सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपहाडमा विस्तार हुँदै ट्राउट माछापालन

२०७९ मंसिर ११, ०८:१९ खबर संवाददाता

धनगढीः चिसो पानीमा पालिने भएका कारण ट्राउट माछाको स्वाद विशिष्ट किसिमको हुन्छ। ट्राउट माछा शून्यदेखि २१ डिग्री सेन्टिग्रेट तापक्रममा बाँच्न सक्छ। तर, यसको राम्रो वृद्धिका लागि १० देखि २० डिग्री सेन्टिग्रेट तापक्रम उपयुक्त मानिन्छ।

सुदूरपश्चिमका पहाडी जिल्लामा पनि रेम्बो ट्राउट माछापालन व्यवसायिक रुपमा विस्तार भएको छ। डोटीको जोरालय गाउँपालिका वडा नम्बर ५ गडसेराको सिमरामा गडसेरी गाडबाट सुरु भएको ट्राउट माछाको व्यवसायिक पालन प्रदेशका अन्य जिल्लामा पनि विस्तार भएको हो। प्रदेशका दार्चुला र बाजुरामा ट्राउट माछाको व्यवसायिक पालन थालिएको हो।

दार्चुलाको नौगाडका किसान गणेश धामीले आफूले ट्राउट माछाको व्यवासायिक पालन थालेको बताए। उनका अनुसार सो क्षेत्रमा ट्राउट माछा पालनको राम्रो सम्भावना छ। सुदूरपश्चिम प्रदेशको डोटीको जोरायल, दार्चुलाका २ ठाउँ तथा बाजुराको एक खोलामा ट्राउट माछाको व्यवसायिक पालन थालिएको हो।

प्रदेशको पहाडी जिल्लामा ट्राउट माछा पालनको सम्भावना रहेको भन्दै प्रदेश सरकारले अनुदानसमेत दिँदै आएको छ। डोटीको जोरायलको गड्सेरी गाडमा पालन गरिएका माछा बाढीले बगाएको थियो। फेरि माछा पालन सुरु गरिएको छ। गड्सेरी गाडमा शेरबहादुर देउवा, लिलाधर बिष्ट, हेमबहादुर बिष्ट र डबल ताम्राकारले संयुक्त रुपमा ट्राउट माछा पालन गर्दै आएका हुन्। माछा पालक किसान लिलाधर विष्टले ट्राउट माछा वर्षातको समयमा बाढी बगाएको बताए। उनका अनुसार अहिले पुनः पोखरीमा ट्राउटका माछा छन्। 

अध्ययनले पनि सुदूर पहाडका भिरालो जमिनमा महँगो रेन्बो ट्राउट माछा फलाउन सकिने निष्कर्ष निकालेको थियो। तर यसतर्फ किसानहरु आकर्षित हुन सकेका थिएनन्। सुदूरपश्चिम प्रदेशमा किसानको संख्या विस्तार हुँदै आएको छ। प्रदेश सरकारले अनुदान दिने भएकाले पनि किसानको संख्या वृद्धि हुँदै गएको हो।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाजुराका प्रमुख पशुपती नाथले जिल्लामा पालन सुरु गरिएको ट्राउट माछा वर्षातको समयमा बाढीले बगाएको थियो। अहिले सो ठाउँमा पुनः माछा छन्। उनले भने, ‘केही मरेका पनि थिए। उहाँहरुले ठुला माछा हाल्नुभएछ। मौसमले पनि साथ दिएन। अहिले पुनः हाल्नुभएको छ।’

नेपालका रेन्बो ट्राउटपालन सन् १९८९ बाट सुरु भएको हो। त्यसबखत जापान सरकारले ५० हजार माछाका भुरा उपहार स्वरुप नेपाल पठाएको थियो। नुवाकोटको त्रिशूलीमा परीक्षण उत्पादनका लागि राखिएको थियो। परीक्षण गरिएको ट्राउटको बिक्री वितरण सन् १९९७ मा पहिलो पटक गरिएको थियो।

त्ययसपछि नेपालमा व्यवसायिक रुपमा रेम्बो ट्राउटपालन सुरु भएको भएपनि प्रदेश सातमा भने केही महिना अघि मात्रै यसको पालन सुरु भएको छ। सुदूरपश्चिम प्रदेशमा रेम्बो ट्राउट माछाको व्यावसायीक पालन विस्तार हुँदै गएको हो। चिसो र बहाउ भएको पानीमा पालन गर्न सकिने ट्राउट सुदूरपश्चिममा विस्तार हुँदै गएको छ।

डोटीको जोरायलमा समूहिक माछा पालान हुँदै आएकोमा बाजुरा र दार्चुलामा पनि माछा पालन सुरु गरिएको छ। बाजुरा र डोटीमा पालन गरिएको ट्राउट बाढीले बगाएको थियो। किसानहरुले फेरि माछा पालन सुरु गरेका छन्।
 

कमेन्ट लोड गर्नुस