बैतडीमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम
बैतडी: आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जिल्लमा खटिएका कर्मचारीलाई तालिम दिइएको छ। जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार निर्वाचनमा जिल्लाभर खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी चार सय ३६ जनालाई एकदिने तालिम दिइएको हो।
जिल्लाका दुई सय १० मतदान केन्द्रमा खटिने चार सय २२ मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित जगेडामा रहेका थप १४ गरी चार सय ३६ जनालाई तालिम दिइएको हो। मतदान हुनुभन्दा पहिला खटाइसकेपछि र मतदानका दिन गर्नुपर्ने कामका बारेमा तालिममा सिकाइएको थियो। उनले भने, “मतदानपूर्व गर्ने, मतदानका दिन गर्ने, मतदानपश्चात् मतपेटिका सिल गर्नेबारे र मतदानको दिनभन्दा अगाडि सर्वदलीय बैठक बोलाउने लगायत विषयमा जानकारी गराइएको छ।”
तालिमपश्चात् आज कर्मचारीलाई निर्वाचन सामग्री हस्तान्तरण गरेर मतदान केन्द्रमा खटाइँदैछन्। निर्वाचनमा खटिने कर्मचारी मतपत्र र निर्वाचन सामग्रीसहित मङ्सिर १ गतेभित्र सम्बन्धित मतदान केन्द्रमा पुगिसक्नेछन्।
मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयम्सेवक र कार्यालय सहयोगी गरी जिल्लामा एक हजार छ सय ८४ जनशक्ति परिचालन गरिने भएको हो। निर्वाचनमा परिचालन हुने अन्य जनशक्तिलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले अभिमुखीकरण गर्ने जनाएको छ।
बैतडीमा एक सय २९ मतदानस्थलमा दुई सय १० मतदान केन्द्र छन्। यसका साथै एउटा अस्थायी मतदानकेन्द्र पनि तोकिएको छ। प्रतिनिधिसभाका लागि एक मात्र क्षेत्र रहेको जिल्लामा एक लाख ५० हजार एक सय ५६ मतदाता छन्। यहाँ ११ उम्मेदवार चुनावी मैदानमा छन्। प्रदेशसभाको दुई सिटका लागि पनि ११ उम्मेदवार प्रतिस्पर्धामा छन्।