सुदूरपश्चिममा ‘स्कुल टु ओलम्पिक’ आयोजना
धनगढीः विद्यार्थीहरुलाई खेल क्षेत्रमा आबद्ध हुन प्रोत्साहित गर्ने उद्देश्यले ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सुदूरपश्चिम प्रदेशबाट सुरु भएको छ। सातवटै प्रदेशमा आयोजना गर्ने लक्ष्यसहित सुदूरपश्चिम प्रदेशबाट कार्यक्रम सुरु भएको हो।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल ओलम्पियन्स संघको संयोजनमा सोमबार धनगढीमा आयोजित कार्यक्रममा धनगढीका सामुदायिक र निजी विद्यालयका विधार्थीहरुसँग ओलम्पियनहरुको अन्तरक्रिया भएको थियो। कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारले काम गरिरहेको बताए। उनले ‘स्कुल टु ओलम्पीक’ कार्यक्रमले खेलाडी उत्पादनमा टेवा पुग्ने बताए।
कार्यक्रममा ओलम्पियनहरु बैकुण्ठ मानन्धर, दिपक विष्ट, डम्मरदत्त भट्ट, विष्णुवहादुर सिंह, देवु थापा, प्रमिला रिजालसहित नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले विभिन्न विद्यालयका विद्यार्थी र खेलाडीहरुसँग एकै मञ्चमा बसेर आफ्ना अनुभवहरु साटेका थिए।
आफ्नो खेलकुदको सुरुवातदेखि सफलतासम्मका संघर्ष, खेलकुद क्षेत्रले आफ्नो जीवनमा परेको प्रभावका बारेमा सहभागि खेलाडीले चर्चा गरेका थिए। अधिकांशले सफलताका लागि इच्छा शक्ति, लगनशिलता र इमान्दारिता आवश्यक रहेको औल्याए। सुदूरपश्चिमबाट सुरुवात भएको कार्यक्रम सातवटै प्रदेशहरुमा खेलकुद परिषद्सँग समन्वय गरेर आयोजना गरिने नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले बताए। धनगढीमा भएको कार्यक्रममा विभिन्न विद्यालयका झण्डै चार सय बढी विद्यार्थीको सहभागि थिए।