सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको फुलबारीमा सवा ३ करोडको लगानीमा अत्याधुनिक एग्रो फार्म स्थापना हुँदै

२०७५ चैत्र १०, ०७:१३ जनक विष्ट

सुदूरपश्चिममा कैलालीको फुलबारीमा नीजि क्षेत्रबाट झण्डै सवा ३ करोडको लगानीमा अत्याधुनिक एग्रो फार्म स्थापना हुने भएको छ। धनगढीका चार जना व्यवसायीको लगानी र अवधारणामा धनगढी उपमहानगरपालिका १४ फुलबारीमा अत्याधुनिक एग्रो फार्म स्थापना हुने भएको हो।

धनगढीका व्यवसायी रविन पन्त, धर्म पन्त, गंग बहादुर शाह र भरत कुँवरको झण्डै सवा ३ करोडको संयुक्त लगानीमा स्थापना गरिने फार्मको निर्माण कार्य अगाडी बढाईएको छ। जनजागृति उच्च माध्यमिक विद्यालय फुलबारीको २३ विगाह जग्गा १० वर्षका लागि भाडामा लिएर एकिकृत कृषि प्रणालीमा आधारित भएर फार्म सञ्चालन गर्न लागिएको हो।

फार्ममा भित्र छुट्टै छुट्टै संरचना बनाएर ६ सय बाख्रा, ३ हजार विभिन्न प्रजातीका स्थानीय कुखुरा तथा २ लाख सम्म माछा पालन गर्ने योजना बनाईएको लगानीकर्ता मध्येका एकजना व्यवसायी रविनकान्त पन्तले बताए। यस्तै उनीहरुका लागि छुट्टै चरिचरन क्षेत्र समेत बनाईनेछ भने अवलोकनका लागि आउनेहरुका लागि समेत छुट्टै किसिमको प्रबन्ध मिलाईने उनले बताए। 

उनका अनुसार कृषिको विविधिकरणलाई व्यवसायीकता दिने मुख्य उद्देश्य बोकेर स्थापना गरिने फार्ममा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिईनेछ। फार्मको अवलोकनका लागि पुग्नेहरुलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले डुङ्गा र घोडा चढ्ने सम्मको व्यवस्था समेत मिलाईनेछ।

छेउमै रहेको गौरीशंकर सामुदायिक वनसँग सहकार्य गरेर पर्यावरणलाई बाधा नपर्ने गरी पिकनिक स्र्पोट डिजाईन गरिनेछ। एकिकृत कृषि प्रणालीमा आधारित फार्म र कृषि पर्यटनलाई लक्षित गरेर सञ्चालन गरिने गतिविधिले प्रदेशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। 

कृषि फार्म सञ्चालनका लागि सरकारी र गैर सरकारी संघसंस्था तथा प्रदेश सरकारसँग समेत समन्वय  भइरहेको बताइएको छ। कृषि फार्म सञ्चालनका लागि आवश्यक पर्ने लगानी जुटाउन क्रण सहयोगका विषयमा विभिन्न बैँक तथा वित्तिय संस्थाहरुसँग समेत कुरा भइरहेको लगानीकर्ता भरत कुँवरले बताए।
फार्म सञ्चालन पछि प्रदेशको कृषि पर्यटन प्रवद्र्धनका साथै व्यापार व्यवसायमा समेत टेवा पुग्ने अपेक्षा उनको छ। 
फार्म सञ्चालन गर्दा स्थानीय समुदायसँग समेत समन्वय गरेर अघि बढ्ने नीति लिईएको छ। एग्रो फार्म स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडी बढाईसकिएकाले ढिलोमा एक वर्ष भित्रै सञ्चालन गरिने दावी गरिएको छ। २३ विगाह मध्ये ४ बिगाह क्षेत्रफलमा भने आवश्यक संरचना निर्माणको काम सुरु भइसकेको छ। 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस