सुदूर नेपाललाई विश्वसँग जोड्दै

ग्यास डिलर्स एसोसिएसनको दोस्रो साधारण सभा सम्पन्न 

२०७९ माघ ७, ०८:३७ खबर संवाददाता

धनगढीः ग्यास डिलर्स एसोसिएसनको दोस्रो साधारण सभा सम्पन्न भएको छ। शनिवार धनगढीमा नयाँ कार्यसमिति चयन गर्दै साधारण सभा सम्पन्न भएको हो।

ग्यास डिलर्स एसोसिएसनका संयोजक छविराज भट्टको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथि कैलाली  उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर र विशिष्ट अतिथिमा धनगढी उपमहानगरपालिकाका वडा नम्बर २, ३ र ४ का अध्यक्ष धर्मराज ओझा, राजबहादुर ऐर, बुद्धिबहादुर खड्का र वाणिज्य, आपूर्ति र उपभोक्ता हित संरक्षण कार्यालयका प्रतिनिधि लिलाधर जोशी रहेका थिए।

साधारण सभाको उद्घाटन सत्रमा एसोसिएसनका वरिष्ठ सल्लाहकार गणेश भण्डारीले स्वागत मन्तव्य राखेका थिए। उनले ग्याँस बिक्रेताहरूले सुरक्षाका मापदण्ड अपनाएर व्यवसाय गर्न पाउनुपर्ने र सरकारी पक्षबाट अनावश्यक सास्ती दिने काम हुन नहुने बताए।
कानूनको अधिनमा रहेर व्यवसाय गर्न सबै ग्यास बिक्रेता प्रतिबद्ध रहेको भण्डारीले बताए।

वडा अध्यक्षहरूले सुरक्षाका मापदण्ड पूरा गरेर व्यवसाय गर्न आग्रह गरेका थिए भने वाणिज्य कार्यालयका प्रतिनिधि जोशील वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयले व्यवसायी र उपभोक्ताको हितलाई ध्यानमा राखेर काम गर्दै आएको बताए।
कार्यक्रमका प्रमुख अतिथि कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले ग्याँस बिक्रेता व्यवसायीको हकहितका लागि कैलाली उद्योग वाणिज्य संघ सदैव हातेमालो गर्न तयार रहेको बताए।

साधारण सभाले आगामी पाँच वर्षका लागि छविराज भट्टको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिमा उपाध्यक्षमा दिपेन्द्र शाही, सचिवमा शमशेर स्वाँर, सचिवमा अक्कल बिष्ट, कोषाध्यक्षमा कैलाश चन्द र सदस्यमा क्रमशः धनबहादुर बिक,कलावती ऐर, गोविन्द कार्की, भिमलाल न्युरे, शिवलाल अर्याल र चक्र देउवा सर्वसम्मत चयन भएका छन्।

साधारण सभाबाट संस्थाको नाम परिवर्तन गरेर ग्याँस बिक्रेता संघ राख्ने र कार्यसमितिको पदावधि ५ वर्षको हुने निर्णय पारित गरिएको छ। यस्तै, सभाबाट संस्थाको बिधान संशोधन गर्ने निर्णय र ग्यास बिक्री गर्दै आएका व्यवसायीलाई संस्थाको सदस्यता वितरण गर्ने निर्णय भएको अध्यक्ष भट्टले बताए।

कमेन्ट लोड गर्नुस