नदीजन्य पदार्थ बिक्रीमा गोदावरी नगरपालिकाको बदमासी
धनगढीः गोदावरी नगारपालिकाले नदीजन्य पदार्थ उत्खनन् तथा बिक्रीमा बदमासी गरेको गुनासो गरिएको छ। पुस १० बाट नदीजन्य पदार्थ उत्खनन् र बिक्री सुरू गरेको नगरपालिकाले रोयल्टी संकलनमा नक्कली बिल प्रयोग गरेर आर्थिक चलखेल गर्न खोजेको भन्दै बिरोध भएको हो।
सर्वसाधारणलाई आधिकारिक बिल दिने तर क्रसर उद्योगहरूलाई मिलेमतोमा कागजमा बिल दिने गरेको छ। रोयल्टी संकलनमा आर्थिक लाभ लिने नियतले नगरपालिकाले दोहोरो मापदण्ड अपनाएको आरोप नेकपा एमाले गोदावरी नगर कमिटी र स्थानीयले लगाएका छन्।
गोदावरी नगरपालिकाभित्रका तीन वटा नदी खुटिया, गोदावरी र खैरानाबाट नगरपालिका आफैंले नदीजन्य पदार्थ संकलन र बिक्री गर्दै आएको छ। नगरपालिकाको प्रमुख आन्तरिक आम्दानीको स्रोत मानिएको नदीजन्य पदार्थ संकलन र बिक्री गर्न विगतमा ठेक्का हुने भए पनि यो वर्ष भने ठेक्का गरिएको छैन।
नगरपालिकाले ४ करोड न्यूनतम रकम तोकेर वोलपत्र खोले पनि कसैले टेण्डर नहाँल्दा नगरपालिका आफैंले नदीजन्य पदार्थ उत्खनन् र बिक्री गर्ने निर्णय गरेको हो। तर, खुटीया नदीबाट बिक्री भइरहेको नदीजन्य पदार्थमा सेटिङमा काम भइरहेको स्याउलेका स्थानीय राजेश साउँदको छ।
'राजस्व तिरेको बिल बिनानै खुटीयाबाट नदीजन्य पदार्थ लग्न दिइरहेका छन्,' उनले भने, 'सेतो पान्नामा नगरपालिकाको छाप हानेर क्रसर उद्योगलाई सेटिङमा दैनिक ५ सयदेखि १ हजार ट्याक्टर ढुङ्गा, बालुवा र गिट्टी लग्न दिइएको छ।'
नगरपालिकाले खाली कागजको पानामा छाप लगाएर उधारोमा नदीजन्य पदार्थ बिक्री गरिरहेको स्थानीयले बताएका छन्। आफ्नालाई सुटुक्क कुपन दिएर राजश्व मार्ने हिसावले काम भइरहेको वडा नम्बर २ का वडा सदस्य हरिराम चौधरीको भनाइ छ।
'सादा कागजमा नगरपालिकाको छाप लगाएको देखाए मिलेमतोमा सेतो पर्जी चलिरहेको छ,' उनले भने, 'यो सरासर गलत हो। नियम संगत भइरहेको छैन। राजस्व छली भइरहेको आशंका छ।'
नगर प्रमुखलगायत जनप्रतिनिधिका मान्छेलाई नदीजन्य पदार्थ रोयल्टी नतिरेरै लैजान दिने गरेको स्थानीयले बताएका छन्। नगरप्रमुखले आफ्नो निहित स्वार्थमा नदीजन्य पदार्थमा भ्रष्टाचार गरिरहेको नेकपा एमाले गोदावरीले आरोप लगाएको छ। नेकपा एमाले गोदावरी नगर कमिटी अध्यक्ष गोकर्ण भट्टले नगर प्रमुखको योजनामा क्रसर उद्योगहरूसँग मिलेमतोमा काम भइरहेको आरोप लगाए।
'नगर प्रमुखको योजनामा क्रसर उद्योगसँग मिलेमतो गरेर, व्यक्तिगत आर्थिक लाभ लिने नियतले गरिएको यो भ्रष्टाचार नै हो,' उनले भने, 'यो बदनीयतपूर्ण कार्यको हाम्रो पार्टी घोर बिरोध गर्दछ। राज्यले उधारोमा राजस्व आउने बस्तु बिक्री गर्न हुन्छ?'
उधारोमा कुपन दिएर राजस्व संकलनमा गोदावरी नगरपालिकाले उधारो संस्कार बसाउन खोजेको भन्दै नदी क्षेत्र आसपासका स्थानीय आक्रोसित बनेका छन्।
तर, गोदावरी नगरपालिकाले भने आधिकारीक रुपमा बिल नै दिएर नदीजन्य पदार्थ संकलनको काम भइरहेको दाबी गरेको छ। नगरपालिकाको नदीजन्य पदार्थ उत्खनन् तथा बिक्री वितरण अनुगमन समितिका संयोजक देवराज भट्टले नदीजन्य पदार्थमा कुनै बदमासी नहुने हिसाबले काम भइरहेको दाबी गरेका छन्।
'सेतो चिट बाटोको लागि मात्रै प्रयोग गरेको हो। त्यो कुनै नगदी रसिद होइन र त्यो चिट प्रयोग गरी नगद पैसा उठाएका छैनौँ,' उनले भने, 'नगरपालिका र क्रसर उद्योग बिच हिसाबकिताबमा सहज होस् भनेर प्रयोग गरिएको हो।' भट्टले अगाडि भने, 'हाम्रो लक्ष्य भनेको ४ करोड बढी राजस्व संकलन गर्ने छ। यसमा सबैक साथ हुनुपर्छ।'
गोदावरी नगरपालिकाले पुस १० गतेबाट नदीजन्य पदार्थ बिक्री गर्न थालेको हो। नदीजन्य पदार्थको प्रति ट्याक्टर ४ सय ५० रोयल्टी तोकिएको छ। तर रोयल्टीका लागि सर्वसाधारणबाट नगदी रसिद प्रयोगमा छ भने क्रसर उद्योगका लागि भने सादा बिल प्रयोगमा ल्याइएको छ।
एक दिनमा करिव १ हजार बढी ट्रयाक्टरले खुटीया नदीबाट नदीजन्य पदार्थ ढुवानी गर्ने गरेको स्थानीयल दाबी गरेका छन्। आफन्त र क्रसर उद्योगसँग नगरपालिकाले मिलेमतो गरेर आर्थिक लाभ लिने नियतले काम भइरहेको भन्ने सर्वसाधारणले गुनासो गरेका छन्।