सुदूर नेपाललाई विश्वसँग जोड्दै

भाजपाले केजरीवाललाई मार्ने षडयन्त्र गरिरहेको दिल्लीका उप-मुख्यमन्त्रीको आरोप

२०७९ मंसिर १०, ०६:१२

एजेन्सी: दिल्ली नगर निगमको चुनावअगाडि भाजपा र आम आदमी पार्टीबीच आरोप–प्रत्यारोप बढ्दै गएको छ। एक नयाँ बयानमा दिल्लीका उप–मुख्यमन्त्री मनिष सिसोदियाले भाजपाले मुख्यमन्त्री अरविन्द केजरीवाललाई मार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

उनले भाजपा नेता मनोज तिवारीको ट्विटलाई लिएर यस्तो बताएका हुन्। मनोज तिवारीले बिहीबार ट्वीट गर्दै भनेका थिए ,‘म अरविन्द केजरीवाल जीको सुरक्षालाई लिएर चिन्तित छु। किनकि लगातारको भ्रष्टाचार, टिकट बिक्री र जेलमा बलात्कारीसँगको मित्रता तथा मसाजबाट कार्यकर्ता र जनता क्रोधित छन्। उनका एमएलएले पिटाई पनि गए। दिल्लीका मुख्यमन्त्रीसँग पनि यस्तै नहोस् ।।।सजायँ न्यायालय नै देओस्।’

तिवारीको ट्वीटको जवाफमा ट्वीट गर्दै दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले लेखेका छन् ,‘दिल्ली र गुजरातमा जुन किसिमको चुनावी माहौल छ, त्यसले भारतीय जनता पार्टी (भाजपा) लाई यति आत्तिएको छ कि उ षड्यन्त्रभन्दा माथि उठेर हत्याको योजना बनाउन थाल्यो।’ सिसोदियाले अगाडि लेखेका छन् ,‘उनीहरूले चुनावअघि अरविन्द केजरीवालजीलाई बदनाम गर्ने प्रयास गरे तर सफल भएनन्। त्यसैले हिजो मनोज तिवारीजीले केजरीवाल जीलाई एक किसिमले धम्की दिएका छन्। जसबाट स्पष्ट हुन्छ कि भाजपाले अरविन्द केजरीवालजीलाई मार्ने षड्यन्त्र गरिरहेको छ।’

सिसोदियाले भाजपा नेता मनोज तिवारीले प्रयोग गरेका भाषा पूर्ण रूपमा खुला धम्की भएको आरोप लगाए। नभए कसैले आक्रमण गर्न लागेको कुरा तिवारीलाई कसरी थाहा भयो भनेर सिसोदियाले प्रश्न गरेका छन्। उनले यसमा छानबिनको माग गरेका छन्। आम आदमी पार्टीको आरोपमा मनोज तिवारीले जवाफ दिएका छन्। ‘मैले हिजो अरविन्द केजरीवालजीको सुरक्षाको बारेमा चिन्ता व्यक्त गरेको थिएँ। म उनी सुरक्षित हुन भन्ने चाहन्छु। तर आम आदमी पार्टीले हत्याको धम्कीको धेरै पुरानो स्क्रिप्ट खेल्यो ,’ मनोजले स्पष्टिकरण दिँदै भनेका छन्। 

मनोज तिवारीले केही पुराना ट्वीटहरु शेयर गरेका छन्, जसमा आम आदमी पार्टीले मुख्यमन्त्री केजरीवाललाई मार्ने षड्यन्त्र गरेको आरोप लगाएको थियो। दिल्लीमा आगामी डिसेम्बर ४ मा नगर निगमको मतदान हुँदैछ। यसअघि यी दुई पार्टीबीच कडा प्रतिस्पर्धा छ। निगमको निर्वाचनको नतिजा मंसिर डिसेम्बर ७ मा सार्वजनिक हुनेछ।

कमेन्ट लोड गर्नुस