सुदूर नेपाललाई विश्वसँग जोड्दै

धुलाचौर बन्दै हिमाली गाउँपालिकाको मुख्य बजार

२०८२ फाल्गुन ३, ०३:५४ खबर संवाददाता

बाजुराः बाजुराको पूर्वीउत्तर क्षेत्र हिमाली गाउँपालिका–६ मा पर्ने धुलाचौर अहिले स्थानीयको रोजाइमा रहेको छ । पहिला चौरका रूपमा रहँदै आएको धुलाचौर पछिल्लो समय पालिकाले प्रशासकीय भवन यसैमा निर्माण गरेसँगै धुलाचौर स्थानीयको रोजाइमा पर्ने गरेको हो ।

हिमाली गाउँपालिका–६, बोल्डिकका रामबहादुर रावतले भने, ‘मेरो घर बोल्डिक हो । म पहिला त्यहीँ बस्ने गर्थें । केही वर्षयता त्यो घर पहिरोको जोखिममा परेका कारण अहिले यहाँ आएर व्यापार गर्न थालेको बताउनुभयो ।’ 
उनका अनुसार पहिला यहाँ केही थिएन । खाली ढुङ्गा मात्र थिए । पछि केहीले यहाँ दुई/चार टिनका टहरा लगाए । अहिले यहाँ पालिकाको भवन निर्माण भएसँगै यो धुलाचौर बजारका रूपमा स्थापना भएको छ ।

अहिले यहाँ ठुलो बजार छ । यहाँ हुम्ला, जुम्ला, मुगुलगायतका व्यापारी व्यापार गर्न आउँछन् । यी जिल्लामा प्रायः यही बजारदेखि दैनिक खाद्यान्न सामग्री जाने गर्छ । अहिले यो ठाउँ यहाँको मुख्य बजारका रूपमा चिनिने गरेको छ । अहिले कुनै पनि सेवा सुविधा लिनसमेत निकै सहज भएकाले स्थानीयको रोजाइमा धुलाचौर पर्ने गरेको रावतले बताए। 
धुलाचौर अहिले हिमाली गाउँपालिकाको मुख्य बजारका रूपमा रहेको छ । यहाँका छ वटै वडामा यही ठाउँदेखि दैनिक खाद्यान्न सामग्री जाने गर्छ । त्यति मात्र होइन छिमेकी हुम्ला, जुम्ला र मुगुलगायतका जिल्लामा समेत यहीँदेखि खाद्यान्न सामग्री जाने गर्छ । 

पहिला पहिरोले उजाड बनेको यो ठाउँ अहिले हजारौँ टिनका टहराले भरिभराउ भएको छ । लामबद्ध रूपमा रहेका यी टहराले अहिले धुलाचौरको समेत निकै महिमा बढाएको छ । यो क्षेत्र सरकारी जमिनमा पर्छ । केही वर्ष पहिलादेखि यहाँका अधिकांश स्थानीय बाढीपहिरोको जोखिममा परेकाले उनीहरू अहिले यहाँ आएर बस्ने गरेका छन् । हिमाली गाउँपालिकाका सबै वडाका स्थानीयलाई यो ठाउँ उपयुक्त भएकाले सबैको रोहबरमा पालिकाको प्रशासकीय भवन पनि यसैमा निर्माण गरेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए। 

उनले भने, ‘यहाँका स्थानीयको सुरक्षाका लागि अहिले अस्थायी प्रहरी चौकीसमेत धुलाचौरमा स्थापना गरिएको छ । यहाँका स्थानीयलाई स्वास्थ्य सेवा दिनसमेत सहज हुने गरेर अहिले यहाँ प्राथमिक स्वास्थ्य चौकी पनि सञ्चालनमा रहेको छ । धुलाचौरको सबै जमिन ऐलानी भएकाले त्यसलाई पालिकाको नाममा गर्न समस्या भएको छ ।’  त्यसका लागि अहिले सम्बन्धित ठाउँमा पहलकदमी गर्दै आएको अध्यक्ष मल्लले बताएका छन्। (गाेरखापत्र)  
 

कमेन्ट लोड गर्नुस