सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिरामी पर्न थाले डोटीका भूकम्प पीडित

फाइल फोटो
फाइल फोटो
२०७९ पुष ६, १२:३४ कमल सावद

धनगढीः सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्र बिन्दु बनाएर गत कार्तिक २२ गते राति २ बजेर १२ मिनेटमा भूकम्प गयो। ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्पका कारण डोटीमा मात्र ६ जनाको मृत्यु भयो। जिल्लामा एक हजार चार सय १२ घरमा पूर्ण क्षति भयो।

घरमा क्षति भएका परिवार अहिले त्रिपालमुनि छन्। विभिन्न संघ/संस्थाले दिएका त्रिपालमुनि  भूकम्प पीडितहरुले रात विताउन बाध्य छन्। एक भूकम्प पीडितले भने, ‘पाल हालेको छ। पालमा बसेका छौ। घरमा भूकम्पले क्षति भयो। बाहिर बस भन्छन।'

'आँखा र खुट्टाको अपांग छु। अझै चिसो बढेको छैन। चिसोमा यो ठाउँमा हिउँ पर्छ, खप्तडमा सिमाना हो।’ भूकम्प पीडितहरु चिसो मौसम सुरु भएसँगै बिरामी पर्न थालेका छन्। बालबालीकाहरुमा निमोनिया लगाएतका रोग देखिएका हुन। वृद्ध–वृद्धा तथा दीर्घरोगीहरुमा पनि विभिन्न रोगको समस्या देखिन थालेको हो।

त्रिपालमुनि बास बस्दै आएका भूकम्प पीडित खप्तड क्षेत्र आसपास भएकाले हिउँ पर्ने र चिसोमा रात काट्न समस्या हुने गुनासो गरेका छन्। ‘सितलहरले बाहिर बस्न गाह्रो छ,’ एक स्थानीयले भने। भूकम्प पीडितका लागि त्रिपाल, कम्बल तथा विभिन्न खानेकुराहरु सहयोग गरिएको छ।

तर जिल्लामा भएको क्षतिको प्राविधिक अध्ययन भने अहिलेसम्म भएको छैन। उनीहरुले रेडक्रशले मात्र त्रिपाल दिएको बताएका हुन्। उनीहरुले भने, ‘हाम्रो लागि सरकार पनि नरहेछ। बालबालीकालाई निमोनिया हुँदैछ। हिउँ परेपछि झनै समस्या हुने हो। हाम्रो घरका सदस्यको ज्यान पनि गएको छ।’ ‘श्रीमती मरिसकिन। बाहिर बस्न सक्दैन,’ एक वृद्धले भने, ‘चिसोका कारण हैरान भएको छ। बस्न नसक्ने अवस्था छ। दमको बिरामी हुँ।’भूकम्प प्राधिकरणको समूह डोटी समेत अहिलेसम्म प्रभावित क्षेत्रमा पुगेको छैन्।

पालमुनि बस्दै आएकाहरुलाई समस्या भएपनि दीर्घकालीन समस्या समाधानका लागि कुनै पहल भएको छैन। जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत दीपा जोशीले प्राधिरणको समूह नआएको बताइन्। जिल्ला प्रशासनले पहल गर्दै आएको उनले बताइन्।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस