सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा स्थायी राजधानी कार्यान्वयन भएन, दबाब बढाउँदै अत्तरियाको निजी क्षेत्र

२०७९ माघ ८, १२:५६ कमल सावद

धनगढीः २०७५ असोज १२ गते सुदूरपश्चिम प्रदेश सरकारले स्थायी राजधानी गोदावरीमा राख्ने निर्णय ग¥यो। गोदावरी नगरपालिकाको वडा नम्बर २ र ४ स्थित तेघरीमा स्थायी राजधानी निर्माणको विषय चार वर्षदेखि अलपत्र छ। प्रदेश सभा स्थापनाको पाँच वर्ष पूरा भइसक्दा समेत स्थायी राजधानी निर्माणले कुनै गति लिन सकेको छैन्।

तेघरीका स्थानीय रामबहादुर साउँदले स्थायी राजधानीका संरचना निर्माणमा बेवास्ता गरिएको बताए। उनले भने, ‘धेरै समय भइसक्यो राजधानी बन्नुपर्ने हो। कार्यालयहरु पनि निर्माण हुनुपर्ने हो। तर अहिलेसम्म केही पनि भएको छैन्। राजधानी भन्छन, तर अहिलेसम्म कार्यान्वयन भएको छैन।’ प्रदेशसभा स्थापनाको पाँच वर्षेसम्म गोदावरीमा राजधानीका लागि भौतिक संरचना निर्माणको सामान्य प्रक्रिया समेत सुरु भएको छैन्।स्थायी राजधानीका नाममा प्रदेश सरकारले हरेक वर्ष बजेट विनियोजन गर्दै आएपनि कार्यान्वयन हुन सकेको छैन्।

तेघरी क्षेत्रका स्थानीयले राजधानीको निर्णय कार्यान्वयन नभएको भन्दै प्रदेश सरकारको आलोचना समेत गर्दै आएका छन्। गोदावरीका स्थानीय डबल भुलले संघीय सरकारको कमजोरीका कारण राजधानीका संरचना निर्माण नभएको बताए। उनले भने, ‘सुदूरपश्चिमका मान्यज्यूहरुको कमजोरी रह्यो।

राजधानीको हल्ला मात्र छ। कुनै काम भएको छैन्। राजधानी नबन्नु संघीय सरकारको पनि कमजोरी छ। संघीय सांसदहरुले पहल गरेनन्।’ अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले पाँच वर्षसम्म राजधानीको निर्णय कार्यान्वयन नभएको भन्दै प्रदेश सरकारको आलोचना गरेका छन्। उनले प्रदेशको स्थायी राजधानी निर्माण स्थलमा बोर्डसमेत नराखिएको गुनासो गरे।

स्थायी राजधानी कार्यान्वयनका लागि स्थानीयस्तरबाट दबाब दिने कामको सुरुवात भएको उनले बताए। उनले भने, ‘महोत्सवमा यसका लागि हस्ताक्षर अभियान नै सञ्चालन गरेका छौ। हामी थप आन्दोलनका कार्यक्रम गर्ने योजनामा पनि छौ।’ पाँच वर्षसम्म प्रदेश राजधानी निर्माणसस्थलमा कुनै काम नभए पनि अब भने सरकारले काम थाल्नुपर्ने गोदावरीका स्थानीयको माग छ।

सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टले संघीय सरकारले जमिनको भोगाधिकार नदिएकाले कार्यान्वयनमा समस्या भएको बताउदै आएका छन्। उनले प्रदेशको स्थायी राजधानी निर्माण गर्न जग्गाको भोगाधिकारका लागि पटक–पटक पहल गरेपनि काम हुन नसकेको दाबी गरे।
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस