सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा विष्ट हत्या प्रकरणः सीआईबीले थाल्यो अनुसन्धान, केही पक्राउ 

२०७९ मंसिर ११, ०५:२३ खबर संवाददाता

धनगढीः दार्चुलाका मृत फेला परेका नरसिंह विष्टको शव अझै जिल्ला अस्पतालमै छ। आफन्तले बुझ्न मानेका छैनन्। ब्याँस गाउँपालिका ४ डोकटका विष्टको शव ४ मंसिर (चुनावकै दिन) घर नजिकैको खोलामा भेटिएको थियो।

३ मंसिर रातिदेखि बेपत्ता भएका ३५ वर्षीय विष्ट भोलिपल्ट मृत भेटिएका थिए। विष्टको शरीरमा चोटपटक लागेको अवस्थामा शव फेला परेको थियो। खलंगामा होटल चलाउँदै आएका विष्टलाई अज्ञात समूहले कुटपिट गरी हत्या गरेको आशंका गरिएको छ। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खलंगामा राखिएको छ।

विष्टका आफन्तले भने दोषीलाई कारबाही नभएसम्म शव अस्पतालबाट नउठाउने बताइरहेका छन्। सत्ता गठबन्धनका कार्यकर्ताले विष्टको हत्या गरेको आफन्तले आरोप लगाएका छन्। ४ मंसिरमा विष्ट भोट हाल्न नआएपछि स्थानीयले खोजी गर्दा मृत फेला पारेका थिए।

स्थानीयका अनुसार ३ मंसिरको राति नेपाली कांग्रेस र माओवादी केन्द्रका युवा विष्टको गाउँ पुगेका थिए। त्यही राति पूर्व गाउँपालिका अध्यक्ष दिलिपसिंह बुढाथोकीको मोटरसाइकलमा समेत आगजनी भएको थियो। आगजनी कसले गरेको हो त्यो पनि खुलेको छैन। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी तर्कराज पाण्डेयका अनुसार घटनाको अनुसन्धान भइरहेको छ। शवको प्रकृति हत्या भएको जस्तो देखिएको उनले बताए। 

प्रहरी स्रोतका अनुसार विष्टको हत्या अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीसमेत घटनास्थल पुगेको थालेको छ। केही युवालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस