कञ्चनपुरमा ‘तेस्रो बेलौरी कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव’ सुरु
कञ्चनपुर: कञ्चनपुरमा ‘तेस्रो बेलौरी कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव’ सोमबार बाट सुरु भएको छ। बेलौरी नगरपालिका वडा नम्बर ४ स्थित शान्ति माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको संस्था पूर्व विद्यार्थी समाजले महोत्सव आयोजना गरेको छ।
बेलौरीको खुलामञ्चमा सोमबारदेखि सुरु भएको महोत्सव यही पुस २० गतेसम्म जारी रहने महोत्सव संयोजक प्रेमबहादुर थापाले जानकारी दिए। अनाथ तथा गरिब बालबालिकाको सहयोगार्थमा आयोजित महोत्सवको नवनिर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले उद्घघाटन गरेका थिए।
उद्घाटनका क्रममा प्रदेश सभा सदस्य बिष्टले स्थानीय कला, संस्कृति र सम्पदाहरूको प्रचारप्रसार एवम् प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। महोत्सवमा थारु समुदायका मौलिक खानामा परिकार, कृषि उत्पादित वस्तु तथा सेवाको प्रदर्शनी लगायतका गरी विभिन्न व्यावसायिक स्टल राखिएको छ। महोत्सव अवधिभर राष्ट्रिय र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ।