सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली सिँचाइ आयोजनाः ‘पानी ल्याउने विषय अन्योल’

२०७९ मंसिर १५, ०३:४७

महेन्द्रनगर : महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत बनेको मूलनहरमा पानी परीक्षण गरिए पनि नियमित गर्ने विषय टुङ्गोमा पुग्न सकेको छैन। गत असार १५ मा भारतीय पक्षले मूल नहरमा पानी छाडेको थियो। राष्ट्रिय गौरवको आयोजनामा समेटिएको सो आयोजनामा तेस्रो चरण अन्तर्गत हालसम्म २६ किलोमिटर मूलनहर बनिसकेको छ। 

महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जिनीयर शम्भु पण्डितले नहरमा नियमित पानी ल्याउने विषयमा भारतीय पक्षसँग कुराकानी नभएको बताए। उहाँले हाल निर्माणाधीन मूलनहरका केही स्थानमा प्राविधिक समस्या देखिएकाले सो विषयमा ध्याना दिइएको जानकारी बताए। “गाउजी क्षेत्रको दोस्रो प्याकेजमा पर्ने जङ्गलक्षेत्रमा प्राविधिक समस्या हुँदा नहरमा नियमित पानी ल्याउने विषयमा कुरा भएको छैन”, उनले भने “पानी ल्याएर कहाँ हाल्ने भन्ने विषयको पनि टुङ्गो छैन।

” विसं २०६४ देखि सुरु भएको आयोजना विसं २०७५ मा आइपुग्दा १२ किलोमिटर मूलनहर निर्माण भएको थियो। पछिल्लो समय आयोजनाले गति लिएको इञ्जिनियर पण्डितको भनाइ छ। विसं २०७५ अघिसम्म मुआब्जा विवाद, बजेट अभाव लगायतका समस्याले जेलिएको थियो”, उनले भने, “अब समस्या नभएकाले आयोजनाले गति लिएको हो।”

एक सय ५१ किलोमिटर मूलनहर निर्माण गरी कैलालीको मालाखेतीसम्म ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको आयोजनाले अहिले २८ किलोमिटरदेखि ४८ किलोमिटरसम्मको २० किलोमिटर मूलनहर निर्माणको प्रक्रिया अघि बढाइरहेको छ। 

“मूल नहर निर्माणको स्टिमेट बनाएर स्वीकृतिका लागि सिँचाइ विभागमा पेस गरेका छौँ, उनले भने, “स्वीकृति आउनासाथ अरु प्रक्रिया अघि बढ्छ।” हाल तीन चरणमा निर्माण भइरहेको मूलनहरको पहिलो चरणमा साढे पाँच किलोमिटर मूलनहरको काम सकिएको छ भने दोस्रो चरणमा पाँच किलोमिटरको पनि ९० प्रतिशत सकिएको आयोजनाले जनाएको छ।


त्यसैगरी तेस्रो चरणमा पाँच किलोमिटरको ७५ प्रतिशत काम सकिएको र बाँकी निर्माण भइरहेको छ। आयोजना अघि बढाउनका लागि हाल रु एक अर्ब २४ करोड रकम विनियोजित छ। त्यसैगरी शून्यदेखि २८ किलोमिटरसम्मको मूल नहर अन्तर्गत शाखा नहर निर्माणका लागि दुई प्याकेजमा ठेक्का सम्झौता भइसकेको आयोजनाका इञ्जिनियर पण्डितले बताए। “४८ किलोमिटर शाखा नहर बनाउन ठेक्का भइसकेको छ, उनले भने“ त्यसका लागि रु एक अर्ब बढीको ठेक्का सम्झौता भइसकेको छ।” रासस

कमेन्ट लोड गर्नुस