सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा हाकिमसहित जनप्रतिनिधिको ‘मदिरा पार्टी’ मा विवाद, वडाध्यक्षले फुटाए टेबुल

२०७९ मंसिर ११, ११:२३ खबर संवाददाता

धनगढी: कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिको ‘मदिरा पार्टी’ मा विवाद भएको छ। प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यको सरकारी क्वार्टरमा गरिएको ‘मदिरा पार्टी’ मा नगर प्रमुख खडकबहादुर रावत र उनीबीच विवाद भएको थियो।

शनिबार राति नगर प्रमुख रावतसहित केही वडाका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृत आचार्यको सरकारी निवासमा मदिरा सेवन गरेका थिए। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले क्वार्टर नजिकै रहेको होटल माछा घरमा जम्मा भएका मेयरसहितका केही वडाका अध्यक्षहरुसँग आचार्यले आफ्नो क्वार्टरमा लगेर पुनः खानपिन गरेको सुनिएको बताए।

घटनाबारे आधिकारीक रुपमा जानकारी प्राप्त नभएपनि सोही क्रममा प्रशासकीय अधिकृतको निवासमा मदिरा सेवनपछि वादविवाद भएको सुनिएको बताए। प्रशासकीय अधिकृत आचार्यले आफ्नो निवासमा लगेर अपशब्द बोलेपछि विवाद हुँदा वडा नम्बर १ का अध्यक्ष घनश्याम ओझाले लात्ता प्रहार गर्दा टेबुल फुटेको बुझिएपनि कुनै पक्षले घटनाबारे औपचारिक रुपमा जानकारी नदिएको उनले बताए। उनले विवादका क्रममा हातपात भने नभएको भन्ने बुझिएको बताए। 

नगरपालिकाकी उप-प्रमुख गुलिया चौधरीले आपसी खानपिनपछि विवाद भएको बताइन्। अहिले सोही बारेमा छलफल चलिरहेको उनले बताइन्। 

कमेन्ट लोड गर्नुस