्र विस्तार गर्ने काम भइरहेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख वन अधिकृत शम्भुप्रसाद तिवारीले बताए। ‘लालझाडी क्षेत्रमा कृष्णपुरसम्म विभिन्न वनमा लोपोन्मुख प्रजातिका वनस्पतिको पुनरुत्पादन प्राकृतिक रुपमै भइरहेको छ,’ उनले भने, ‘कुण्डा सव–डिभिवज वन कार्यालय र स्थानीयको प्रयासले लोपोन्मुख वनस्पतिको संरक्षण र क्षेत्र विस्तार भइरहेको छ, त्यस्ता क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा पनि गर्ने गरिएको छ।’
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस