सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वाधार अभावले खप्तडमा पर्यटकलाई समस्या

२०७९ मंसिर २०, ०१:५९

बझाङः बागलुङको सिद्धार्थ बैंकमा कार्यरत कमल पौडेलको टोली अघिल्लो साता खप्तड भ्रमणमा आयो। १५ दिन बिदा लिएर आएको टोलीले खप्तडमा एक हप्ता नै बस्ने योजना बनाएको थियो। आइतबार खप्तड पुग्नुभएका उहाँहरू दुई दिन नबस्दै फर्किए।

सोमबारको साँझ डोटीको झिग्रानामा उहाँहरू बास बसे। खप्तड घुम्ने समय छुट्याएको टोलीले डोटीको शैलेश्वरी हुँदै डडेल्धुराको उग्रतारा, कञ्चनपुरको शुक्लाफाँटा, दोधारा–चाँदनी, कैलालीको घोडाघोडी ताल हुँदै बर्दियाको ठाकुरद्वारा गएर बिदाको समय सके।

खप्तडमा साता दिननै योजना बनाएर आउनुभएका उहाँहरूले खाने, बस्ने समस्या भएको भन्दै बसाइ छोट्याए। “सामाजिक सञ्जालमा खप्तडबारे धेरै नै जानकारी लिएका थियौँ”, पौडेलले भने, “तस्बिर तथा भिडियोमा खप्तडका सुन्दर फाँटहरू, ढकमक्कै ढाकेका सल्लादेखि समग्र खप्तडको सुन्दरता देखेर २ वर्षअगाडि नै खप्तड जाने सोच बनाएका थियौँ।

सबैको समय भने यो पटक मात्रै मिल्यो।” पौडेलका अनुसार खप्तड प्रकृतिले दिएको सुन्दरताबाहेक अन्य सुविधाको कमी छ। “खप्तड सोचेभन्दा सुन्दर छ, तर टिक्न भने एकै दिन पनि मुस्किल हुन्छ। खप्तडको सुन्दरता हेरेर चिसो तथा भोकमा टिक्न सकिँदैन उनले भने। खप्तड पुगेपछि पौडेलको टोलीलाई बास पाउनै हम्मेहम्मे भयो।

“खप्तड पर्यटन क्षेत्र विकास समितिले बनाएको भवनमा २०÷२५ जना मात्रै अटाउने रहेछन्”, उनले भने, “बाँकी बस्नलाई ठाउँ नै छैन। चिसो बढ्दै गयो। हामी त फर्किने सोचमा थियौँ। पछि पसलवालाले नेपाली सेनासँग आग्रह गरेर उहाँको पाहुना घरमा बस्यौँ।”

मोरङका राजनारायण चौधरीको टोली दसैँ र तिहारको बीचमा खप्तड घुम्न आयो। ६ जनाको टोली लिएर आएका चौधरीलाई खप्तड पुगेपछि लेक लाग्न सुरु भयो। टोलीका अन्य सदस्यले बोकेको औषधिले साँझ ब्यारेक पुग्नुभयो र थप उपचार नेपाली सेनाले ब्यारेकमै गरिदियो। 

“खप्तड पुग्न बाटोमा पनि निकै समस्या भयो,” उनले भने, “ब्यारेक पुगेर भोलिपल्ट सहश्रलिङ्ग जाँदा बाटोमै चार घण्टा अलमलमा प¥यौँ। सिधा बाटो नभएर अन्तै मोडिएछ। साँझ मात्रै होटल पुग्यौँ। सरकारले बाटो राम्रो बनाएको भए त्यस्तो समस्या हुने थिएन।” चौधरीका अनुसार खप्तडमा राज्यको पर्याप्त लगानी गर्ने हो भने हजारौँको सङ्ख्यामा पर्यटक आउँछन्।

“ हामी पुगेको साँझ पनि त्यसै दिन खाली भएको कोठा भेटियो। पछि आउनेहरू त ८ बजेसम्म पनि कोठा खोज्दै थिए। सरकारले खाने, बस्ने व्यवस्था मात्रै गरिदिए हुन्थ्यो”, उनले भने । मोरङका रूपेश केसीको टोली पनि तिहारको दोस्रो दिन खप्तड पुग्यो। समाचार पढेकै आधारमा खप्तड पुग्नुभएका उहाँहरू खप्तडमा दैनिक २ घण्टा ध्यान गर्ने तयारीका साथ आउनुभएको थियो।

“स्वर्गजस्तो ठाउँमा ध्यान गर्न पाए बडो आनन्द आउँछ भन्ने सोचले खप्तड आइयो। यता खाना, बस्नैको समस्या रहेछ”, उनले भने। भोलिपल्टै बझाङ हुँदै तराई झरेको उनले सुनाए। “सरकारले लगानी गर्नुपर्ने ठाउँमा केही नगरेको देखियो,” उनले भने, “खप्तड जाने गतिलो बाटो र खाने, बस्ने होटलको व्यवस्था गरेको भए राज्यले करोडौँ रूपैयाँसम्म कर उठाउने गरी पर्यटकको ओइरो लाग्थ्यो।

तर खप्तडमा राज्यले लगानी नै नगरेको देखियो,” उनले भने। खप्तड भ्रमणमा आउनुभएका काभ्रेपलाञ्चोक पाँचखालका जीवन नेपालको टोलीलाई भने खप्तडमा राम्रै भयो। उहाँको टोली खप्तडमा चार दिन बस्यो। उनले भने, “धेरै साथीहरूलाई खान, बस्नको समस्या भएर दोस्रो दिन निस्किए। हामीले भने तीन कोठा सुरुमै रिजर्भ गरेको हुँदा त्यस्तो समस्या भएन। जे होस् पूरै खप्तड घुमियो।”

नेपालको टोलीसँगसँगै आएको अर्को टोली भने खप्तडमा दुई÷चार ठाउँ घुमेर त्यसै दिन फर्कियो। नेपालले भने, “उनिहरुले  कोठा पाएनन। अन्त बस्न पनि केही नभएपछि त्यसै दिन फर्किए।” खप्तडमा आएर अलपत्र परेका पर्यटकलाई मानवीय सहायता गरेर बस्न दिनु परेको श्री सिंह सार्दूल गुल्मका गुल्मपति विनोदबहादुर सिल्वालले बताए।

“खप्तडमा सयौँको सङ्ख्यामा पर्यटक आउनुहुन्छ, पर्यटन क्षेत्र विकास समितिको होटलमा २५ जनालाई मात्र ठाउँ हुन्छ। त्यसपछि हामीलाई भन्छन, खप्तडको जाडोमा बाहिरै सुत्नुभन्दा मानवीय सहायता गर्नैपर्यो”, उनले भने। “पर्यटकको व्यवस्था गर्ने हामीले त होइन, छुट्टै निकायहरू छन्। हामीले त सुरक्षा दिने हो। तर, राति, मध्यराति बास नपाएर आउनुहुन्छ, अनि हामीले सकेजति सहयोग गर्नैपर्यो”, उनले भने।

खप्तडमा नेपाली सेनाले बस्नका लागि मात्रै होइन, हजारौँको निःशुल्क उपचार पनि गरिरहेको छ। खप्तडमा बाटो हिँड्न बटुवादेखि घुम्न आएका पर्यटकको उपचार नेपाली सेनाले गरिरहेको उनले बताए। “बिरामी भएर आउनुहुन्छ, खप्तडमा लेक लाग्ने समस्या उस्तै हुन्छ। हामीले सके जति सहयोग गरिरहेका छौँ”, उनले भने। सेनाले हरेक वर्ष मेलामा निःशुल्क शिविर आयोजना गर्दै आएको छ।

दैनिकजसो १५÷२० जना खप्तड हिँड्नेले पनि सेवा लिइरहेका छन्। यता खप्तड पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर खड्का भने खप्तडमा पर्याप्त व्यवस्था नभएको स्वीकार्दै पर्यटकले जानकारी गराएर मात्रै भ्रमणमा आउन सुझाव दिन्छन। “खप्तडमा पर्याप्त व्यवस्था गर्न सकेका छैनौँ। अहिले पर्यटकको सङ्ख्या पनि बढिरहेको छ। खप्तडमा ३०÷३५ जनाभन्दा बढीका लागि व्यवस्था छैन। आउने पर्यटकले हामीलाई खबर गरेर आउनुभयो भने केही व्यवस्था गर्छौं। हामीलाई खबर नगरी आउनेले दुःख नै पाउँछन्”, उनले भने।

खड्काका अनुसार पर्यटकको व्यवस्थाका लागि भवनहरू पुनर्निर्माण भइरहेका छन्। “यसभन्दा अगाडि बस्न पनि नमिल्ने भएका भवनहरू हामीले बस्न मिल्ने बनाएका छौँ। खप्तड आउने पर्यटकले हामीलाई जानकारी गराएर आउने हो भने हामी सके जति सहयोग गर्छौं”, उनले भने। उनले खप्तड भन्दैमा सबै सुविधा भएको होला भनेर नसोच्न पर्यटकलाई आग्रह गर्नुभयो । रासस

कमेन्ट लोड गर्नुस