नेपालले सेमिफाइनलमा बंगलादेशसँग आज खेल्दै
काठमाडौं: ढाकामा जारी प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहेको बंगलादेशले पुछारमा रहेको नेपालसँग सेमिफाइनलमा खेल्ने भएको हो। बगबंन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आयोजक बंगलादेशसँग आइतबार खेल्ने भएको छ।
बंगलादेशले लिग चरणको तीन खेलमै जित निकालेको थियो। नेपालले भने तीन खेलमै हार व्यहोरेको थियो। तर, प्रतियोगितामा चार टोलीको सहभागिता भएकाले चारै टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन्। लिग चरणको पहिलो खेलमा बंगलादेशले नेपाललाई ३–० को सोझो सेटमा हराएको थियो।
यस्तै अर्को सेमिफाइनलमा श्रीलंका र किर्गिस्तानबीच खेल हुनेछ। दुबै सेमिफाइनल खेल आइतबार हुनेछ। च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागीता रहेको छ ।