सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा तीन तहको सहकार्यमा २३३ झोलुङ्गे पुल निर्माण

२०७९ माघ ३, ०२:०९ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेशभित्र पछिल्लो पाँच वर्षको अवधिमा संघ, प्रदेश र स्थानीय तहहरुको सहकार्यमा दुई सय ३३ झोलुङ्गे पुल निर्माण भएको छ। ३१ वटा झोलुङ्गे पुल प्रदेश सरकार एक्लैले तथा बाँकी दुई सय ३३ पुल संघ र स्थानीय तहहरुको सहकार्यमा निर्माण गरिएको हो।

कुल दुई सय ९३ झोलुङ्गे पुलहरु निर्माण भएकोमा प्रदेश सरकारबाट ३१, स्थानीय तहबाट २९ तथा तीन तहको सहकार्यमा २ सय ३३ झोलुङ्गे पुल निर्माण भएको प्रदेश सरकारले सार्वजनिक गरेको प्रगति विवरणमा उल्लेख छ। सुदूरपश्चिम सरकारले पहिलो पाँच वर्षे कार्यकालमा २२ वटा सडक पुल समेत निर्माण भएको उल्लेख छ।

५२ वटा सडक पुल भने निर्माणको चरणमा छन्। कुल चार सय किलोमिटर सडक कालोपत्र गरिएको सार्वजनिक प्रतिवेदनमा उल्लेख भएपनि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले भने सात सय ६९ किलोमिटर सडक कालोपत्र भएको दाबी गरेको हो। प्रदेशको उर्जा विकासमा भने प्रदेशको पाँच वर्षे कार्यकाल अध्ययनमै सीमित देखिएको छ।

पाँच वर्षमा तीनवटा जलविद्युत आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययन गरिएको छ भने बैकल्पिक उर्जा विकास र प्रवद्र्धनका थप तीन परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ। प्रदेश सरकार गठनयता एक हजार नौ सय एक किलोमिटर पक्कि कुलो, दुई सय ८५ किलोमिटर कच्ची कुलो र एक हजार सात सय ६३ वटा डिप ट्युबेल निर्माण भएको छ।

साथै दुई हजार नौ सय ६० निजी आवास निर्माण, चार सय १७ सामुदायिक तथा सरकारी भवन निर्माण भएको प्रगति प्रतिवेदनले देखाएको छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले २ लाख ४२ हजार ६ सय ९० जनालाई स्वच्छ खानेपानीको सुविधा विस्तार गरेको प्रगति विवरण सार्वजनिक गरेको छ।

सो अवधिसम्ममा ७३ हजार ६ सय ३६ दुई पांग्रे, ९ हजार दुई सय ९ तीन पांग्रे र १२ हजार तीन सय ७७ वटा चार पांग्रे सवारीसाधन थप भएको समेत उल्लेख छ। प्रदेश बस सेवा निगम गठन तथा सञ्चालनको अध्ययन, डोटी र डडेल्धुरामा यातायात कार्यालय सञ्चालनलाई प्रदेशले आफ्नो मुख्य उपब्धिको रुपमा अथ्र्याएको छ।
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस