सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्यमन्त्रीको गाउँमोह, बजेटमा मनपरी

२०७५ चैत्र ९, १०:५५

मुख्यमन्त्री त्रिलोचन भट्टको गृहजिल्ला डोटीमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा ४६ करोड ५ लाख रुपैयाँ विनियोजन गरेको छ । यो बजेटमा यतिविघ्न मनपरी भएको छ, कतिपय ठाउँमा गाउँपालिकाले लगाएका ठेक्का पनि मुख्यमन्त्रीका स्वकीय सचिवको दबाबमा खोसिएको छ ।

२०७५ जेठमा डोटीको बोगटान गाउँपालिका–४ मा सडक बनाउन गाउँपालिकाले स्थानीय ठेकेदार रमेश खडायतलाई जिम्मा दिएको थियो । गाउँपालिकासँगको सम्झौताअनुसार खडायतले सडक निर्माण सुरु गरे । प्रदेश सरकारले चालु आर्थिक वर्षमा त्यही सडकमा ५० लाख रुपैयाँ हाल्यो । मुख्यमन्त्री भट्टका स्वकीय सचिव प्रेमबहादुर कुँवरको पहुँचमा त्यो बजेट परेको हो । प्रदेशको बजेट हालेपछि कुँवर आफैंले हस्तक्षेप गरेर खडायतलाई कामबाट हटाए ।
खडायतले गाउँपालिकाबाट ४५ लाख रुपैयाँ भुक्तानी पाउन बाँकी छ । ‘प्रदेश सरकारको बजेट आएपछि कामबाट हात झिक्न बाध्य भएँ,’ खडायतले भने । उनलाई हटाएपछि उपभोक्ता समितिमार्फत सडक बनाउन थालिएको छ । गाउँपालिका अध्यक्ष कमल गडसिला भन्छन्, ‘प्रदेशले बनाउने भनेको भए हामी बजेट हाल्ने थिएनौं, बीचमा आएर किन यस्तो गरियो, थाहा छैन ।’
कार्यकर्तालाई भाग पुर्‍याउन एउटै योजनामा अलग–अलग नाम राखेर बजेट हालेको भेटिएको छ । प्रदेशबाट शिखर नगरपालिका–८ को बान्डिखोला तटबन्धका लागि दुईवटा योजना परेका छन् । बान्डिखोला तटबन्धकै नाममा १५ लाख र ४० लाखका रुपैयाँका दुईवटा योजनामा बजेट हालिएको छ । त्यही नगरपालिकाको वडा ११ मा रहेको सातनाली सिँचाइ योजनामा पनि ५० लाख र ३० लाखका दुईवटा योजना परेका छन् ।
आदर्श गाउँपालिका–६ मा एउटै कामका लागि दुईवटा योजनामा पैसा हालिएको छ । साउकिर–घट्टेकुलो सिँचाइ योजनाको नाममा ३०/३० लाख रुपैयाँका छुट्टाछुट्टै योजना आएपछि स्थानीयबीच विवाद भएको थियो । तत्कालीन नेकपा माओवादीबाट आदर्श गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका भरतबहादुर बोहराले आफ्नो सिफारिसमा बजेट आएको भन्दै ३० लाखको एउटा योजना अन्यत्र लैजान खोजेपछि विवाद भएको हो ।
विवाद बढदै गएपछि स्थानीय तेज ओलीले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमा लिखित उजुरी दिए । तिनै ओली भन्छन्, ‘पहुँच छ भन्दैमा नेताका आसेपासेले मनपरी गर्न पाउँदैनन्, मन लागे योजना हाल्ने, मन नलागे अन्तै लैजाने ? उनीहरूको घरको बजेट हो यो ? सरकारको रकम तोकिएकै ठाउँमा खर्च हुनुपर्छ ।’ योगेन्द्र बोहराले आदर्श गाउँपालिका–६ को सिल्ल गाउँमा योजना लैजान खोजेको ओलीको आरोप छ ।
मुख्यमन्त्री भट्टको घर केआईसिंह गाउँपालिकामा पर्छ । वडा ५ को रानागाउँमा सिँचाइ कुलोमा प्रदेश सरकारले ३० लाख विनियोजन गरेको छ । अनागाड वरभरा नाम दिएको त्यो योजनाबाट मुस्किलले १५ परिवारको जग्गा सिँचाइ हुन्छ । यही रकम अनागाडभन्दा पाँच मिटरमाथि मुहान भएको बोतडीसैन सिँचाइ आयोजनामा हालेको भए रानागाउँका झन्डै २०० परिवारको खेतमा सिँचाइ हुने थियो । केआईसिंह गाउँपालिका–५ का वडाध्यक्ष रामचन्द्र राणा भन्छन्, ‘बोतडीसैन सिँचाइमा बजेट हालेको भए गाउँका सबैको खेतमा पानी पुग्थ्यो । कार्यकर्ताको आवश्यकता हेरेर बजेट हालिएको छ । यसरी कस्तो विकास गर्न खोजेका हुन्, बुझ्नै गाह्रो छ ।’
मुख्यमन्त्री भट्टको घर भएको वडा ६ मा सडक निर्माणमा १ करोड २० लाख, सिँचाइमा २५ लाख, दाजु शालिकराम भट्ट अध्यक्ष भएको स्कुलमा ५ लाख, खेलकुद, खानेपानी र स्वास्थ्य चौकीमा ५० लाख छुट्याइएको छ । भट्टका मुख्य स्वकीय सचिव शिवसिंह ओलीको गाउँपालिका जोरायलमा पनि ११ वटा योजनामा ३ करोड ३५ लाख हालिएको छ । ‘यीमध्ये धेरै योजना स्थानीय आवश्यकताको आधारमा होइन, कार्यकर्ताको प्रभाव भएका गाउँमा वितरण गरिएको छ,’ केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले भने, ‘प्रदेशको बजेट कार्यान्वयन गर्न पार्टी कार्यकर्तालाई उपभोक्ता समितिमा राखिएको छ ।’

हामीले यसबारे मुख्यमन्त्री भट्टको धारणा जान्न खोज्यौं । भट्ट भन्छन्, ‘प्रदेशको बजेट आफ्नै गाउँमा मात्र खन्याएको भन्ने सही होइन । डोटीका कुनै पनि वडा प्रदेशको बजेटबाट वञ्चित छैनन् । बृहत् योजनामा बढी बजेट परेको होला, सानो योजनामा कम परेको हुन सक्छ ।’ उनले सरकार नयाँ भएको र प्रदेशको कुनै संरचना नभएका कारण योजना वितरणमा केही समस्या भएको बताए ।

साभार : खोज पत्रकारिता केन्द्र

कमेन्ट लोड गर्नुस