सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–कञ्चनपुरका पुरुषलाई महिला नै गर्न दिदैनन् स्थायी बन्ध्याकरण

२०७९ पुष १४, ०९:३४ नारायण अवस्थी

धनगढी: कैलाली र कञ्चनपुरमा परिवार नियोजनको स्थायी बन्ध्याकरण गर्नेमा महिलाको संख्या उच्च रहेको छ। पुरुषको बन्ध्याकरण गर्न सहज र जोखिम नहुने भए पनि तथ्याङ्कले भने पुरुषको संख्या महिलाको तुलनामा नगण्य देखाएको छ।

स्वास्थ्य कार्यालय र नेपाल परिवार नियोजन संघले सञ्चालन गर्ने स्थायी बन्ध्याकरण शिविरमा पुरुषको भन्दा महिलाहरूको सहभागीता बढी देखिएको छ। पुरुषले परिवार धान्न परिश्रम गर्नुपर्ने भन्दै बन्ध्याकरण गर्न महिला अग्रसर हुने गरेका छन्।

शारीरिक र योन क्षमतामा कमि आउने गलत मन्यताका कारण पुरुष भ्यासेक्टोमी गर्न तयार नहुने गरेको परिवार नियोजन संघ कैलालीका प्रवन्ध चेतराज फुलाराले बताए। 'बन्ध्याकरण गरे कमजोरी आउँछ भन्ने गलत मान्यताले गर्दा पुरुषको संख्या बढ्न सकेको छैन, 'उनले भने, 'महिलाले पनि पुरुषले भन्दा म नै बन्ध्याकरण गर्छु भन्ने हुँदा पनि महिलाको संख्या बढ्ने गरेको छ।'

सुदूरपश्चिमका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा परिवार नियोजनको स्थायी बन्ध्याकरण गराउनेमा महिलाको संख्या बढी छ। तर पहाडी जिल्लामा भने पुरुषको संख्या महिलाकै हाराहारी हुने गरेको स्वास्थ्य अधिकारीले बताएका छन्।

तराईमा भने स्वास्थ्य कार्यालय र नेपाल परिवार नियोजनले सञ्चालन गर्ने  परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरमा सन्तानको रहर पूरा भएका दम्पत्तीमध्ये पुरुषभन्दा महिलाहरूको रोजाईमा स्थायी बन्ध्याकरण पर्ने गरेको छ। जिल्ला स्वास्थ्य कार्यालय कैलालीको आयोजना र नेपाल परिवार नियोजन कैलाली शाखाको सहकार्यमा मंसिर २३ देखि पुस ८ सम्म जिल्लाको विभिन्न १२ ठाउँमा पुरुषका लागि भ्यासेक्टोमी तथा महिलाका लागि मिनिल्याप गर्न निःशुल्क शिविर सञ्चालन भएको थियो।

१२ दिन सम्म चलेको बन्ध्याकरण शिविरमा २ सय २८ जनाको बन्ध्याकरण गरिएको छ। तर, स्थायी बन्ध्याकरण, मिनिल्याप गराउने महिलाको संख्या २१३ हुँदा भ्यासेक्टोमी गराउने पुरुषको संख्या भने १५ मात्रै छ। कैलालीमा तीन वर्षको अवधिमा बन्ध्याकरण सेवा लिने  महिलाको भन्दा पुरुषको कम हुनुमा गलत बुझाइले काम गरेको बुझाइ नेपाल परिवार नियोजन कैलाली शाखाका अधिकृत परामर्शदाता कमलेश्वरी अवस्थीको छ।

'पुरुषमा बन्ध्याकरण गरे कमजोर भइन्छ भन्ने मान्यता हट्न सकेको छैन। तर बन्ध्याकरणले कुनै कमजोरी हुँदैन, 'उनले भने,'पुरुष बन्ध्याकरण गर्न सहज पनि छ। बन्ध्याकरण गरेर तुरुन्त हिँडेर घर जान सकिन्छ। तैपनि महिला नै बन्ध्याकरण गर्न आउने गरेका छन्।'

कैलालीमा आर्थिक वर्ष २०७८/०७९ मा १९८ महिलाले मिनिल्याप गरेका थिए भने भ्यासेक्टोमी गराउने पुरुषको संख्या ४० थियो। यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा २२७ महिलाले स्थायी बन्ध्याकरण गराउँदा २१ जना पुरुषले भ्यासेक्टोमी गरेको तथ्याङ्क छ।

बन्ध्याकरण शिविरमा पुरुषभन्दा महिला बढी सहभागी हुनुमा महिलाले नै पुरुषलाई बन्ध्याकरण गर्न प्रोत्साहित नगर्नु रहेको स्वास्थ्य कार्यालय कैलालीका परिवार नियोजन सुपरभाइजर निरीक्षक ओलटनारायण चापागाईंले बताए।
'पुरुषको संख्या कम किन पनि हुन्छ भने महिलाले नै पुरुषलाई रोक्ने काम गर्छन्, 'उनले भने, 'पुरुषले बाहिर गएर काम गर्नुपर्छ। बन्ध्याकरण गर्दा कमजोरी आउँछ भन्ने गलत बुझाइले काम गर्दा पुरुषको संख्या बढ्न सकेको छैन।'


कञ्चनपुर जिल्लामा पनि परिवार नियोजनको स्थायी बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिलाको संख्या बढी छ। जिल्लामा आर्थिक वर्ष २०७८र०७९ मा २०१ महिलाले मिनिल्याप गर्दा १४ जना पुरुषले मात्रै भ्यासेक्टोमी गरेको तथ्याङ्क छ। पुरुष सदस्य कामका लागि घर बाहिर हुने, बन्ध्याकरण गरे पुरुषको यौन क्षमतामा कमी आउने जस्ता गलत बुझाइले गर्दा पुरुषले भ्यासेक्टीमी गर्न मान्दैनन्।

यस्तै, महिलाले भने पटकपटक बच्चा पाउनुपर्ने झण्झटबाट मुक्त हुन बन्ध्याकरण गर्न बाध्य हुनु परेको छ। पुरुष बन्ध्याकरण गर्न सहज, कम खर्चिलो र स्वास्थ्य जोखिम पनि कम हुन्छ। महिलाले गर्ने मिनिल्यापमा बढी जोखिम हुने, शल्यक्रिया पश्चात कम्तिमा तीन हप्ता पूर्ण आराम गर्नुपर्ने र पेटमा घाउँ बनाएर शल्यक्रिया गर्नुपर्छ।

महिलाले मिनिल्याप गर्नुभन्दा पुरुषले भ्यासेक्टोमी गर्नु हरेक दृष्ट्रिकोण उपयुक्त हुने परिवार नियोजन सुपरभाइज निरीक्षक चापागाईले बताए। 'महिलालेभन्दा पुरुषले बन्ध्याकरण गर्नु सहज छ। कम खर्चिलो छ। कम समय लाग्छ। घाउ पनि सानो हुन्छ। बन्ध्याकरणपछि पुरुषको स्वास्थ्य र यौन क्षमतामा कुनै कमि आउँदैन,' चापागाईंले भने।

सरकारले पुरुषलाई भ्यासेक्टीमी गराउन प्रेरित गर्न महिला स्वास्थ्य स्वयं सेविकालाई पनि प्रोत्साहन गर्दै आएको छ। तर, बन्ध्याकरण सम्बन्धि गलत मान्यता र विश्वासका कारण भ्यासेक्टोमी गराउने पुरुषको संख्या कम रहेको स्वास्थ्य अधिकारीले बताएका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस