धनगढीको जाखौर तालमा बत्ती जोडेपछि जुनकिरी र पुतलीको सत्यानाश
जैविक विविधता नासिँदै
धनगढीः वनस्पति अनुसन्धान केन्द्र धनगढी मातहतको जाखौर ताल क्षेत्रमा बत्ती जडानका कारण जुनकिरी, पुतली, फट्याङ्ग्रा र किरा मर्न थालेका छन्। वनस्पति अनुसन्धान केन्द्रको अधिकार क्षेत्र भएको तालको सौन्दर्यता बढाउने भनेर उपमहानगरले चार करोड बढी रकम खर्चेर संरचना निर्माण गरेको छ।
तर, कानुनविपरीत अर्को सरकारी निकायको अधिकार क्षेत्रमा प्रवेश गरेर उपमहानगरले काम गर्दा एकातर्फ ठुलो बजेट खर्च भएको छ। यस्तै अर्कोतर्फ त्यो कामबाट जैविक विविधतामा नोक्सानी हुन थालेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा १ सय ४९ दशमलव ५ हेक्टर वन क्षेत्र वनस्पति अनुसन्धान केन्द्र कैलालीको मातहतमा छ।
देवहरिया वनस्पति उद्यान क्षेत्रमै तीन वटा प्राकृतिक ताल पनि रहेका छन्। जाखौर ताल, मुरफुट्टी ताल र मुरफुट्टा तालमध्ये सबैभन्दा ठुलो जाखौर ताल १२ दशमलव ५ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यो तालको सौन्दर्यता बढाउने भनेर धनगढी उपमहानगरपालिकाले २०७६ असार १२ गते ठेक्का सम्झौता गरेको थियो। तालको वरपर सिमेन्टको ब्लक बिछ्याएर हिड्ने बाटो बनाउने र उज्यालोका लागि सोलार बत्ती जडान गर्ने काम गत असोजमा सम्पन्न भएको छ।
अहिले जाखौर ताल क्षेत्रमा २५४ खम्बामा ७६२ सोलार बत्ती जडान गरेको देख्न सकिन्छ। तर जङ्गल तथा ताल क्षेत्रमा पाइने किरा, पुतली र विभिन्न प्रजातिका फट्याङ्ग्राहरू बत्तीको उज्यालोमा झुम्मिएर मर्न थालेको वनस्पति अनुसन्धान केन्द्र कैलालीका प्रमुख गङ्गादत्त भट्टले बताए।
‘जाखौर ताल क्षेत्रमा सात सय बढी बत्ती जडान गरिएको छ। जसले गर्दा यो क्षेत्रमा पाइने पुतलीलगायतका किरा बत्तीमा झुम्मिएर मर्न थालेका छन्,’ उने भने, ‘वनस्पति उद्यानको क्षेत्रमा उपमहानगरपालिकाले संरचना निर्माण गर्दा जैविक विविधतामा ह्रास आउने समस्या हुने भएको छ।’
त्यसबेला धनगढी उपमहानगरले ताल क्षेत्रमा जर्वजस्ती काम गरेको बताइएको छ। तालमा उपमहानगरले चार करोड ४९ लाख ५ हजार ५१६ रुपैयाँ खर्च गरेको छ। अर्काको जग्गामा उपमहानगरले ठुलो रकम खर्च गरेको देखिन्छ। सरकारले २०५६ सालमा राजपत्रमा सूचना निकालेर देवहरिया वनस्पति उद्यान मातहतमा जाखौर तालसहित त्यो क्षेत्रको १४९ दशमलव ५ हेक्टर वन क्षेत्र ल्याइएको थियो। तर धनगढी उपमहानगरपालिकाले अधिकार क्षेत्रको बेवास्ता गर्दै जाखौर ताल क्षेत्रमा डोजर लगाएर खन्ने, भौतिक संरचना बनाउने काम गरेको हो।
जसले गर्दा जे उद्देश्यका लागि वनस्पति उद्यानलाई जग्गा दिइएको हो त्यो पूरा नहुने भन्दै चिन्ता गरिएको छ। ‘वनस्पति उद्यान स्थापना गर्नुको उद्देश्य अध्ययन अनुसन्धान गर्नु, शैक्षिक रुपमा वनस्पति उद्यानबाट फाइदा लिनु, संरक्षण कार्यमा योगदान दिनु र मनोरञ्जन प्रदान गर्ने हो। तर स्थानीय सरकारको हस्तक्षेपका कारण उद्धेश्य प्राप्तिमा समस्या हुने भएको छ,’ वनस्पति अनुसन्धान केन्द्र प्रमुख भट्टले भने।
देवहरिया वनस्पति उद्धानको ११९ हेक्टर क्षेत्रमा रहेको प्राकृतिक वन अतिक्रमणको चपेटामा छ। भने ताल क्षेत्रमा उपमहानगरले हस्तक्षेप गरेको छ। १५ हेक्टर क्षेत्रमा भने बोटानिकल गार्डेन छ। भविष्यमा वन र वनस्पति सम्बन्धि अध्ययन र अनुसन्धानमा प्रयोगमा आउनसक्ने र धनगढीवासीका लागि मर्निङ वाकदेखि मनोरञ्जन र प्राकृतिक सुन्दरता प्रदान गर्ने वनस्पति उद्यानको संरक्षणमा सामुदायिक सहयोग हुनुपर्नेमा त्यो नभएको अनुसन्धान केन्द्र प्रमुख भट्टले गुनासो गरे।
‘जे कामका लागि वनस्पति उद्यान स्थापना भएको हो, त्यहीँ काम गर्न सहयोग हुनुपर्ने हो तर हामीले सहयोग नपाएको अनुभव गरेका छौँ’, उनले भने, ‘ताल क्षेत्रमा सात सय बढी बत्ती जडान गरिएको छ, त्यो बत्ती चाहिएको ठाउँमा जडान गरेको भए सर्वसाधारणलाई पनि फाइदा हुन्थ्यो।’
जाखौर तालमा धनगढी उपमहानगरपालिकाले बत्ती जडान गरेपछि रातिको समयमा हुने अवाञ्छित गतिविध बढेको स्थानीयको गुनासो छ। रक्सी पिउने, लागु पदार्थ सेवन गर्ने, झगडा हुने, प्लास्टिक र रक्सीको बोतलहरू तालमा फाल्ने क्रम बढेको हो। सोही कारणले पनि ताल क्षेत्र प्रदुषित हुँदैछ।