सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको कृष्णपुरमा सिकलसेल र थाइलेसिमियाका विरामीका लागि स्वास्थ्य प्याकेज ल्याइने

२०७९ माघ ५, ०५:४५ खबर संवाददाता

धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सिकलसेल एनिमिया र थाइलेसिमियाका विरामीका लागि विशेष स्वास्थ्य प्याकेज ल्याउने भएको छ। नगरप्रमुख हेमराज ओझाले कृष्णपुर थारु समुदायको बाहुल्य भएकाले सिकलसेल एनिमिया तथा थाइलेसिमियाका विरामीका लागि विशेष स्वास्थ्य प्याकेज ल्याउने बताएका हुन्।

बिहिवार नगरपालिकाको वडा न ६ मा सिकलसेल एनिमिया तथा थाइलेसिमियाको परीक्षण रिपोर्ट वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख ओझाले थारू समुदायमा देखिने रोगको निदानका लागि विशेष स्वास्थ्य प्याकेज ल्याउने भएका हुन्। कृष्णपुर नगरपालिकाको कुल जनसंख्याको ३७ प्रतिशत जनसंख्या थारु समुदायको छ। थारू समुदायमा सिकलसेल एनिमिया तथा थाइलेसिमियाको समस्या अधिक देखिएकाले थारु समुदायको अस्तित्व नै संकटमा पर्ने हुँदा आफू यसबारे चिन्तित रहेको नगरप्रमुख ओझाले बताएका छन्।

 
नगरप्रमुख ओझाले आफू सिकलसेल एनिमिया तथा थाइलेसिमियाको समस्याबारे जानकार रहेकाले छिट्टै सिकलसेल एनिमिया तथा थाइलेसिमिया सम्बन्धि नगरपालिकामा छुट्टै युनिट खडा गरेर काम गर्ने बताएका छन्।

'यस क्षेत्रका भूमिपुत्रहरूलाई जोगाउनु हामी सबैको दायित्व हो,’ उनले भने, 'थारू समुदायमा विकराल समस्याको रुपमा देखिएका रोग निराकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्छ, कृष्णपुर नगरपालिका सिकलसेल एनिमिया तथा थाइलेसिमिया रोग निदान र नियन्त्रण गर्न प्रतिवद्ध भएर लाग्ने छ।’

पश्चिम तराईमा थारु समुदायमा मात्र देखा परेको सिकलसेल एनिमिया रोग लागेपछि शरीरमा रगतको मात्रा कम हुँदै विरामीको अकालमै मृत्यु हुने जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका फोकल पर्सन सिद्धराज भट्टले बताए। भट्टका अनुसार सिकलसेल एनिमियामा ट्रायट र डिजिज दुई प्रकार हुन्छ। ट्रायट भन्नाले रोगका सामान्य लक्षण देखिएको र डिजिज भन्नाले रोगले च्यापिसकेको र अनिवार्य उपचार गर्नुपर्ने भनेर बुझ्नुपर्ने हुन्छ।

फोकल पर्सन भट्टले यो वंशाणुगत रोग भएकाले सिकलसेल एनिमिया तथा थाइलेसिमियाको ट्रायट फेज देखिए विवाह गर्ने उमेर भएका युवायुवतीले ट्रायट(लक्षण) नभएकासँग विवाह गर्दा यो रोग निराकरण हुन्छ। त्यसैले विवाहपूर्व अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने भट्टले बताए।

गत कार्तिकमा कृष्णपुर नगरपालिकाको वडा न छ ६ मा सिकलसेल एनिमिया तथा थाइलेसिमिया रोग सम्बन्धि शिवर सञ्चालन भएको थियो। उक्त शिविरमा ४०१ जना व्यक्तिको रगत परीक्षण गर्दा ७२ जनामा सिकलसेल एनिमिया तथा थाइलेसिमियाका लक्षण देखिएको कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतनसिंह बिष्टले बताए।

यस्तै,कृष्णपुर नगरपालिका वडा न ६ का अध्यक्ष बाबुराम चौधरीले आफ्नो समुदाय सिकलसेल एनिमिया तथा थाइलेसिमिया रोगबाट प्रताडित रहेको भन्दै सरोकारवाला सबैको ध्यान यसको नियन्त्रणमा जानुपर्ने बताए।
 

कमेन्ट लोड गर्नुस