सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली योजनाको गाडीमा कर्मचारीकै मनपरी, विद्यार्थीले प्रहरीमा बुझाए

२०७९ पुष १०, ०६:५२ खबर संवाददाता

धनगढीः महाकाली पुल योजना कार्यालयको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। सार्वजनिक विदाको दिन सरकारी गाडी चलाएको भन्दै योजना कार्यालयको प्रदेश ३ बा ०६७९ नम्बरको गाडी प्रहरीले नियन्त्रणमा लिएको हो। कञ्चनपुरका विद्यार्थी संगठनहरूले योजना कार्यालयको गाडी कञ्चनपुर प्रहरीको जिम्मा लगाएका हुन्।

विद्यार्थीहरूले गाडी नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए। योजना कार्यालयका इन्जिनियर प्रशान्त भट्टले सरकारी गाडी नीजि प्रयोजनमा प्रयोग गर्ने गरेको स्रोतले बताएको छ।. तर, योजना कार्यालयका प्रमुख इन्जिनियर  रामबहादुर गुरुङले भने सरकारी गाडीे नीजि प्रयोजनमा प्रयोग नभएको दाबी गरेका छन्।

‘गाडी व्यक्तिगत रुपमा प्रयोग गरिएको होइन। धनगढीमा पनि हाम्रो साइट छ। इन्जिनियरले साइट हेरेर काठमाडौं तालिमका लागि जान हिंडेका हुन्। व्यक्तिगत कामका लागि गाडी प्रयोग भएको होइन।’ तर, इन्जिनियर भट्टले व्यक्तिगत र घरायसी प्रयोगमा सरकारी गाडी दुरूपयोग गर्दै आएको स्रोतले बताएको छ। साइट हेर्न जाने कर्मचारीले गाडी प्रयोग नपाउने तर इन्जिनियर भट्टले भने घुम्न जान आफ्ना लागि गाडी स्ट्यान्डवाइ राख्ने गरेका हुन्। यता, इन्जिनियर भट्टले कार्यालयको काम बाहेक व्यक्तिगत काममा सरकारी गाडी प्रयोग नगरेको दाबी गरेका छन्।

‘मैले गाडी व्यक्तिगत रुपमा प्रयोग कहिल्यै गरेको छैन। आज पनि मोहनपुर–अत्तरिया सडकमा रहेका पुल निरीक्षण गरेर तालिमका लागि काठमाडौं जाने योजना थियो। अहिले म धनगढी विमानस्थलमा छु। भोलिबाट तालिम छ। अगाडिको उडान छुट्न पुग्यो,’ उनले भने।
इन्जिनियर भट्टले भने, ‘प्राविधिक कर्मचारीले फिल्डमा विदाका दिन पनि जानुपर्ने हुन्छ। तर, यो कुरा नबुझेर कर्मचारीले गाडी चलायो भनेर भन्दा हामीलाई पनि अफ्ठारो हुन्छ। यो अफ्ठारो कोही बुझ्दैनन्।’ इन्जिनियर भट्टले सरकारी गाडी मनलाग्दी रुपमा चलाउने मात्र नभएर उनले योजना कार्यालयको एक थान मोटरसाइकल समेत घर लगेको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस