सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेरिदैँ कैलाली, लगानीकर्ताको आकर्षण धनगढीतिर

२०७९ माघ ८, ०७:१७ खबर संवाददाता

धनगढीः १८ वर्षअघिसम्म कञ्चनपुर सुदूरपश्चिमको केन्द्रमा थियो। कञ्चनपुरमा होटल, उद्योग, व्यवसाय, स्कुल, कलेज खोल्न प्रतिस्पर्धा थियो। तर १८ वर्षभित्र समय फेरियो, व्यवसायीको आँखा कञ्चनपुर होइन, सुदूरपश्चिमकै अर्को जिल्ला कैलालीमा पर्यो।

यो अवधिमा कैलालीको कायापलट भयो। कञ्चनपुर एकाएक सुक्यो। अहिले कैलाली यसरी चम्किएको छ। र, लगानीकर्ताको पहिलो रोजाई बनेको छ। स्कुल, कलेज, होटेलदेखि उद्योग कलकारखाना र व्यापार व्यवसायमा लगानी गर्ने कैलालीमा ओइरिएका छन्। कैलाली व्यवसायिक ‘हब’ बनेको छ। यहाँको निजी क्षेत्रका अनुसार अहिले जिल्लामा चार दर्जन भन्दा बढी उद्योग सञ्चालनमा छन्।

पाँच करोडमाथिका ४९ उद्योग सञ्चालनमा छन्। साना उद्योगको गणना नै भएको छैन। कञ्चनपुरमा भने ५ करोड बढी लगानीका १८ वटा उद्योग मात्रै छन्। पछिल्लो समय लगानीकर्ताको आकर्षण भने धनगढीतिर बढेको पाइएको छ। पछिल्लो कृषि गणनाअनुसार कैलालीमा २ लाख ४० हजार खसी/बाख्रा थिए भने कञ्चनपुरमा १ लाख १५ हजार मात्रै खसी/बाख्रा थिए। यी सबै तथ्यांकले कैलाली कञ्चनपुरभन्दा धेरै अघि बढेको देखाउँछ।

कैलालीमा सेवा क्षेत्रमा होटल क्षेत्रले ठूलो फड्को मारेको छ। होटलसँगै औद्योगिक क्षेत्रका लागि समेत लगानीको गन्तव्य कैलाली बनेको छ। सुदूरपश्चिमको राजधानीको रुपमा विकास भएको कैलालीले काठमाडौंको जस्तै जीवनशैलीलाई अपनाउन थालेको छ। जीवनस्तर उकासिएपछि सवारी साधनको राजधानी नै बनेको छ कैलाली। 

२०३३ सालमा धनगढी नगरपालिकामा स्तरोन्नति भएको थियो।  २०७२/६/१ गतेदेखि धनगढी नगरपालिकाको स्तरोन्नति भई धनगढी उपमहानगरपालिका हुन गएको हो। यो समुद्री सतहदेखि १०९ मिटरको उचाइँमा काठमाडौँदेखि ७५० किलोमिटरको दूरीमा रहेको छ। धनगढी उपमहानगरपालिकामा १९ वडा छन्। यो २६१.७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क अनुसार धनगढी उपमहानगरपालिकाको जम्मा घरधुरी संख्या ३२ हजार २४९ र जम्मा परिवार संख्या ४६ हजार ६७० रहेको छ भने प्रारम्भिक जनसंख्या दुई लाख चार हजार ७८८ छ। धनगढीलाई कैलालीको सदरमुकाम मात्रै नभएर सुदूरपश्चिमकै आर्थिक राजधानी पनि मानिन्छ। धनगढीमा एक दर्जनको हाराहारीमा ठुला होटेल सञ्चालनमा छन्। धनगढीमा संघीय राजधानीमा बिक्री हुने सबै मोटरको शोरुम स्थापना भइसकेका छन्। प्रायः सबै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय धनगढीमा खुलेर वित्तीय सेवा दिइरहेका छन्।
 

कमेन्ट लोड गर्नुस