सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकारितासँगै समाज सेवामा उदाएका प्रकाश

२०७९ मंसिर ११, ११:३८ खबर संवाददाता

बाजुरा: बाजुराको बडीमालिका नगरपालिका-१ की भिडि लुवार श्रीमान बचाइदिनु पर्यो भनेर एक महिना पहिला प्रकाश कहाँ पुगिन्। उनका श्रीमान ५१ वर्षीय बल लुवार भेरी अस्पताल नेपालगञ्जको बेडमा उपचार अभावमा भौतारिरहेका थिए।

श्रीमान बचाउन सहयोगका लागि धेरै ठाउँमा गुहार मागेकी भिडि कतैबाट सहयोग नपाएपछि प्रकाश कहाँ आएकी थिइन्। बडीमालिका नगरपालिकाले पनि प्रकाश सिंह कहाँ जानु भनेपछि प्रकाश खोज्दै उनीकहाँ पुगिन्। प्रकाशलाई भेटेपछि मुटुको अप्रेसन गर्नुपर्ने एक पैसा पनि नभएको बताइन्।

७० हजार भए उनको उपचार सकिने र तत्काल ४५ हजार जम्मा गर्न अस्पतालले बताएको उनले सुनाइन्। प्रकाशले उनको समस्या सञ्चार माध्यममा बाहिर ल्याएसँगै उपचारका लागि पहल सुरु गरे। एकजना विदेशी नागरिकले सिंहले लेखेको समाचार पढेपछि ७० हजार सहयोग गरे। पैसा पाएपछि बल उपचार भएर अहिले घर फिर्ता भइसकेका छन्।

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका बस्ने ५३ वर्षीय पूर्णबहादुर धामी मुटुको अप्रेसनका लागि डेढ महिना पहिला काठमाडौ पुगे। गंगालाल हृदय केन्द्र र मनमोहन हृदय निवारण केन्द्रमा जाँच गराए। दुबै ठाउँमा उनको तिनओटा मुटुको भल्भको अप्रेसन गर्नुपर्ने भएकाले ३ लाख ५० हजार जम्मा गर्न अस्पतालले भन्यो।

आर्थिक अभावले समस्यामा परेका उनी उपचार गर्न नसक्दा काठमाडौं भौतारिरहे। प्रकाश काठमाडौ आएको खबर पाएपछि उनले प्रकाशलाई भेटेर उपचारमा सहयोग गर्न आग्रह गरे। सिंह आफै पनि काठमाडौैंमा उपचारमा पुगेका थिए।

पूर्ण आर्थिक अभावमा उपचार गर्न नसकेको जानकारीपछि सिंहले काठमाडौमा विभिन्न सहयोगी संस्थासँग समन्वय गरे। समन्वयपछि काठमाडौंमा रहेको मेडिकल पुर्नस्थापना केन्द्रले उपचार सहयोग गर्ने गरी उपचार सुरु गरेका छन्। संस्थाले खान बस्नदेखि उपचार सहयोग गर्नेछ।

बाजुराको बुढीनन्दा नगरपालिका २ कोल्टी बस्ने रघु सार्कीका छोरा १५ वर्षका गोविन्द्र सार्की र १० वर्षका रामलाल सार्की जन्मेदेखि नै रोग पालिरहेका थिए। स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव थिएन। अन्यत्र लग्ने पैसा नभएकाले वर्षौँदेखि रोग पालिरहेका थिए।

उनको समस्या थाहा पाएपछि पत्रकार सिंहले उनीहरुको कथा बाहिर ल्याए। त्यसपछि उनीहरुको उपचारका लागि सामाजिक अभियान सुरु गरे। दुबै भाइको काठमाडौंमा एक वर्ष उपचारपछि घर फिर्ता भएका छन्। उनको झण्डै २५ लाख खर्च भएको थियो।

यी केही उदाहरण मात्र हुन्। उनले धेरैको ज्यान बचाएका छन् भने अलपत्र परेका थुप्रै बालबालिकाको उद्धार समेत गरेका छन्। एक दशक अगाडि गाउँबाट हातेपत्र लेखेर पत्रकारिता सुरु गरेका पत्रकार सिंह यतिबेला पत्रकारिता क्षेत्रमा मात्र सिमित छैनन्। बाजुराका दिन दुःखीको मानव सेवामा पनि समर्पित छन्। 

उनले पत्रकारितासँगै बेसाहारा साहाराविहीन ८२ जना बालबालिकाको उद्धार गरिसकेका छन्। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका १० जना असहाय बालबालिकालाई मासिक ३ हजारका दरले पठनपाठनमा सहयोग गरिरहेका छन्।उपचार नपाएर अलपत्र रहेका ६० जनाभन्दा बढीलाई आर्थिक संकलन गरी नयाँ जीवन दिनमा समेत सहयोग गरेका छन्। प्रकाशले पत्रकारिता पेसासँगै  मानवसेवाको माध्यमबाट आफ्नो क्यारियर पनि उत्तिकै चौडा बनाएका छन्। 

स्वास्थ्यकर्मीको पृष्ठभूमि बोकेका प्रकाश यतिबेला समाचार अनि सामाजिक अभियानमार्फत बाजुराका दर्जनौँ मानिसलाई लाखौँ रुपैयाँ बराबरको सहयोग गरिरहेका छन्। गरिब, असहाय र अशक्त भएकै कारण स्कुल छोडेका बालबालिकाको उद्धार पनि उत्तिकै गरेका छन्। 

समाजमा कतिपय मानिस आफू बाँच्न हरेक तिक्डम गर्छन् तर, प्रकाश भने बैठकमा उपस्थित भएबापत पाउने भत्ता पनि असहाय महिलालाई सहयोग गर्छन्। खुट्टो भाँचिएपछि सडकमा अलपत्र परेकी कोर्धकी एकल महिला धना वडुवाललाई सडकवाट उद्धार गरी बयलपाटा अस्पतालमा पुगाउँदा धनाले नयाँ जीवन पाएको महसुस गरेकी छन्। 

अधिकारकर्मी गोरख सार्कीले प्रकाश साँच्चै भगवान भएको उनको कारणले धेरैको ज्यान बाँचेको बताए। त्यसैगरी बुवाको मृत्युपछि आमाले दोस्रो बिहे गरी हिँडेपछि सहराविहीन भएका पाँच भाइबहिनीको उद्धार गरी अहिले भक्तपुरस्थित एसओएस बालग्राममा अध्ययनरत छन्।

अलपत्र परेका असहायका लागि सहयोगवापत २ करोड बढी रकम संकलन गरी हस्तान्तरण गरेका छन्। प्रकाशको अभियानमा सहयोगी हात जुटाएर उनीहरुले  नयाँ जीवन जिउन पाएका छन्। खोज पत्रकारितालार्ई आफ्नो बेस बनाएका उनी फिल्डमा असहाय देखेर समाचार लेख्नुभन्दा पहिले आफै उद्धारमा खटिन्छन्। उद्धारपछि समाचारका विषवस्तु बनाउँछन्। पहिले पीडितको उद्धार, त्यसपछि अन्य काम गर्नु आफ्नो मूल द्येय रहेको प्रकाश बताउँछन्। 

बडीमालिका नगरपालिका ७ जिल्लीका बादुर दमाई ३ महिना जिल्ला अस्पताल बाजुरामा उपचार गर्दा सञ्चो भएन। प्रकाशले उनको समस्याबारे बाहिर ल्याएपछि काठमाडौंमा रहेको सुस्मा कोइराला अस्पतालमा उपचारपछि सञ्चो भएर घर फर्केका छन्। ५ महिना काठमाडौं बसेर दाँया खुट्टाको अप्रेसन गरिएको थियो भने बाँया खुट्टामा कृत्रिम खुट्टा हालेर अहिले घर फर्केको बादुरले बताए। उनको उपचारका लागि सबै खर्च ५ लाख जति लागेको थियो।

नागरिकता नपाएका गन्धर्व समुदायलाई नागरिकता बनाउनमा पहल सहयोग, असहाय वर्गका लागि वकालत र पैरवी हिमाली गाँउपालिकाको कवाडीमा नुन र चामलको डिपो स्थापना गर्नका लागि पटक पटक अगुवाई गर्दा गुम्बावासीलाई नुन चामलमा पहुँच पुगेको छ। 

हिमाली गाँउपालिका-३ को गुम्बा गाँउमा स्थलगत रिपोर्टिङपछि मतदान केन्द्र स्थापना भएको छ। जहाँ ६० जना मतदाता रहेका छन्। विगत एक दशकदेखि   पत्रकारिता र मानवअधिकारका क्षेत्रमा काम गर्दै आएका प्रकश दुर्गम गाउँ बस्तीमा पुगेर मानवअधिकारको वकालत र पैरवी गर्दै आएका छन्। 

पछिल्लो समयमा दुखी विरामी पत्ता लगाउनु र सामाजिक सञ्जालमार्फत सहयोग अभियान चलाउनु, संकलित रकमबाट मानव सेवामा लगानी गर्नु उनको दैनीकी बनेको छ। आफू बाँचुञ्जेल परोपकारमा सकृय रहने र मानव सेवा जस्तो अरु कुनै धर्म नहुने उनको बुझाई छ। यतिबेला असहाय गरिबका लागि पत्रकार प्रकाश उर्जा र प्रेरणाका श्रोत बनेका छन्। 

उनी अब पत्रकार मात्र नभई सामाजिक अभियानमा बढी परिचित रहेको नागरिक अगुवा शेरबहादुर शाहीले बताए। सिंहले घरबारविहीन ३ परिवारको घर निर्माण समेत गरिदिएका छन्। अलपत्र परेको जानकारी भएपछि तिन परिवारको विभिन्न सहयोगीको सहयोगमा घर निर्माण गरिदिएका हुन्। 

कोभिडको महामारीमा अक्सिजन खाद्यन्न सहयोग 

कोभिडको महामारीमा सिंहले बिरामीलाई अक्सिजन सहयोग गरेका थिए। आफू पनि दुइपटक संक्रमित भएका थिए। जिल्ला अस्पताल बाजुरालगायत अन्य स्वास्थ्य संस्थालाई ७ लाख बराबरको अक्सिजन सिलिन्डर खरिद गरेर सहयोग गरेका थिए। 

अक्सिजन अभावका बेला अक्सिजन सहयोग अभियान सुरु गरी नेपाली तथा विदेशी संघसंस्था तथा व्यक्तिको सहयोगमा ४२ ओटा अक्सिजन कन्सन्ट्रेटर हुम्ला र बाजुराका स्वास्थ्य संस्थामा सहयोग गरेका थिए। 

कोभिडको महामारीको बेला भारतबाट रोजगारी गुमाएका तथा चरम खाद्य संकटको मार खेपिरहेका हुम्ला र बाजुरामा १२ सय बढी परिवारलाई खाद्यान्न सहयोग गरेका थिए। सिंहले कोभिड महामारीको बेला कोही भोको रहेमा हामी खाद्यन्न सहयोग गर्छौँ अभियान चलाएका थिए। उक्त अभियानमा मात्र ३ सय ५० परिवारलाई एक महिना बराबरको खाद्यन्न सहयोग गरेका थिए।  

पाएको पुरस्कार रकम दुखि पीडितलाई

पत्रकार सिंहले आफूले पाएको पुरस्कार बाफतको रकम पनि दुखि पीडितका लागि नै सहयोग गरेका छन्। सिंह २०७६ सालमा नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल इन्जाद्वाारा स्थापित सामुदायिक पत्रकारिता पुरस्कारबाट सम्मानित भए। उनले पाएको ५ सय अमेरिकि डलर विपन्नलाई सहयोग गरेका छन्।

कुपोषणको समाचार लेखेर अवार्ड पाएका सिंहले कुपोषणको सिकार भएका अलपत्र बालबालिकालाई सहयोग गरेका छन्। सिंहले पाएको रकमबाट बुढीनन्दा नगरपालिका १ का पुर्वा दमाईका कुपोषित छोराको उपचारमा सहयोग गरे। २ महिनाको छोरालाई जिल्ला अस्पताल बाजुरामा उपचारमा सहयोगसँगै भैसी किन्नमा सहयोग गरेको आमा पुर्वा दमाईले बताईन्। उनले सहयोग नगरे छोरा बचाउन नसकिने बताउँदै उनले अहिले उनकै कारण छोरा बाँचेको बताइन्। 

सोही रकमबाट जगन्नाथ गाउँपालिका ५ का पुल्ती रावलका नवजात शिशुलाई दुध किन्नमा सहयोग गरेका थिए। आमा पुल्ति रावलको बच्चा पाएको ४ घण्टामै मृत्यु भएको थियो। सिंहकै समन्वयमा अहिले पुल्ति रावलका ४ नाबालक बच्चा एसओएस बालग्राम लुम्बीनीमा रहेका छन्। 

गरिबी निवारण कोष राष्ट्रिय पत्रकारिता पुरस्कार २०७४ बाट सिंह सम्मानित भए। ४० हजार नगद पाएका सिंहले त्यो बेला खाद्यन्न संकट परिरहेका ७ जना हलिया परिवारलाई खाद्यन्न सहयोग गरेका थिए। पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले सिंहलाई जेपी जोशी स्मृति पत्रकारिता पुुरस्कारबाट सम्मानित गर्यो। सिंहले सम्मान बाफतको रकम जसको नामबाट पाएका थिए उनकै परिवारलाई हस्तान्तरण गरेका थिए। सम्मान बाफत १२ हजार नगद पाएको रकम जेपी जोशीको घरमै पुुगेर पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाँउलेमार्फत हस्तान्तरण गरेका थिए। 

कैलालीको गोदावरी नगरपालि ३ मालाखेती बस्दै आएका जेपी जोशीका परिवालाई भेटेर रकम प्रदान गरिएको थियो। जेपी जोशी २०६५ असोज २२ गते बेपत्ता भएका थिए भने मंसिर १३ गते मालाखेती जंगलमा उनको शव भेटिएको थियो। जोशीकी श्रीमती बसन्ती जोशी, छोरी पूजा जोशी र गिता जोशी रहेका छन्। 

पत्रकार सिंहले भत्ताको ८६ हजार रकम असाहयलाई सहयोग

नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका निर्वतमान अध्यक्ष तथा पत्रकार प्रकाश सिंहले आफ्नो चार वर्षभरिको बैठक भत्ता असहायलाई सहयोग गरेका छन्। पत्रकार महासंघको अध्यक्षमा निर्वाचित भइसकेपछि आफ्नो कार्यकालमा विभिन्न बैठक, गोष्ठि तथा कार्यक्रमबाट प्राप्त भएको रकम जिल्लाका पीडितहरूलाई सहयोग गरेका हुन्।

४ वर्षको कार्यकालमा विभिन्न बैठक, गोष्ठि तथा कार्यक्रममा पत्रकार महासंघ बाजुरा शाखाको अध्यक्ष बाफत पाएको भत्ता रकम ८६ हजार ५ सय असाहयलाई सहयोग गरेका थिए। सिंह २०७३ फागुन २४ गते अध्यक्षमा निर्वाचित भएका थिए। सिंहले २०७४ असार २७ गते १५ हजार ८० टुहुरा असहाय बालबालिकालाई सहयोग गरेका थिए। 

त्यस्तै बडीमालिका नगरपालिका–८ राप्कामा घर भएकी ५१ वर्षीया एकल महिला पारू थापालाई १७ हजार ३ सय ४४ रुपैया सहयोग गरेका थिए। उनले ४ वटा बाख्रा किनेर बाख्रा पालन गरेकी छन्। ६ वर्षअघि श्रीमान गुमाएकी थापालाई उनीसँग भएका दुई छोरालाई हुर्काउन सार्है समस्या भएको थियो।

त्यस्तै भालुको आक्रमणबाट घाइते बनेकी बडीमालिका नगरपालिका–९ की कञ्चना उखेडाको उपचारका लागि वीर अस्पताल काठमाडौंमा ५ हजार रकम सहयोग गरेका थिए। त्यस्तै त्रिवेणी नगरपालिकाका क्यान्सर पीडित नवीन पाध्यायको उपचार खर्चका लागि ५ हजार र आर्थिक अभावमा जीवनमरणको दोसाँधमा रहेका हिमाली गाँउपालिका ६ पाडिका शान्त लुवारलाई उपचारमा २० हजार सहयोग गरेका थिए।

बडमिालिका नगरपालिका ७ जिल्लीका बादुर दमाईको उपचारमा १० हजार, बुढीनन्दा नगरपालिका २ कोल्टीका रघु सार्कीका छोरालाई उपचार खर्चमा १५ हजार सहयोग गरेका थिए। जगन्नाथ गाउँपालिका ५ का पुल्तिसराका अलपत्र चार छोराछोरीलाई लुुगाकपडा खाद्यन्न सहयोग गरेका थिए। त्यस्तै अन्य असहायलाई समेत सहयोग गरेर उनले आफ्नो कार्यकालमा भत्ता बाफतको रकम मात्र ८६ हजार ५ सय सहयोग गरेका छन्।

जिल्लामा पत्रकार महासंघ शाखाको नेतृत्व सम्हालेयता विभिन्न असहाय, टुहुरा बालबालिका, महिला, जनजातिलाई विभिन्न आर्थिक, भौतिक सहयोग गरेका थिए। बाजुरामा २०६७ पुसबाट पत्रकारिता सुरु गरेका उनले असहाय तथा पिछडिएका वर्गबारे कलम चलाउँदै आएका छन्।

कमेन्ट लोड गर्नुस