सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भोलिदेखि दीपेन्द्र स्वाँर स्मृति डीसीए कप क्रिकेट हुने

२०७९ माघ ४, १०:१५

धनगढी : धनगढीमा भोलिदेखि दीपेन्द्र स्वाँर स्मृति डीपीए कप क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ। धनगढी क्रिकेट एकेडेमी (डीसीए)को आयोजनामा दीपेन्द्र स्वाँर स्मृति स्कुल क्रिकेट प्रतियोगिता हुने भएको हो। 

धनगढीको फाप्ला क्रिकेट मैदानमा यहीँ माघ ५ गते (बिहीवार)बाट उक्त प्रतियोगिता सुरु हुने भएको आयोजकले बताएको छ। प्रतियोगितामा २० वटा विद्यालयको सहभागिता रहने छ। माघ ५ देखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता टी–२० स्वरुपमा हुने प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार पुरस्कार पाउनेछ। प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टले ५ हजार नगदसहित डीसीएमा ४ महिनाको छात्रवृत्ति पाउने डिसीएका व्यवस्थापक समुयल न्यौपानेले बताए। वेस्ट बलर र वेस्ट ब्याटरले ३–३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाउनेछन्। 

डीसीएका पूर्व खेलाडी  दीपेन्द्र स्वाँरको सडक दुर्घटनामा निधन भएको थियो। आफ्नो छोराको स्मृतिमा परिवारले हरेक वर्ष  क्रिकेट प्रतियोगिता गर्दै आएको छ। ‘मेरो छोराको पनि खेलप्रति ठुलो रुचि थियो। खेलले अनुशासनमा बस्न र स्वस्थ नागरिक उत्पादनमा सहयोग पुर्याउँछ,’ दीपेन्द्रकी आमा बासु बम स्वाँरले भनिन्।

डीसीएको विद्यालय स्तरीय प्रतियोगिताबाट पहिचान भएका नारायण जोशी, बसन्त कार्कीलगायत खेलाडीहरु हाल राष्ट्रिय प्रतियोगिता खेलिरहेका न्यौपानले बताए। प्रतियोगितालाई एसपीए कलेज, गुरुकुल एकेडेमी, गुरुजी सपिङ एण्ट सुटिङ, सिभिल बैंक, नवजीवन हस्पिटल तथा सौराई स्क्वायरले प्रायोजन गर्ने आयोजकले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस