सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका सडकमा गाडीबाट जथाभावी फालिन्छ फोहोर, रोक्ने कसरी ?

अटेरी नागरिक

२०७९ मंसिर २३, ०५:२६ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिमका सडकहरुमा जताततै प्लास्टिकजन्य फोहोर देखिन्छ। यातायातका साधनबाट प्लास्टिक र अन्य फोहर निर्धक्क सडकमा फाल्ने गरिन्छ। अटोरिक्सादेखि निजी कार र सार्वजनिक बसबाट फोहर सडकमा हुत्याइन्छ। सरकारले पटकपटक सार्वजनिक सूचना र अपिल गर्दा पनि प्लाष्टिकजन्य फोहर र बचेको खानेकुरा सवारी सधानबाट सडकमा फाल्ने क्रम रोकिएको छैन।

सवारी साधनबाट जथाभावी फोहर सडकमा मिल्काउँदा नगर क्षेत्रका सडक बिहानीपख सफाइ गरे पनि केही समयपछि फोहरले जस्ताकोतस्तै देखिने गरेका छन्। सार्वजनिक बसदेखि विद्यालयका बसहरुमासमेत फोहोर राख्ने भाँडोको व्यवस्था गरिएको छैन। 

प्रदेशको अस्थायी राजधनी रहेको धनगढी उपमहानगरपालिकाले जथाभावी फोहर नमिल्काउन नगरवासीलाई आग्रह गर्दै आएको छ। मुख्य सडकमा यो वर्ष मात्रै ठाउँठाउँमा फोहर विसर्जनका लागि डस्टविन राखिएको छ। कुहिने र नकुहिने फोहर अलग्याएर राख्न र व्यवस्थापन गर्न सहज होस् भनेर उपमहानगरले एकै ठाउँमा दुईटा डस्टविन राखेको छ। 

योसँगै सडक, चौर, बाटो, खोला किनार र अन्य सार्वजनिकस्थलमा फोहर फाल्नुलाई दण्डनीय कसुर परिभाषित गरिएको छ। तर, सर्वसाधारणको व्यवहार परिवर्तन नहुँदा अस्पताल परिसरदेखि सडक र गल्लीमा बेफिक्री फोहर फाल्न छोडिएको छैन। 

धनगढीमा चल्ने कुनै पनि रिक्सा चालकलाई फोहर राख्ने झोला राख्नुपर्ने आवश्यकता नै महसुस नै भएको छैन। यात्रुले रिक्साबाट सडकमा फोहर फाल्ने आदत सामान्य हो भन्ने यात्रु र रिक्सा चालकले ठान्ने गरेका छन्। धनगढीमा रिक्सा चालकलाई फोहर राख्ने झोला छ ? भनेर गरिएको प्रश्नमा कसैले पनि यो कुरामा चासो नै राखेको देखियो। यात्रुले फोहरजन्य वस्तु सडकमै मिल्काउने गरेको एक रिक्सा चालकले स्वीकार गरे।

‘हामीले रिक्सामा फोहर राख्ने झोला राखेका छैनौँ,’ उनले भने, ‘यात्रुले सडकमै फोहर फाल्छन्।’ धनगढीमा रिक्साको सँख्या अत्यधिक छ। रिक्सा चढ्नेहरूले पनि जथाभावी सडकमै फोहर फाल्ने गर्छन्। कुनै पनि रिक्सा चालकहरूले यात्रुका लागि फोहर राख्ने प्रयोजनका लागि झोला नै राख्दैनन्। 

जसले गर्दा कुनै चिजबस्तु खाएर यात्रुले प्लाष्टिक, र्यापर र फलफूलका बोक्रा सडकमै फाल्ने गर्छन। रिक्साजस्तै अन्य सवारीमा पनि फोहर व्यवस्थापनका लागि कुनै बन्दोवस्त गरिएको देखिदैन। धनगढीको मुख्य सडकमा भेटिएका एक जना डेलिभरी भ्यान चालकले आफ्नो गाडीमा फोहर राख्ने झोला या डस्टविन नराखेको बताए।

‘मैले पनि गाडीमा डस्टविन राखेको छैन तर फोहर भने जथाभावी बाहिर मिल्काउँदैन। यतै गाडीभित्र राखेर जहाँ डस्टविन हुन्छ त्यहाँ हाल्ने गरेको छु,’ उनले भने। निजी सवारी धनी, भाडाका ठुला र साना सवारी चालकले पनि आफ्नो गाडीमा यात्रुका लागि फोहर राख्न कुनै व्यवस्था गरेका छैनन्। धनगढी बसपार्कबाट छुट्ने लामो र छोटो दुरीका कुनै पनि सवारी साधनमा फोहर राख्न डस्टविन छैन।

यात्रुले बान्ता गरेको प्लास्टिक झोला, पानीको बोतल र फलफूलका बोक्रा निर्धक्क भएर सडकमै फाल्ने गरिन्छ। निजी सवारी धनीले पनि फोहर गाडीबाट सडकमै हुत्याउँछन्। किनभने फोहर राख्ने झोला या डस्टविन कुनै पनि निजी गाडी धनीले पनि राख्ने गरेका छैनन्।

धनगढीसहित सुदूरपश्चिमका विभिन्न नगरका मुख्य सडकदेखि भित्रि गल्ली, खोलानाला र बस्ती नजिकका वन क्षेत्र फोहर फाल्ने अघोषित स्थानसमेत बनेका छन्। गुट्खा, चुरोटदेखि पत्रुखाना खानेहरूले अस्पताल परिसरदेखि शौचालयलाई फोहर फाल्ने डम्पिङ साइट नै बनाएको देखिन्छ। 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस