सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्व कप्तान सन्दीप लामिछानेको पुनरावेदन सुनुवाइ आज

फाइल फोटो
फाइल फोटो
२०७९ पुष २१, ११:१७ खबर संवाददाता

 काठमाडौं: नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको पुनरावेदन सुनुवाइ आज हुने भएको छ। बलात्कार आरोपमा थुनामा रहेका लामिछानेले पुनरावेदनका लागि दिएको मुद्दाको सुनुवाइ आज हुने भएको छ। मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए।

सो मुद्दाको पेशी न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको इजलासको चौथो नम्बरमा रहेको छ। यसअघि दुई पटक पेशी तोकिए पनि पहिलोमा सन्दीपका कानुन व्यवसायीले स्थगित गरेका थिए भने दोस्रोमा हेर्न नभ्याइनेमा परेको थियो।

असोज २० गते पक्राउ परेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले फैसला नहुँदासम्मका लागि थुनामा पठाउने आदेश गरेको थियो। सन्दीपले थुनाबाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन्। कारागारमा रहेका सन्दीपको पक्षमा पछिल्लो समय क्रिकेटरहरू बोल्न थालेका छन्। उनलाई न्याय चाहियो भन्दै शरद भेषावकर, आरिफ शेखलगायतले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्। सन्दीपविरुद्ध एक किशोरीले बलात्कारको आरोप लगाएकी थिइन्।
 

कमेन्ट लोड गर्नुस