विश्वकप फुटबल : क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश
काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ। दोहाको लुसेल रंगशालामा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोल अन्तरले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो।
अर्जेन्टिनालाई जित दिलाउन जुलियन अल्भारेजले दुई गोल गरे। कप्तान लियोनल मेस्सीको नाममा एक गोल रह्यो। खेलको ३४ औं मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले अल्भारेजलाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो।
जसमा मेस्सीले सहजै गोल गरे। विश्वकपमा मेस्सीको यो अर्जेन्टिनाका लागि कीर्तिमानी ११ औं गोल हो। मेस्सीले गाब्रिएल बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोडेका हुन्। मेस्सीले यस खेलबाट विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमानमा समेत बराबरी गरेका छन्।
मेस्सीले जर्मनीका पूर्व मिडफिल्डर लोथर माथाउसको नाममा रहेको २५ खेलको कीर्तिमान बराबर गरेका हुन। खेलको ३९ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २–० गोलको अग्रता दिलाए। काउन्टर बलमा क्रोएसियाका डिफेन्डरले बल क्लियर गर्न नसक्दा अल्भारेजले एकल प्रयासमा गोल गरे।
त्यसपछि खेलको ६९ औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ३–० गोलको सहज जित दिलाए। उनले मेस्सीले उपलब्ध गराएको सुन्दर पासमा सहजै गोल गरे। दुई पटकको च्याम्पियन अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनलमा पुगेको हो।