सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि विकास बैंकको ५६ औं वार्षिकोत्सव सम्पन्न 

२०७९ माघ ७, ०७:२९ खबर संवाददाता

धनगढीः कृषि विकास बैंकको ५६ औं वार्षिकोत्सव  सम्पन्न भएको छ। शनिवार कृषि विकास बैंक, प्रदेश कार्यालय धनगढीमा वार्षिकोत्सव समारोह सम्पन्न भएको हो।

बैंकको प्रदेश कार्यालयले आयोजना गरेको वार्षिकोत्सव समारोहमा कृषि विकास बैंकले ५६ वर्षदेखि नागरिकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको बारे कार्यक्रममा उपस्थित अतिथिहरूले चर्चा गरेका थिए।

प्रदेश निर्देशक योगेन्द्रबहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक चुडामणि तिम्सिना प्रमुख अतिथि रहेका थिए भने प्राध्यापक डाक्टर धर्मराज उपाध्याय, बैंकका पूर्व उपमहानिर्देशकहरू सागर जोशी, दिलिपसिंह थापा, पूर्व विभागीय प्रमुख दिलबहादुर कठायत र नेत्रबहादुर चन्द र पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी र नवजीवन सहकारीका महाप्रबन्धक डम्बरसिंह गुरु विशिष्ट अतिथि रहेका थिए।वार्षिकोत्सव कार्यक्रममा बैंकका शाखा प्रमुख, पूर्व कर्मचारी र हाल कार्यरत रहेका कर्मचारीको उपस्थिति रहेको थियो।

वार्षिकोत्सव कार्यक्रममा वरिष्ठ शाखा प्रमुख प्रदीप जोशीले स्वागत मन्तव्य राखेका थिए भने वित्तीय कर्मचारी संगठन नेपालका प्रदेश संयोजक नरेश अवस्थी, नेपाल वित्तीय संस्था कर्मचारी संघका प्रदेश अध्यक्ष नारद बोगटीले कृषि विकास बैंकमा कार्यरत कर्मचारी जनतालाई सेवा दिन सदैव तत्पर रहेको र आगामी दिनमा पनि  ग्राहक सन्तुष्ट हुने गरि सेवा प्रवाहलाई सहज बनाउन तयार रहेको बताए।

कार्यक्रममा प्रवन्धकका तर्फबाट वरिष्ठ शाखा प्रबन्धक गोविन्दप्रसाद जोशीले कृषि विकास बैंकले कोरोना महामारीको समयमा पनि डिजिटल बैंङ्किङमार्फत सेवा दिएको बताउँदै आगामी दिनमा पनि आफ्ना ग्राहकलाई गुणस्तरीय र भरपर्दो सेवा दिन बैंकका कर्मचारी सक्षम रहेको बताए।

विशिष्ट अतिथि एवं कैलाली बहुमुखी क्याम्पसका प्रमुख प्राध्यापक डाक्टर धर्मराज उपाध्यायले गरिबी निवारणमा कृषि विकास बैंकले महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले भरपर्दो  रोजगारी दिने संस्थाको रुपमा कृषि विकास बैंक देखा परेको चर्चा गर्दै बैंकको व्यवस्थापनका कारण ग्राहकहरूको आकर्षण कायम रहेको बताए।

'कृषि विकास बैंकले नीतिगत सुधार गरेर  सर्वसाधारणको पहिलो रोजाईको बैंकको रुपमा आफ्नो पहिचान स्थापित गर्न सक्नुपर्छ,' उनले भने, 'नयाँ परिस्थिति र चुनौतीको सामना गर्दै सरकारी संस्था एक नम्बरमा आउनुपर्ने हुन्छ।'
कार्यक्रममा पूर्व उपमहाप्रबन्धक सागर जोशी र पूर्व विभागीय प्रमुख दिलबहादुर कठायतले बैंकको हालसम्मको यात्राबारे चर्चा गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि तिम्सिनाले आफू पनि बैंकको पूर्व कर्मचारी रहेको उल्लेख गर्दै बैंकले बैङ्किङ बजारको अध्ययन गरेर प्रतिस्पर्धामा उत्रेर प्रभावकारी सेवा प्रदान गर्दै आएको चर्चा गरेका थिए।

'कृषि विकास बैंकले सर्वसाधारणलाई विश्वसनीय सेवा प्रदान गर्दै आएको छ,' उनले भने, 'बैंक, ग्राहक र कर्मचारीको हितका लागि सामूहिक प्रयासबाट संस्थालाई प्रतिस्पर्धात्मक बजारमा सफल बानाउनु पर्छ।'

कार्यक्रममा अध्यक्ष एवं प्रदेश निर्देशक योगेन्द्रबहादुर सिंहले कृषि विकास बैंकलाई सबैको पहिलो रोजाईको बैंक बनाउन सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउँदै बैंक सेवा प्रवाहमा सक्षम र विश्वसनीय रहेको दाबी गरे।

वार्षिकोत्सवमा कर्मचारी सम्मानित

कृषि विकास बैंकको ५६ औं वार्षिकोत्सवमा बैंकमा २० र २५ वर्षसम्म सेवा गरेका कर्मचारीलाई सम्मान गरिएको थियो। बैंकमा २० वर्ष सेवा गरेका नवलबहादुर मल्ल, नरबहादुर देउवा, दानबहादुर चन्द र वीरेन्द्र विष्टलाई पदक र प्रमाणपत्रसहित सम्मान गरिएको थियो। यस्तै, २५ वर्ष सेवा अवधि पुगेका जगदीश पन्त, मानबहादुर सिंह, लालबहादुर कठायत, करनबहादुर महरा, लायकराम चौधरी, नरेश सुवेदी र खगराज जोशी सम्मानित भएका थिए।

 

कमेन्ट लोड गर्नुस