सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारको आम्दानी ८५ अर्बले घट्यो

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ पुष १, ०४:०२ खबर संवाददाता

काठमाडौंः चालू आर्थिक वर्ष सरकारको आम्दानी ८५ अर्ब रुपैयाँ भन्दा बढीले घटेको छ। गत आर्थिक वर्ष (२०७८/०७९) को मंसिरसम्म सरकारले ४ खर्ब १२ अर्ब ४० करोड ३४ लाख रुपैयाँ राजस्व आम्दानी गरेको थियो।

तर, चालू आर्थिक वर्षको मंसिरसम्म सरकारले ३ खर्ब २६ अर्ब ८९ करोड रुपैयाँमात्र राजस्व आम्दानी गरेको छ। यो कर र गैरकर आम्दानी हो। सरकारको आम्दानी लक्ष्यको तुलनामा २३.३ प्रतिशत हो। यो वर्ष सरकारले १४ खर्ब ३ अर्ब बढी राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।

सरकारले झण्डै एक वर्ष विभिन्न खालका वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा राज्यको आम्दानी गुमेको सरकारका अर्थमन्त्री आफैंले स्वीकार्दै आएका छन्। पाँच महिनामा सरकारको खर्च भने ४ खर्ब ३५ अर्ब २१ करोड रुपैयाँ भएको छ। गत वर्षको यसै अवधिको तुलनामा सरकारको खर्च भने ४८ अर्ब १७ करोड रुपैयाँ बढी भएको छ। यसवर्ष तीनै तहको चुनावका कारण पनि खर्च बढी देखिएको विज्ञहरुले बताएका छन्।

सरकारले चालू आर्थिक वर्ष १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ। यो लक्ष्यको २४.२६ प्रतिशत खर्च ५ महिनामा भएको छ। सरकारले खर्च गर्न नसकेर मध्यावधि समीक्षामार्फत बजेट खर्चको सिलिङ घटाउँदै आएको छ। यस पटकको मध्यावधि समीक्षामा पनि नयाँ सरकार गठन हुने भएकाले बजेटमा केही हेरफेर हुन सक्ने देखिन्छ।

कमेन्ट लोड गर्नुस